फुली - सरण राईको चौथो कथा सङ्ग्रह
फुली
सरण राईको चौथो कथा सङ्ग्रह
सरण राई
मोबाइल — ९८४२०५५२६२
फुली
सरण राईको चौथो कथा सङ्ग्रह
सरण राई
मोबाइल — ९८४२०५५२६२
प्रकाशक...
कृति ःफुली
विधा ःकथा
कथाकार ःसरण राई
(०२५ ५२०७४२, ९८४२०५५२६२, धरान)
भ्mबष्(ि चबष्।कबचबलछण्२नmबष्।िअयm
आवरण ः सरण राई
भाषा सम्पादनः
प्रकाशक ः
सर्वाधिकार ः © कथाकारमा
संस्करण ःपहिलो, २०७७, ं.. (इश्वी सन २०२१.)
प्रति ः१०००
मुद्रक ः
मूल्य ः २५०।— ?
क्ष्क्द्यल् स्
ँग्ीक्ष् ९ल्यकभ क्तगम०
ऋयििभअतष्यल या ल्भउबभिकभ क्जयचत क्तयचष्भक
द्यथ स् क्बचबल च्बष्
शुभकामना
रोचक लेखन शैली, सरल भाषा र विषयको विविधताले गर्दा साहित्यकार सरण राईको नवीन कथासङ्ग्रह ‘फुली’ निकै सुन्दर र पठनीय बनेको छ ।
‘फुली’ कथासङ्ग्रहमा भएका कथाहरूको बुनोट सुन्दर छ । कथाहरू पढिरहँदा कथामा भएका पात्रहरू र घटना हाम्रै वरिपरिका हुन् कि भन्ने भान हुन्छ ।
स्त्री र पुरुष विशेष गरेर पति र पत्नीको दाम्पत्य जीवनको मनोविज्ञानलाई कथामा कलात्मक ढङ्गले व्याख्या गरिएको छ ।
‘ फुली’ कथा र अन्य कथाहरू, जसमा एउटा विज्ञान कथा पनि समावेश भएको छ, त्यसमा कथाकारले बडो गम्भीरतापूर्वक मानिसको हृदयलाई सूक्ष्म रूपले केलाउनुभएको छ ।
मानिसहरूको जीवन, उनीहरूको आकाङ्क्षा र भोगाइका अन्तव्र्यथालाई कथामा सुव्यवस्थित रूपमा प्रस्तुत गरिएको छ ।
‘फुली’ कथामा सङ्गृहीत कथाहरू अवश्य पनि रुचाउनु हुनेछ भन्ने विश्वास लिएकी छु ।
अन्त्यमा यति सुन्दर कथाहरू सिर्जना गर्नुभएकोमा कथाकार सरण राईलाई हार्दिक धन्यवाद एवम् शुभकामना ।
माया ठकुरी
प्राज्ञ
नेपाल प्रज्ञा–प्रतिष्ठान
शुभकामना
निश्चय नै ; अग्रज स्थापित श्रष्टा श्री सरण राईज्युको कथा संग्रहमाथि आफ्नो भाव पोख्नु मेरो निम्ति साहस नभएर दुस्साहस हुन पुग्छ भन्ने लाग्दैछ मलाई । तथापि परिवेशसँग पाईला मिलाउँदै वहाँप्रति स(सम्मान केही शाब्दिक भावानाभुति पोख्ने जमर्को रहेको छ मेरो ।
जीवन भोगाईका विविधता , समाजमा यत्रतत्र छरिएर रहेका सामाजिक विषय , समयकै बहावमा बहेका समयका अनुभूतिहरू , दृश्य परिदृश्य र अदृश्य रुपमा दृश्यावलोकन हुने अनेकन् पाटोहरू कथाका बीज हुन् । यस कथा संग्रहभित्र यिनै पक्षहरूलाई अन्तर्बोध गरिंदै अन्तर्मनका आवाजहरू प्रतिविम्वित भएका छन् ्र र विशेष रुपमा विविध परिवेशमा एक्लिएका र जीवनको उत्तरार्दमा एक्लोपन भोगाईको मनोविज्ञानलाई कथाहरूमा निक्कै गहन र कलात्मक रुपले उतारिएको पाईन्छ । जुन पक्ष संग्रहको अत्यन्तै मर्मश्पर्शी , हृदयाश्पर्शी कारुणिक भावको पाटो रहेको छ ।
कथाभित्र ; सम्भवत नारीले लगाउने सबैभन्दा सानो गहना हो फुली । तर यस संग्रहको फुली कथाले अनुभूतिहरूको बिराट संगालो समेटेको छ । दृढ ईच्छाशक्त्तिले चमत्कार गर्न सक्छ , सकारात्मक सोंचको एक व्यक्तिले स्वस्थ आदर्श समाज निर्माण गर्न सक्छ भन्ने संदेश रहेको छ्र भ्रममा रमाउँदै असफलतालाई प्रतीकात्मक बिम्बमा दाँज्ने निराश व्यक्त्ति छ । समाज रुपान्तरणको संवाहक बन्न सक्ने धार्मिक , राजनैतिक , सामाजिक चिन्तन छ ्र समाजमा धमिराको रुपमा विधमान निराशावाद , सम्बन्ध बिच्छेदले सन्तानमा निम्त्याउने सङ्कट अत्यन्तै पारदर्शी रुपमा रहेको छ । आजको युगलाई दर्शाउँदै विज्ञान कथाहरू रहेका छन् । सपनाको देशबाट मुस्कान टिपेर विपनामा मुस्कुराउने जीवनबोधी चेष्टा छ । मनोवादको ढाँचामा मृत्युको पूर्वाभासको अत्यन्तै पीडादायी बोध छ ।
यसरी संग्रहका दश कथा अध्यन गर्दा सामाजिक यथार्थता , पारिवारिक पीडाका आरोह अवरोहहरू , मनोविज्ञान , अग्रगामी चिन्तन , स्वैर कल्पना , आजको विज्ञान युग , प्रौढ परिपक्वता र उत्तरार्धका अनुभुतिहरूले मन मष्तिस्क छुन्छ , हृदय तरंगित बनाउँछ । लाग्छ ; यस संग्रहभित्रका कति कथा मसीले होईन अन्तर हृदयभित्र रसाई रहने आँसुले लेखिएका छन् । अक्षर , शब्द , वाक्यले मात्र कथा बुनिएका होइनन् अन्तर मनभित्र हरदम सुसाई रहने सुस्केराले बुनिएका छन् ।
सरलता भित्र सशक्तता बोकेका शाब्दिक गुच्छा ; यस संग्रहभित्रका जीवन्त कथाहरू पाठकका मन मष्तिस्कमा एक विशेष स्थान ओगटेर बस्नेछ भन्ने विस्वास लिएकी छु्र । अग्रज स्थापित श्रष्टा श्री सरण कुमार राईज्युको उर्जा , सक्रियता , निरन्तरतालाई सतत् नमन अभिवादन ्र हामी अनुज पुस्तालाई वहाँको यो तन्मयता प्रेरणा हो ्र आगामी दिनहरूमा पनि वहाँका अरू नविन कृतिहरू पढ्न पाईयोस् भन्ने कामना गर्दै वहाँप्रति हार्दिक शुभकामना १
रीता ताम्राकार
इटहरी र बालग्राम चोक
लक्ष्मी राई लाई
जसले मलाई पूर्णता दिइन् !
जोसँग
सप्तरङ्गी जीवनका १४,६७३ दिन थाहै नपाई काटियो
विछोडपछि नौरङ्गी जीवनका
अन्तरसुस्केरा, अन्तरवेदना, आह–उच्छवास, आर्तनादहरू निर्मित
फुली
तिनकै हो र तिनीलार्ई नै !
तिनको
काजी
नौरङ्गी
मानिस दुःखविहीन हुँदा सप्तरङ्गी रङ्गीन दुनियामा भुलिदो रैछ । सप्तरङ्ग त इन्द्रेनीका रङ्गहरू हुन् । अरू दुई रङ्ग ? नौरङ्गी डाँफे । डाँफेका रङ्गहरू हुन् भनि दिँदा हुन्छ । तर ति के कस्ता हुन्छन ?
सात रङ्गभन्दा अर्को दुई रङ्गहरू हुन्— असह्य शोक जब मानिसको जीवनमा घट्छ रङ्गविहीन अनुभूतिका साथ एउटा सून्य अनुभव हुन्छ । रोइरहेको आँखाले देखिने रङ्ग आठौं हो । नवौ रङ्ग अनेकौं दुःख दर्द कष्ट रिक्तता अभाव पीडा आघात सन्ताप यातना विछोड बियोगका असह्य परिस्थितिमा पनि मानिस बाँच्न चाहन्छ । त्यो जिजीविसाको अद्भुत रहस्यमयी अदृश्य रङ्ग नवौं हो ।
यसरी जीवन नौरङ्गी हुन्छ ।
कथाक्रम
फुली
कोङहाङ
जब घाम डुब्न लाग्छ
अन्तरचक्षु
खराब सोचाइ
खल्लो ममता
सम्बन्ध
भावी साहित्य
सपनाको देश
मायाहरू
वश
फुली
लकरमा राखेको सुनको गहनाहरूमध्ये एउटा सानो फुलीले मेरो सम्पूणर््ा मन र ध्यान खिच्छ ।
त्यो फुली देख्दा हामी दुईको सम्पूणर््ा दाम्पत्य जीवनको सुखद दुःखद सबै दृश्य परिदृश्य आँखाअगाडि झल्झली देखा पर्छ । मानौंँ त्यो फुली हाम्रो जीवनको प्रेम प्रतीक, साक्षी, प्रमाण, प्रत्यक्षसहभागी–प्रत्यक्षदर्शी भएको नाताले हामी दुईले भोगेको जीवनको रामकहानी सुनाइरहेको छ । सब दृश्य परिदृश्यहरू चलचित्रझैँ मेरो आँखा अगाडि देखाइरहेको छ ...
“म मरेपछि मेरा गहनाहरू आपूmसितै राख्नू, दुःख पाउनुभयो भने बेचेर खानू । मेरो नामको मधेसको जग्गा पनि आफ्नै नाममा राख्नू । मेरो मोबाइल सेट कसैलाई नदिनू, आफैसित राख्नू आदि आदि ...” रातभरि रुँदै जीवनको अन्तिम कालखण्डमा अविरल अश्रु–धारा चुहाउँदै तिनले भनेकी थिइन् । तिनकै इच्छा अनुसार तिनका गहनाहरू आफैसित राखेको छु । ती गहनाहरूमध्ये फुलीले नै किन मलाई आकर्षित गरेर मन झस्काउदै रुवाउन थालेको छ ?!
टमक्क मिलेको जिउडाल, अबोध ग्रामीण बाला, लावण्यता र सुन्दरताले प्रदीप्त निर्दाेष श्रृङ्गारविहीन प्राकृतिक आकर्षक हसिलो दीप्तिमय अनुहार र काम ब्यायामले कस्सिएको छरितो कसरती शरीर । अर्कातिर फर्कदा टलक्क टल्किएको नाकको फुलीको इउँ जस्तै हाँस्दा मिलेको टल्किने सेता दन्तलहर । सोचेको, कल्पना गरेको भन्दा सुन्दरी तिनलाई पहिलो चोटि देख्दा नै हृदय झङ्कृत भई म मोहित भएको थिएँ ।
मैले बिहेको लागि केटी माग्ने कुरामा सहमति जनाएँ । प्रक्रिया थालियो तर केटीले नमाने पछि कुरा रोकियो । रात परिसकेकोले त्यस रात लमी र म तिनको छिमेकीको घरमा बास बस्यौँ । रक्सी खाँदै गफ गर्दा र गीत गाउदै राती निकै अबेलासम्म बस्यौँ । केटी नमानेपछि अमिलो मन लिएर मैले पनि धेरै रक्सी खाएछु । “बिहानै उठेर कसैले नदेख्ने गरी जानु पर्छ ।” मैले भनेको थिएँ ।
लमीले पनि “हुन्छ” भनेका थिए । बिहान अबेला मात्र म बिउझेँ । हेर्छु लमी छैन । बाटोतिर हेर्दा तिनी नै हल्लीखल्ली गर्दै छिमेकीसँग कराएर बात मार्दै गाग्रीमा पानी भरेर डोकोमा बोकेर फर्किरहेकी थिइन् । आँखा जुध्यो, मलाई रीस पनि उठ्यो, लाज पनि लाग्यो । सम्झेँ— ‘मसित बिहे गर्न मानिनन् । किन ?’
केही बेरपछि लमी पनि आइपुगे । “कुरो मिल्लाजस्तो छ, मगनी प्रक्रिया अगाडि बढाऔ ?” सोधे । मैले “हुन्छ” भनेँ ।
मगनी प्रक्रिया थालियो । त्यसै बीचमा तिनका पिताले छोरीलाई सोधे— “राजी छौ ?”
“राजी छु ।” तिनले भनिन् ।
त्यतिबेला म खुसी भएर थाहै नपाइ हाँसेछु । बिहेपछि तिनले भन्दा पो हाँसेको कुरा थाहा पाएँ । यसरी तिनी मेरो जीवन सङ्गिनी भइन् । मेरी पत्नी भइसकेपछि मैले तिनलाई सोधेँ— “किन अघिल्लो दिन मानिनौ ?”
“कहिले नदेखेको मानिस, के कस्तो छ ? कसरी मान्नु ? पछि सोचेँ यत्तिको केटो ठिकै छ, अनि मानेँ नि ।” तिनको सिधा जवाफ । निश्छल, पवित्र र सफा मन तिनको । मेरो चित्त बुझ्यो । तिनी मेरो सर्वस्व भइन् ।
बिहेमा बेहुलीलाई दिने सुनको गहनाबारे पारिवारिक छलफल भयो । घरपट्टिकाले र माइतीपट्टिकाले पनि सुनका गहनाहरू, पोते, चुरा, धागो र लुगाहरू बेहुलीलाई दिए । तिनको नाकमा रहेको सानो फुलीबारे माइती र घरपट्टिका कसैले छलफल गरेनन्, चासो राखेनन् ।
बिहे हुनुभन्दा अगाडि कन्या हुँदादेखि नै तिनले लगाइराखेकी फुलीबारे तिनी जीवित हुँदा मैले कुनै चासो राखिनँ र फुलीबारे कहिल्यै कुरा भएन । “कहिलेदेखि फुली लगाईरहेकी छ्यौ ?” भनेर कहिल्यै सोधिनँ । अब त कसलाई सोध्ने र ! कुन उमेर कुन समयदेखि यो फुली तिनले लगाइन् ? फुली र तिनको जीवनको अविच्छिन्न घनिष्ठता कहिले देखि गाँसियो ? थाहा भएन ।
बिहे हुनुभन्दा अगाडि कन्या हुँदादेखि नै तिनले लगाइराखेको फुली नै बिहेमा बेहुली हुँदा पनि तिनले लगाएकी थिइन्् । यसरी फुली बिहे अगाडिदेखि बिहेको दिन पनि र मृत्युपर्यन्त जीवनभर तिनको नाकमा नै रहिरह्यो ।
बिहे पछिका केही वर्षहरू स्वतः रमणीय हुन्छन् नै । मेरो निम्ति आफूलाई पूर्णतया समर्पित एक नारी मसँगै आफ्नो जीवन गाँसेर सुख दुःख भोग्न राजी भई मलाई सबथोक सर्वस्व सम्झी हरपल मसँगै रहने बस्ने जीवन साथी छ भन्ने अनुभूतिबोधले म हर्षित गर्वित थिएँ । प्रेममा समर्पण थाहा नभएको मैले पहिलो चोटि प्रेम के हो ? कस्तो हुन्छ ? थाहा पाएको थिएँ । विपरित लिङ्गीबाट पाइने प्रेम मायामोह, असीम मानसिक र शारीरिक सुख तिनीबाट पाएर म प्रसन्न थिएँ । तिनी पनि प्रसन्न थिइन् । अपूर्व पूर्ण प्रेममा पूर्ण मिलनले हामी दुई एकआपसमा विलय भएका थियौँ । वर्षहरू बितेको पत्तै भएन । रमणीय दाम्पत्य जीवन ! मानिस यसरी सुखका दिनहरूमा सप्तरङ्गी रङ्गले रङ्गिएको प्रेमिल संसारमा भुलिदो रहेछ र आपूmलाई सर्वाधिक सुखी महूुस गर्दाेरहेछ ।
म आमाबाबुको एक्लो छोरो भएकोले सानैदेखि पुल्पुलाएर पालिएको र हुर्किएको स्वाभिमानी सोझो युवक थिएँ । विवाहपछि पनि तिनले मलाई आफ्नो सम्पूर्ण मायाप्रेम र साथ दिएर ४१ वर्ष अर्थात आफ्नो मृत्युपर्यन्त पुल्पुलाएर नै मायाले लपक्कै भिजाएरै सुखमा नै राखिन् । आनन्ददायक र प्रभावोत्पादक अपार यौवन सुख र जीवन सुख दिइन् । एउटी प्रेमिका र पत्नीले दिने सबै सुख, प्रेम, माया, मोह र साथ दिने तिनीजस्ती प्रेमिका–पत्नी पाएर मेरो जीवन सार्थक भएको थियो ।
तीनजना छोराहरू वर्षेनीजस्तै जन्मिए । तिनीहरूको जन्मले परिवारमा हषर््ाको वर्षा भयो । हाम्रो पारिवारिक जीवन सफल एवं पूर्ण भयो । तापनि जहिले पनि पैसाको अभावले गरिबी जीवन । शिक्षकको थोरै तलव, घरखर्च चलाउन सरसापटी नलिई महिना काट्न धौ धौ । सम्पत्तिको अभाव भएपनि मायालु पत्नीको अगाध प्रेम, विश्वास, मनोहारिणी मुस्कुराहट र साथ पाएर म दाम्पत्य जीवनमा आइपरेका अनेकौं समस्या झेल्न सक्ने भएको थिएँ । तिनी र म ! हामी एकआपसमा घुलन विलयन भएर एकाकार भएका थियौँ । प्रेमले निथ्रुक्क भिजेका थियौँ, र भएका थियौँ अविरल जीवन प्रवाहमा बगिरहेको एउटा समय नदीको एउटै थोपा–थोप्लो.. ।
एउटी साली थिइन् हँसिली, फस्र्याइली र हक्की । भर्खर हाम्रो बिहे भएको बेला तिनले भनेकी थिइन्, “तीनजना नानीहरू बर्षेनी जन्माएँ र अहिले परिवार नियोजन गरेकी छु । अब त ढुक्क !” हामी तीनैजना मज्जाले हाँसेका थियौँ ।
साली गइसकेपछि तिनले भनिन्— “म पनि त्यसै गर्छु बहिनीले जस्तै ।”
“हुन्छ नि ।” मैले पनि सहमति जनाएको थिएँ ।
नभन्दै दुईजना छोराहरू १४महिनाको फरकमा जन्मिए । अर्काे पेटमा छ, महिना पुगेर जन्मने बेला हुँदै छ । त्यतिबेला धरानको घरमा हामी पति, पत्नी र साना छोराहरू बस्थ्यौँ । “अब तेस्रो नानी जन्मने बेला हुँदैछ, के गर्ने ?” तिनको प्रश्न ।
“ती साना छोराहरूलाई मधेसमा आमाबुबाकहाँ पु¥याएर बिराटनगर अस्पताल प्रसूतिको लागि जाने ।” हाम्रो सल्लाह बमोजिम बेलबारीसम्म बसमा गयौँ । त्यतिबेला मधेस जाने यातायातको केही साधन थिएन, हिड्नु बाहेक अरु उपाय थिएन । बेलबारीमा उत्रेर साना नानीहरू बोकेर झन्डै चार घन्टा हिडेर बोराबान पुग्यौँ । त्यो समय नै यस्तो थियो कि सबै जना पैदलै हिँडिरहेका हुन्थे । बाटामा मानिसहरू हेर्थे— २ वर्ष ८ महिनाको र १ वर्ष ६ महिनाको साना नानीहरू बोकेर ँिहडिरहेका हामी दुई, तिनको घ्याम्पाजत्रो भुडी । भोलिपल्ट बिहानै तीन घण्टा हिँडेर बिराटनगर पुग्यौँ । जस्तै संकट समस्या परे पनि हरेश नखाने साहसी तिनी, सानो नानीहरू मधेस छोडेर अर्को नानी पाउन हिडेरै अस्पताल पुगिन् । बिराटनगर अस्पतालमा कान्छो छोराको जन्मले हाम्रो खुसी पराकाष्ठामा पुगेको थियो । त्यो समय नै हाम्रो सर्वाधिक सुख, सन्तोष, सुख र आनन्दको समयावधि थियो ।
पाँच वर्षमुनिका नानीहरू हुर्काउन झिसमिसे बिहानैदेखि राती अबेलासम्म खाना बनाउनु, नानीहरूलाई खुवाउनु, जुठोभाडा धुनु, पानी भर्नु, लुगा धुनु आदि अनेकौं कामहरू गर्दा पनि थकित नभई म कामबाट फर्कदा मोहक मृदु मुस्कानसाथ मलाई पर्खिरहेकी हुन्थिन् । तिनलाई भेट्नासाथ म यत्ति धेरै खुसी हुन्थे कि सबै अभाव, गरिबी र दुःख बिर्सन्थेँ । तिनी साथ भएपछि मसित सबथोक हुन्थ्यो । सांसारिक जीवनमा ‘प्रेम छ र प्रेम पाए’ त्यो भन्दा सर्वोत्कृष्ट सुन्दर अरु के होला र, चाहिएला ?! म भएपछि तिनलाई पनि अरु केही चाहिदैनथ्यो । तिनी सदैव घरको अनेकौं कामको बोझले थिचिएकी हुन्थिन् । म भने मिटिङ्ग छ भनेर उम्किएर तासको दुव्र्यसनमा भुलिन्थँे ।
तिनको ममाथि यत्ति धेरै विश्वास थियो कि म तलब थापेर जति दिन्थे, राख्थिन् र कष्टसाथ घरखर्च चलाउथिन् । म तास खेल्न केही रकम लुकाएर राख्थँे तर तिनले कहिल्यै शंका गरिनन् ।
त्यतिबेला भर्खर टेलिफोन आएको थियो । टोलमा हाम्रो घरमा मात्र टेलिफोन जडान गरिएको हुँनाले टेलिफोनको चर्को घन्टी आउनासाथ घरका र छिमेकका सबैका कान ठाडा हुन्थे ।
“कस्को फोन ?” तिनी सोध्थिन् ।
“साथीको” भनेर म ढाट्थे । तर फेरि पटक पटक फोन बारम्बार आएको आएकै भएपछि सत्य कुरा बताएँ । तास खेल्दा लिएको सापटी ऋण रकम निकै धेरै भएको थियो ऋण दिने मान्छेको ताकेता टेलिफोनमा आइरहेको हुन्थ्यो ।
“तास खेल्दा लिएको सापटी ऋणको ताकेता फोनमा गरिरहन्छ ।”
“कति छ ?”
रकम मैले बताएँ ।
“अब तास खेल्न छाड्नुहुन्छ भने मेरो गहना धितो राखेर त्यो ऋण तिरीदिन्छु ।” तिनले भनिन् ।
ऋण दिने मान्छेको रातदिनको ताकेता र कचकच, बेइज्जत नै गर्ला, होलाजस्तो भइसकेको थियो । मैले “छाड्छु” भनेँ । तिनले गहना धितो राखेर ऋण तिरिदिइन् । तासे व्यसनबाट म मुक्त भएँ । त्यसपछि तासे समय अध्ययनप्रति केन्द्रित भयो ।
तिनले रिसाएर झर्किफर्कि गरेकी भए सायद म तास खेल्न छाड्दिनँ थिएँ होला । तर तिनको मायालु व्यवहार र मेरो समस्याबाट झन् धेरै पिरोलिएर ऋण तिरिदिइसकेपछि फेरि मैले तास खेलिरहन सकिनँ ।
तास छोडेपछि ममाथि अर्को नराम्रो रक्सी खाने लत बस्यो । दिनभर काममा व्यस्त तर साँझ परेपछि कुनै न कुनै साथीसँग रक्सी खाइएकै हुन्थ्यो । पाहुनाहरू आइरहने र पाहुनालाई रक्सी दिने चलनले गर्दा घरमा पनि तिनी रक्सी पार्थिन् । पाहुनाहरूलाई रक्सी खुवाइएन भने पाहुनालाई पनि र आफूलाई पनि खल्लो लाग्थ्यो । बाहिर रक्सी मातुन्जेल खाएर आए पनि घरमा आइसकेपछि अलिकति रक्सी नखाइ हुँदैनथ्यो । तन्नेरी भएकोले रक्सी पचिरहेको थियो । तर एक पटक पाहुनाहरूसँग अबेला रातीसम्म रक्सी र मासु खाएर सुतेँ ।
राती निन्द्रामै जोडले कराएर छारे रोग लाग्दाझैँ आँखा पल्टाएर बेहोस भएँछु । तिनी पनि तरुनी नै भएकाले बलियी थिइन् । उचाल्दै झक्झकाउदै बेहोस मलाई हात खुट्टा जिउ मालिस गरिन् रे । घरमा साना बालक छोराहरू मात्र थिए । मद्दत गर्ने ठूलो मानिस कोही थिएन । आधा घन्टापछि मात्र मलाई होस आयो रे । बिहान तिनले यी कुराहरू भनिन् । मलाई रातीको त्यो घटना केही थाहा थिएन । तिनको मद्दत नपाएको भए म निद्रामै गइसकेको हुन्थे होला ।
बिहानै डाक्टरकहाँ गयौँ । डाक्टरले सिलगढीको डाक्टरकहाँ जान रेफर गरिदिए । सिटिस्क्यानको रिपोर्ट हेरेर डाक्टरले दिमागमा सिस्ट भएको कुरा बताए । उच्च रक्तचापको दबाइ तुरुन्त सुरु गरे । एम.आर.आई. गरिसकेपछि त्यसको रिपोर्ट हेरेर भने— “एक महिना औषधि खाने, औषधिले निको भएन भनै अपरेसन गर्नुपर्छ ।”
शिक्षकको थोरै तलब, जहिले पैसाको अभाव । म मधेसमा बसिरहनु भएको आमा बुबासँग मद्दत माग्न त्यता गएँ । आमालाई सबै बताएँ । आमाले असमर्थता जनाउनु भएपछि निराश हतास भएर त्यसै दिन धरान फकिएँ ।
“नआत्तिनु, काजी । म मेरा गहनाहरू बेचेर भए पनि तपाईँलाई निको पार्छु । तपाईँ भए मलाई अरु केही चाहिदैन ।” तिनले भनिन् । तिनको मायालु ढाडस र त्यागले म द्रवित भएँ ।
भोलिपल्ट बुबा आउनु भयो । मेरो ओइलिसकेको मन आशावती भयो– उपचार खर्च दिनु हुन्छ कि !
“जन्मदा नै मर्ने कबोल गरेर जन्मिएका हुन्छौँ, मनमा पीर नगर् । नआत्ति ! सबैले मर्नै पर्छ ।” बुबाले भन्नु भयो । मेरो आशामा तुषारापात भयो । आमाबुबाले मलाई माया मारिसकेका रहेछन् । एक्लो छोरा अब बाँच्तैन भन्ने सोचेका रहेछन् । त्यति भनेर बुबा फर्किनु भयो ।
तिनले नै गहनाहरू धितो राखेर खर्चको व्यवस्था मिलाइन् । त्यति बेला मेरो बोली समेत लठेब्रो भएको थियो । मृत्युको भय र जीवनको अवसानबोधले खिन्न मन, बाँच्न पाए हुन्थ्यो भन्ने सोचिरहेको मनले सहारा खोजिरहेको अवस्था । मृत्युबोध कति कष्टकर हुन्छ ? त्यतिबेला मैले थाहा पाएको थिएँ । औषधिले नै निको भएँ, अपरेसन गर्नु परेन । पत्नी नै भए पनि मलाई तिनले नै त्यतिबेला बचाएकी हुँनाले म झन् तिनको नजिक भएर तिनीसँग अन्तरघुलित एकाकार एक प्राण हुन पुगेँ । मेरो सारा जीवन र प्राण तिनकै लागि हो र हामी एकअर्काका लागि जन्मेका र एकअर्काका सर्वस्व हौँ भन्ने लाग्न थाल्यो । एकसाथ भोगेको सुखदुःखले हामी दुईलाई पूर्णतया एक एउटा ‘कण वा बिन्द’ु बनाइ दियो कि एक अर्का बिनाको एक्लो अस्तित्व कल्पनै गर्न नसक्ने भयौँ ।
जीवनमा यस्ता किसिमका घटनाहरू बिरामी, दुर्घटना, झैझगडा, मुद्दा मामिला, जन्म, न्वारान, छेवर, पास्नी, विवाह, मृत्यु, मृत्यु संस्कार आदि यस्ता कति घटना परिघटना उतार चढाव साना ठूला सुख दुःख एक साथ भोग्यौँ, बेहो¥यँौ ।
मेरो सुखमा म भन्दा दोब्बर खुशी र मेरो दुःखमा म भन्दा दोब्बर दुःखी हुन्थिन् तिनी । तर एक पटक तिनी दुई तीन दिन बस्ने हिसाबले देउरानीलाई पनि साथमा लगेर माइत गएकी थिइन् । हाम्रो विवाहपछि ससुराले कान्छी बिहे गरेका थिए । बेलुकी के कुरामा विवाद भयो ? भनाभन भयो र पिताको हातबाट बिहे भइसकेकी तिनले कुटाइ खाएछिन् । भोलि नै फर्केर आइन् र राती मलाई रुँदै सुनाइन् । रिस, क्षोभ र वेदनाले म यति द्रवित भएँ । सोचेँ— ससुराले बिहे भएर मेरी भइसकेकी छोरीलाई एक दिन माइत आएको बेला कु्ट्न हुँदैनथ्यो ! त्यो रात ढाडस दिँदै मनभित्र उठेको आक्रोशलाई प्रेममायामा परिणत गरेर तिनलाई लपक्कै भिजाएर त्यो घटना बिर्सन लगाएँ । यो घटना पछि माइत जाने क्रम पनि कम भयो । हामी झन् नजिक भएर नछुट्टिने गरी एकअर्कामा पूर्ण समर्पित हुन थाल्यौँ ।
यस्ता क्षणहरू कति आए, गए जुन सम्झनाको तरेलीमा सञ्चित भएर रहेका छन् । सम्झिइनका लागि उपयुक्त अवसर पर्खेर बसेका छन् । यी सबैको साक्षी सदैव तिनको नाकमा रहेको त्यो फुली थियो र ...फुली देख्दा अहिले विकल एक्लो म ती सब सम्झिरहेको छु ।
कुनै बेला आधा रातमा वा रात विरात तिनको सम्झना आएर मुटु चरक्क चिरिन्छ, उठेर बस्छु र एकोहोरिन्छु तर एकल जीवन ... “काजी,के भयो ?” सोध्ने तिनी कहाँ छिन् र !
बिद्यार्थी कालमा काठमाडौंमा पढ्दा एकजना विवाहित साथीले उनको पत्नीको लागि हिराको फुली किन्न मलाई पसलमा साथी लगेका थिए । त्यतिबेला ४०० रूपियामा उनले हिराको फुली किनेका थिए । त्यतिबेला होटलहरूले महिनावारी खाना १०० रूपियामा खुवाउथे । त्यो पसल सम्झदा मैले तिनलाई भनेको थिएँ— “म तिमीलाई हिराको फुली किनी दिन्छु ।”
“हुन्छ नि !” तिनले प्रसन्न भएर भनेकी थिइन् ।
मैले सोचेको थिएँ— पहिला साथीले हिराको फुली किनेको पसल अहिले पनि होला । त्यतिबेला ४००पर्ने हिराको फुली अहिले बढि परे ४०००रूपिया पर्ला । पैसाको जोहो गरेर हामी पति पत्नी त्यो पसल भएको ठाउँ पुग्यौँ । के को त्यो पसल हुनु नि ! त्यो पसल थिएन । अन्त हिराको फुली पाइने पसल खोज्यौँ, भेटिएन । हिराको फुली किन्ने कुरा सधैंको लागि सेलायो ।
हिराको फुलीले तिनले लगाइराखेको फुली विस्थापित गर्ने कुरा हरायो । सधंै लगाइरहेकी फुली नै मृत्युपर्यन्त लगाइरहिन् ।
संकट जब आउँछ, हुरी भएरै आउँदो रहेछ । छोराहरूको स्कूल फिस, ड्रेस, औषधि, टेलिफोन महसुल, बिजुली, पानी आदि अनेकौ खर्च । धानीसक्नु थिएन । त्यसमाथि परिवारको कोही बिरामी भए सुन धितो राखेर उपचार गर्नुपर्ने बाध्यता । सिक्री, मङ्गलसूत्र, अांंैठी चुरा आदि फुली बाहेक सबै सुनका गहनाहरू धितो राखि सकेका थियौँ । उकास्न नसकेर पच भयो । बेच्न माया लागेर धितो राखेका थियौँ । ‘पैसा भएपछि उकासौंला’ भन्दा भन्दै सावा ब्याज दोब्बर तेब्बर भएर उकास्नै सकिएन ।
बिचरी तिनको नाक कान बुच्चै । गरिब शिक्षकको पत्नी ! बिहाका निम्तोहरू आउँथे, जान मान्दिनथिन् । धेरै विवाहमा नगएपछि सोचेँ— ‘किन जान मान्दिनन् ।’ बिहेमा आईमाईहरू सुनले पहेलै भएर आउँथे । साथीसङ्गीको अगाडि लाजमर्दाे भइएला भनेर बिहेमा जान मान्दिनथिन् । लाहुरे भाइ छुट्टिमा आउँदा गहना किन्दिन्थे । अर्को पटक आउँदा दिदीको नाक कान बुच्चै ।
सधैंभरि पैसाको अभाव, गहना छैन । रुखोसुखो जिन्दगी भएपनि तिनले मसित ‘गहना किन्दिएनौ, भएको गहना सिद्धियो अनि कहिल्यै पैसा कमाउन सकेनौ ।’ भनेर गुनासो गरिनन् । बिहानदेखि राती अबेलासम्म घर खर्च चलाउन अनेकौं दुःख गरिन् । साहूको ऊन ल्याएर ज्यालामा स्वेटर बुनिन् । जङ्गलबाट दाउरा बोकेर ल्याई दाउराको खर्च जोगाइन् । कुखुरा पालन, भैंसीपालन, बिडी फैक्टरी, गार्मेन्ट, ब्याग फेक्टरी के चाहिँ गरिनन् ? कडा परिश्रम गरिन्, परिवारका लागि धेरै त्याग गरीन् तर समयले साथ दिएन । तर पनि हामीले कहिल्यै हिम्मत हारेनौँ । हामी दुवैजना हुँदा स्वास्थ रहुन्जेल कहिल्यै दुःखी भएनौँ । तिनी भए मेरो रमाइलो संसार हुन्थ्यो, म भए तिनको रमणीय दुनियाँ ।
हामी बीच पैसाको अभाव भए पनि मायाप्रेम, विश्वास र साथको अभाव थिएन । हरेक आर्थिक समस्याहरू हाँसीहाँसी झेलिरहेका थियौँ । आमाबुबा, म र पत्नी, छोराहरू, बुहारीहरू, पछि नातिनातिनीहरू हाम्रो सुखी परिवार ! तिनी हुँदाका मेरा सुखद दिनहरू... ।
मभन्दा अगाडिदेखि नै र म तिनीसँग हुँदा पनि र नहुँदा पनि फुली सदैव तिनको नाकमा रहेको थियो । तिनले एक्लै र हामी दुईले सँगसँगै भोगेका सुखदुःखका साक्षी प्रत्यक्षदर्शी भएर त्यो सानो फुली मेरो अगाडि देखा पर्छ र मलाई विगतको सम्झनामा उडाएर लैजान्छ, पु¥याउँछ ।
२०१५ सालको आम निर्वाचनमा पराजित भएपनि राजनीतिमा पिताज्यू सक्रिय नै हुनुहुन्थ्यो । तर २०१७ सालमा राजाले संसद विघटन गरेर बहुदलीय व्यवस्थाको अन्त भएको घोषणासँगै दलहरू प्रतिबन्धित भए ।
त्यसपछि भने पहाड छोडेर पिताज्यू पनि मधेस झर्नु भयो । नयाँ खुलेको झोडामा झोडा आवाद गर्न थाल्नु भयो । सौभाग्यवश आवाद गरेको झोडा जग्गाको धनिपुर्जा पिता र मेरो नाममा दर्ता भयो । हामी दस बिघा जग्गाको मालिक भयौँ ।
त्यो समयमा राजमार्ग बनेको थिएन । बर्खामा जताततै हिलो, पानी, कच्ची बाटो हिड्दा हातमा चप्पल जुत्ता बोकेर खाली खुट्टा हिड्नु पथ्र्यो । बनिया र हुनेखानेहरू घोडा चढेर हिड्थे । देहातमा घोडा एक मात्र यातायातको साधन थियो । पिताले पनि घोडा किन्नु भएको थियो । पूर्वपश्चिम राजमार्ग, सडक, बाटोघाटो बनियो । साइकल आयो । साइकलले घोडालाई विस्थापित ग¥यो । घोडा हरायो ।
पिताज्यूले पनि साइकल चढ्न थाल्नु भयो । जीवनभर साइकल चढ्दाचढ्दा ७६ वर्षको उमेरमा मोटर साइकल चढ्ने रहर गर्नु भयो । मोटर साइकल किन्नु भयो र सो सिक्ने क्रममा नै मोटरसाइकल दुर्घटनामा उहाँको देहान्त भयो ।
पिताज्यूको देहान्तपछि मधेसको खेती हेरेर आमा एक्लै बस्न थाल्नु भयो । धरानमा हामीसँगै बसौँ भन्दा मानिरहनु भएको थिएन । छोराहरूले एस.एल.सि. उत्तिर्ण गरे । हाम्रो खुसीको सीमा रहेन । माइला र कान्छा छोरा आइ.ए.मा नै अड्किए । पढाउनेको छोराहरूले पढ्न नै छाडे ।
पढाइ छोड्नको कारण लागू पदार्थ रहेछ । लागू पदार्थको कुलतमा फसेको हामीले थाहा पाउँदा ढिलो भइसकेको थियो । आमाले भन्नु भयो— “एउटा अन्डा बिग्रियो, फालिदेऊ ।” बहिनीहरूले छिःछिःदुरदुर गरे । आफन्तहरूले नाकमुख खुम्चाए, खिशीट्युरी गरे । “नआत्तिनु माइजू, एक दिन सप्रिने छन् ।” भन्ने भान्जे ज्वाइँको भनाइले भने तिनले प्रेरणा प्राप्त भएको कुरा जीवनभर सम्झिरहिन् ।
लागू पदार्थको दुव्र्यसनमा परिवारको एक जना मात्र फस्यो भने परिवारको अवस्था कति दयनीय करुण हुन्छ ? भुक्त भोगी भइयो । धरको सामान हराउँछ, गोजीको पैसा हराउँछ । घरमा पाहुनाहरू आए भने थरथरी, कतिखेर पाहुनाको सामान हराउने हो ? र, लाजमर्दो भइएला । घरभित्र त अशान्ति फैलन्छ नै मनभित्र पनि अशान्ति, पीडा, क्षोभ र निराशा व्यप्त हुन्छ कि सम्झन बाध्य भइन्छ— ‘सपना सबै उडायो हुरीले ।’
जति नै बिगे्र पनि र जेसुकै भए पनि मुटुभन्दा प्यारा छोराहरू... उनीहरूको उपद्रो बदमासी सहनै प¥यो, खप्नै प¥यो । आमाको विश्वास र मन । ऋण सापटी खोजेर सुधार केन्द्र लग्यौँ । हिम्मती तिनी, तिनले छोराहरूलाई सुधार्न के चाहिँ गरिनन् ? तिनको परिश्रम, विश्वास, कर्मठता र लगनले बिग्रेका छोराहरू सुध्रिए ।
ती बिग्रेका छोराहरूले नै तिनलाई तिनको अन्तिम कालखण्डमा स्याहारे, सेवा शुश्रुषा गरे, धन्य तिनी !
तिनको लाश संस्कार्नु भन्दा अगाडि लाश रुङिरहेका ती दुई भाइ छोराहरूलाई मैले भनेको थिएँ— “बिग्रेका तिमीहरूलाई सुधारेर नै तिमीहरूका आमा मरिन् ।”
जिउँदाले झैँ लासले सुन्ने कुरा भएन । तर त्यतिबेलासम्म तिनको लाशको नाकमा नै फुली रहेको थियो र मैले भनेको त्यो कुरा फुली देख्दा सम्झना भएर आउछ ।
जेठो छोरो राम्ररी नै पढिरहेको थियो । माइलो र कान्छो छोराहरू बिग्रेर सप्रिए पछि पनि हाम्रो आर्थिक अवस्था सुध्रेन, नाजुक भयो । ऋणमा चुर्लुम्म डुबेका थियौँ । पिताको देहान्त पछि पनि आमा एक्लै मधेसको खेती हेरेर बसिरहनु भएको थियो ।
ऋणबाट उक्सन किस्ता ऋणैमा टेक्ट्रर किनेर म, पत्नी र दुई जना छोराहरू मधेसमा खेती गर्न गएका थियौँ । टेक्ट्ररले आफ्नो दस बिघा जग्गामा खेती गरेर ऋण तिर्न सकिएला कि भन्ने आशा थियो ।
“तिमीहरू खेती गरेर मधेस बस्छौभने म घर छाेंडेर हिड्छु, घरै बस्तिनँ ।” आमाले भन्नु भयो साथै घर छोडेर माइतीतिर जानु भयो । पत्नी र मैले आमाको चित्त दुखाएर खेती नगर्ने र मधेस पनि नबस्ने भनेर सल्लाह ग¥यौँ । नयाँ टेक्ट्ररले हामीलाई केही काम दिएन ।
तिनी धरान पर्सिपल्ट नै फर्किइन् । म बेलबारीसम्म पु¥याउन गएँ, तिनले “चिया खाएर छुट्टियौँ ।” भनिन् ।
मैले भनेँ “मसित पैसा छैन ।”
“मसित छ ।” भनिन् र चिया खाएर तिनी धरान गइन् । म बोराबान फर्किएँ विछोडकोे नमीठो गाँठो मनमा लिएर । त्यो कुरा अझै झलझली सम्झन्छु । त्यतिबेला छुट्टिए जस्तो मृत्युमा कहाँ छुट्टिन पाइदो रहेछ ! केही दिनपछिको त्यसपालीको मेरो जन्मदिन तिनी साथमा नहुँदा मलाई अति फिका अनुभव भएको थियो । अब त मेरा सबै दिनहरू तिनको अभावमा फिका फिका नै हुन गएका छन् ।
पिता जीवित हुँदा नै ७ बिघामा उखु खेती गर्ने भनेर ऋण स्वीकृत गराएका थियौँ । पछि ४ बिघामा मात्र खेती लगाएको भनेर पूरा स्वीकृत ऋण रकम पनि लिन पाइएन । उखु खेतीमा पनि सफल हुन सकिएन । सम्पत्ति भएर पनि त्यो सम्पत्ति आफ्नो चाहना मुताविक कहिल्यै प्रयोग गर्न पाइएन ।
दाम्पत्य जीवन सधैै एकनासको कहाँ हुन्छ र ? सुख दुःखले लपेटिएको हुन्छ । प्रेममाया पनि डाह, घृणा, इष्र्या र अवहेलनाभित्र अवस्थित हुन्छ । अलिकति तल माथि प¥यो कि प्रेम घृणामा रूपान्तरित हुन सक्छ । हामी दुईका दाम्पत्य प्रेममा पनि त्यस्ता कैयौ उतार चढाव आयो गयो । कैयौ घटना परिघटनाहरूले प्रेमको जाँच लिए पनि तिनको मृत्युपर्यन्त हामी बीचको मायापिरती अविचल गाढा रह्यो ।
सबैको दाम्पत्य जीवनमा घटने अनेकौ आरोह अवरोह हाम्रो जीवनमा पनि नहुने कुरा थिएन । प्रेममा आँखी डाही पनि थियो भन्ने कुरा एउटा सानो परिघटनाले पुष्टि ग¥यो । सुन्दरी भएकैले तिनलाई सबैले मन पराउथे । कतै मलाई धोका त दिन्नन् ? शङ्काको उद्वेगमा एक पटक मैले कुटपिट गरेँ, कत्तीले काट्न खोजेँ । चुपचाप लागेर हेरिरहिन्, केही जवाफ फर्काइनन् । कत्ती फालेर घर छोेडी हिडेँ । दुई दिनपछि फर्कदा तिनको ओठ सुनिएको थियो । तर मेरा लागि भनेर केराको विशुद्ध रक्सी पारेर राखेकी थिइन् । पहिला पनि असोजको फूल, अमला, किम्बुको स्वादिलो रक्सी पारेर खुवाइसकेकी थिइन् । केराको रक्सी खान दिइन्, लज्जाले मेरो शिर झुक्यो । मैले कुटपिट गर्नुको भित्री कारण आँखीडाही थियो । कत्तीले काट्न खोजे जस्तो गरेको तिनलाई डर देखाएर तर्साएर तह लगाउनु थियो । अनाहक कुटपिट गरेकोमा म लज्जित थिएँ । माफ माग्नै परेन । माफ दिइन् र हाम्रो दाम्पत्य प्रेम झन् प्रगाढ भएर आयो । हामी बीचको अदृश्य भित्री प्रेम अविरल तडकारो प्रज्ज्वलित गाढा भएर सतहमा पनि देखिने भयो । एउटा रेडियो कार्यक्रममा ‘कुटपिट गर्ने पतिलाई पत्नीहरूले बढि माया गर्छन् ।’ भन्ने सुनेको कुरा हो कि जस्तै लाग्यो । त्यसपछि कहिल्यै त्यस्तो कुटपिटको घटना दोहोरिएन । तिनले त्यो घटनाबारे त्यसपछि कहिल्यै कुरा गरिनन् । प्रसङ्ग नआए पछि वास्तवमा त्यो बेला म आपूm नरिसाएको तर नाटक मात्र गरेको भनेर मैले पुष्टि गर्ने मौका कहिल्यै पाइनँ । कैयौ कुराहरू मैले भन्नु थियो तर भनिनँ । म कसरी अत्यन्त विचलित भएको बेला मन बाँध्छु भन्ने मेरो आफ्नो तरिका तिनलाई नसिकाएकोमा अहिलेसम्म पछुतो लाग्छ । अब त भन्न सिकाउन कहाँ पाउनु र !
सबैको दाम्पत्य जीवनमा घटने यस्ता कुराहरू हाम्रो जीवनमा पनि नहुने कुरा थिएन । एक अर्कामाथिको विश्वास र दरिलो माया मोहले सबै पचाइयो जसको साक्षी फुली भएको छ ।
धरानमा आम्दानी हुने अनेकौ मसिना कामहरू गरेर घर खर्च चलाउन तिनले निकै परिश्रम गरिन् । घर भान्सा, चुला चौका, कुन तरकारी पकाउने ? कसरी परिवारमा सुख सन्तोष कायम राख्ने ? आदि समस्यामा नै आम गृहिणीहरूको जस्तै तिनको जिन्दगी बित्यो ! मधुुमेह रोगले चाप्दै लगेर तिनको मृगौला बिग्रेर डायलाइसिस गर्दागर्दै तिनको प्राणान्त भयो । मिहिनती तिनी खेती गर्न पाएको भए खेतीमा हुने व्यायामले गर्दा मधुमेहले त्यति छिट्टै च्याप्न सक्तैनथ्यो कि ! छिमेकी मेरो दौतरी कान्छा कान्छी खेतीमा अझै बाँचिरहेको देख्दा कतै तिनी पनि बाँचिरहेकी हुन्थिन् कि— कल्पिन्छु । तर अब कल्पिनुको कुनै तुक छैन ।
“तिमीलाई ताजमहल घुमाउन लैजान्छु ।” नजिकको ताजमहलसम्म चाहिँ लैजान सक्छु भन्ने आँटले मैले पत्नीलाई भनेको थिएँ ।
“म जन्मेको हाम्रो पुर्खौली गाउँ लैजान्छु ।” भनेको थिएँ, तर समय कहिल्यै अनुकुल भएन ।
पत्नीलाई मधुमेह भएको पनि धेरै वषर््ा भएसकेको थियो । मधुमेहले आफ्नो शक्ति देखाउन थालेको हुन्छ, युरिनरि इन्फेक्सन निको भएर फेरि बल्झिरहने, ज्वरो आउने, उल्टि आउने र कमजोरी हुने अनेक लक्षणहरू । क्रिटेनाइन बढ्न थालेको थियो ।
समयमा दिसा पिसाब नहुने, खाना नरुच्ने र अनेक शारीरिक समस्याहरू देखा परेपछि स्थानीय अस्पताल गयौँ । हिडेर नै म र तिनी गएका थियौँ । अस्पताल भर्ती भएर दुई दिन बसे पछि उठ्नै नसक्ने बेहोसजस्तो तिनको अवस्था भयो । बेहोसीको जस्तो अवस्थामा नै काठमाडौं लग्यौँ ।
प्राइभेट अस्पतालको पहिलो प्रतिक्रिया थियो— “कस्तो अस्पताल हो ? दिसापिसाब त गराउन सक्थ्यो ।”
तिनको भुडी फुलेर डमडम्ती भएको थियो, हातगोडा पनि सुनिएका थिए । खाना खान छाडेकी थिइन् र बेहोसजस्तै थिइन् । अस्पतालले डुस दिएर दिशापिसाब गरायो । “कस्तो भयो ?” भनेर दिदीले सोध्दा “हाइसन्चो भो ।” तिनले भनिन् ।
दुई हप्ता अस्पताल बसे पछि डिस्चार्ज भयो । पुरै निको नभइन्जेल सालोको घरमा बस्ने भयौँ । बहिनी र भाउजू भेट्न आएका थिए । दिउँसो शनिबार ११ बजेतिर महाभूकम्प आउन थाल्यो । नानीलाई कोक्रोमा हल्लाएझै दोस्रो तलामा बसेको हामीलाई हल्लाको हल्लाकै छ । उठेर भाग्न सकिने अवस्था थिएन । अहिले रोकिएला, थामिएला, अहिले रोकिएला भन्दै एकआपसमा हात समातासमात गरेर बसिरह्यौँ । बल्ल बल्ल रोकियो । सालीहरू आएर तिनलाई झ्याइकुटी पार्दै भुइँमा झारे । खुला आकाशमुनि चउरमा टोलभरीका मानिसहरू भेला भएका थिए ।
सुन्यौँ— धरहरा भत्कियो । साततले भवन भत्किएर ४० जना मरे । सिन्धुपलान्चोक र काठमाडांैमा सबैभन्दा बढी मानिस मरे । देशभरी नै महाभूकम्प आएको थियो, त्यो महाभूकम्प काठमाडौमा रहेर हामीले पनि भोग्यौँ ।
अब हाम्रो दिनचर्यामा नियमित रूपमा अस्पताल धाउने काम थपियो । सुगर, क्रिटेनाइन, पोटासियम, सोडियम, फोस्फरस आदि अनेकौं रक्त परीक्षण गरिरहनु र डाक्टरलाई देखाउनु र डाक्टरलाई देखाएपछि दबाइ थप हुदै जानु । दबाइकै भरमा बाँच्नु पर्ने बाध्यता भए पनि हामीले हिम्मत हारेका थिएनौँ । यस्तो अवस्था भएपछि ताजमहल घुम्न जाने र आफ्नै पुर्खौली गाउँ जाने कुरा पनि हरायो । मलाई त्यो घिडघिडो अझै छदैछ.. . तर अब के हुन्छ र !
“बाँचेर फर्किएँ भने आघांै पनि नाँच्नुपर्छ है ।” तिनले धरानको घरमा नचाएको अन्तिम साखेवामा भनेकी थिइन् । यसो भनिरहदा तिनले जबरजस्ती मुस्कुराउने प्रयास गरेकी थिइन् । मनभित्रको पीडा लुकाउन अर्कोतिर फर्कदा नाकको फुलीमा घामको किरण पर्दा टलक्क टल्केको थियो । फुलीलाई देख्दा त्यो क्षण अहिल्यैजस्तो लाग्छ ।
“बाँचिन्छ, बाँचिन्छ । नाचौलाँ नाचौलाँ !” नाच्नेहरूले भनेका थिए ।
त्यही सालको नाच नै तिनको अन्तिम नाच भयो ।
अस्पताल गयौँ, तिनको स्वास्थ ठीकै थियो । फर्केर कोठामा आएपछि उल्टी आउन थाल्यो । फेरि अस्पताल गयौँ । “पोटासियम बढेको छ, यसले कुनै पनि बेला मुटु बन्द हुन सक्छ ।” डाक्टरले भनेपछि अस्पताल भर्ती ग¥यौँ ।
तिनी सिकिस्त भइन्, आइ.सि.यु.मा १५ दिन राख्नु प¥यो । डायलाइसिस हप्ताको तीन पटक नियमित रूपमा नै भइरहेको थियो । डायलाइसिस आइ.सि.यु.मा नै हुन्थ्यो । सिकिस्त बिरामीे अवस्थामा जे पायो त्यही बोलिरहने । मृगौलाले काम गर्न छाडेपछि मैला पानी दिमागमा पुगेर बिरामी बौलाउँछ— डाक्टरले भने । “काजी, काजी !” कराएर आइ.सि.यु. थर्काउथिन् । नाकको पाइप र अन्य उपकरण तानेर फाल्न खोज्थिन् त्यसैले हात चलाउन नसक्ने गरी बाँधेर राखिएकी थिइन् ।
आइ.सि.यु.मा बिरामी भेट्ने निश्चित समय थियो । त्यो समयमा भेट्दा तिनी रोएरहेकी थिइन्, भनिन् “काजी म... ।” अरु भन्न सकिनन् । मन भक्कानिएर आयो, तिनको अगाडि रोएर, तिनलाई आँसु देखाएर तिनको मन कमजोर बनाउन हुँदैन थियो । भनेँ— “म तिमीलाई निको पारेर सौराहा, चन्द्रागिरी घुमाउछु । घर फर्किदा यसपाली त जनकपुर पनि घुम्ने ।” तिनले ध्यान दिएर सुनिरहिन् । जीवन मृत्युको दोसाधमा रहेकी तिनको आँसु रुमालले पुछेँ । त्यो रुमाल अझै मसँग छ ।
१५ दिनमा अलिक जाति भएर वार्डमा सारियो । तर दिमागी हालत भने बौलाहीकै जस्तो । जे पायो त्यही बोलिरहने, अरुले बोलेको सुनेर त्यसैमा गाँसेर अनेक बोलिरहने ।
आइ.सि.यु.देखि नै मुखबाट खाने अवस्था थिएन । नाकबाटै इरिगेसन पाइपद्वारा खाना र दबाइहरू पिसेर पानीसँग खुवाइरहेका थियौँ । त्यहाँ वार्डमा एउटा वृद्ध मानिससँग दबाइ पिस्ने सामान खोज्दा भेट भयो । उसले सोध्यो— “यसरी खुवाएको कति दिन भयो?”
“३० दिन भयो ।”
“ए, मेरो त आज ट्याक्कै सय दिन भयो नाकबाट खुवाएको । तपाईँको त बोल्दोरहेछ । मेरो त हलचल बोलीचाली केही छैन ।” निराश ती मानिसले भनेका थिए ।
केही दिनपछि ती मानिसले आफ्नो बिरामीलाई चितवन घर फर्काएको थाहा पाएर त्यहाँ काम गर्ने दिदीलाई सोधेँ— “निको भएर लाँदै गरेको हो ?”
“किन हुन्थ्यो ? माया मारेर नि ...।” दिदीले ओठ चेब्राएर भनिन् ।
मेरो मन पनि चिसो भयो । आफ्नो बिरामीको हालत पनि त्यस्तै छ । बौलाहीजस्तै जे पायो त्यही बोलिरहन्थिन् । “डायलाइसिसले नै निको हुन्छ” डाक्टरहरूले भनेका थिए । त्यस्तो अवस्थामा पनि सधैं मलाई बोलाइरहन्थिन्— “काजी, काजी !” म सधैं छेउमा बसिरहन्थे र मलाई लागिरहन्थ्यो ‘निको हुन्छिन् ।’
त्यहीबेला तिनको भाइ र बुहारी बेलायतबाट आइपुगे । ‘सरप्राइज’ दिन खबर नगरी आएका रे । अनेकओली बोलिरहेकी दिदीको अगाडि उभिएर भाइले सोधे— “म को ?”
“माइलाङ्गे ।” केही बेर नियालेर हेरे पछि तिनले भनिन् । भाइलाई तिनी माइलाङ्गे भन्थिन् । त्यस्तो दिमागी अवस्थामा ‘काजी काजी’ कराएर अस्पताल थर्काउथिन् र पनि तिनले मलाई, नन्द र सालीलाई भने सधैंं चिन्थिन् ।
अझै नाकबाटै इरिगेसन पाइपद्वारा खाना र दबाइहरू पिसेर पानीसँग खुवाइरहेका थियौँ । तिनी त्यो नाकको पाइप थुतेर फाल्ने बल गर्थिन् । दुई तीन पटक फालि पनि सकेकी थिइन् । फुली नभएको नाकको प्वालबाट पाइप छिराइएको थियो । तिनले फेरि पाइप थुतेर फालिन् । “किन निकालेको ?” हकारेजस्तो गरेर मैले भनेँ । चुप लागेर बसिन् । त्यही बेला फुली निकालेर त्यो प्वालबाट पाइप छिराउन फुली निकाल्ने कोसिस छोरा र सिस्टरहरूले गरे । तर फुली निकाल्न सकेनन् । फुली तिनको नाकमा नै रहिरह्यो ।
एक महिनाको अस्पताल बसाइपछि तिनी केही सन्चो भइन् डिस्चार्ज भएर छोराको कोठामा बस्न थालेका थियौँ । तिनको भाइ र बुहारी बेलायत फर्किसकेका थिए ।
त्यो सालको दशैं र तिहार नै तिनीसँग बिताएको मेरो अन्तिम दशैं तिहार भयो । दशैं पनि तिनको अस्वास्थ्यका कारण खाशै रमाइलो भएन । तिनलाई अनेक प्रकारले उत्साहित पारेर आनन्दित पार्ने कोसिस गर्थे तर तिनले कुनै उत्साह देखाउदिन थिइन् । जब मृत्यु भयले मन खाइरहेको हुन्छ, कहाँ आनन्द मान्ने उमङ्ग उत्साह जीवनमा हुन्छ र !
तिहारमा भाइ आउँछ कि भन्ने आशा तिनको भित्री मनमा थियो होला । हामीले पनि भर्खरै फर्केको भाइलाई तिहारमा आउनु भनेर बोलाउन सकेनौँ । तिहार आउन केही दिन बाँकी हुँदा भाइबुहारीहरू स्वीजरल्यान्ड घुमिरहेको तस्वीर फेसबुकमा मैले देखेर तिनलाई पनि “हेर्छाै?” भनेर सोधेँ । तिनले हेर्न मानिनन् । भाइले अस्पतालमा आएर ‘सरप्राइज’ दिएझै तिहारमा पनि टुप्लुक्क आइपुग्छन् कि ! अघिल्लो वषर््ाझैँ भाइसँग तिहार मनाउन पाइन्छ कि भन्ने तिनको इच्छाको तुषारापात भएको थियो । तिनको अन्तिम तिहार झन् खल्लो भयो ।
तिहारको लगत्तै पछाडि तिनलाई भेट्न भान्जा भान्जीहरू आएका थिए । बात मारिरहेका बेला तिनलाई उल्टी हुन थाल्यो । मलाई पुलुक्क हेरिन् । जब तिनी सिकिस्त हुन्थिन् सहाराको लागि मलाई हेर्थिन् । म पनि तिनको त्यस्तो सिकिस्त अवस्था हुन थालेपछि जहिले पनि अस्पतालको इमर्जेन्सी जानका लागि तयारी अवस्थामा नै रहन्थे ।
“अस्पताल जानुपर्छ ।” झोलामा हत्तपत्त अस्पतालको कागजपत्र, औषधि राखेर मैले भनेँ । छोरा पनि तयारी अवस्थामा नै रहन्थ्यो । अस्पताल गयौँ । “रक्तचाप एकदम कम छ । रक्तचाप बढाउने मेसिन आइ.सि.यु.मा मात्र भएकोले आइ.सि.यु.मा राख्नुपर्छ ।” डाक्टरले भनिन् । आइ.सि.यु.मा दुई दिन राखेपछि अलिक ठीक भयो ।
वार्डमा सा¥यौँ । वार्डमा सारेपछि म लुगा फेर्न छोराको डेरामा गएँ । एउटा प्लाष्टिक झोलाभरि चकलेटको खोलै खोल छ । जाडोको याम हुँनाले हामी त्यहाँ बस्दा तिनलाई घाम ताप्न घाममा बाहिर आँगनमा राखेर कोठाभित्र म कम्प्युटरमा भुलिन्थे । ती दिनहरूमा घाममा एक्लै बसेर तिनले यत्ति धेरै गुलियो चकलेट खाइछिन् कि ती चकलेटका खोलहरू देखेर म आश्चर्यचकित विस्मित भएँ ।
मधुमेह भएका र डायलाइसिस गरिरहेका बिरामीहरूले मुख बार्न छाडेभने (खानामा परहेज गर्न छाडेभने) तिनीहरू अस्वस्थ जीवनबाट थाकेर शरीर विसर्जन गर्न चाहन्छन् भन्ने बुझिन्छ । कैयौं डायलाइसिस गरिरहेका बिरामीहरूले मुख नबारेर मृत्युवरण गरेको मलाई थाहा थियो । मैले पनि विश्लेषण गरेँ— किन तिनले पनि यत्ति धेरै चकलेट लुकेर खाइन् ?
खोकि चलिरहन्थ्यो, खोकि रोक्न भिक्स, हर्बल चकलेट एक दुईवटा खान दिन्थे । भिक्स, हर्बल चकलेटले केही बेर खोकि रोक्थ्यो । तिनी मलाई यत्ति धेरै माया गर्थिन् कि मलाई मेरो हर सुखदुःखमा साथ दिन चाहन्थिन् । तर बिरामी तिनलाई स्याहार्दा मैले गरेको पाएको दुःख देखेर ती दुःखबाट मलाई उन्मुक्ति दिन र एउटा निश्चित स्वतन्त्र जीवन मैले बाँचोस् भन्ने चाहेर नै तिनले त्यति धेरै चकलेट खाएकी होलिन् ।
स्वस्थ हुँदा पहिला तिनले भनेकी पनि थिइन्— “बिरामी भएर दुःख पाए भने म त बिष खाएर मर्छु ।”
“बिष कहाँ पाउँछौ सिकिस्त बिरामी भएको बेला ।” मैले ठठ्टा नै सम्झेर सोधेको थिएँ ।
“पहिला नै किनेर राख्छु ।” तिनले भनेकी थिइन् ।
डायलाइसिस गरिरहेको मधुमेहको बिरामीको लागि गुलियो चकलेट बिष त हो । मलाई तिनले दिन सक्ने सुख भनेको आफ्नो रोगी शरीर विसर्जन गरेर तिनलाई स्याहार्ने झन्झटबाट मुक्ति दिनुमा थियो भन्ने सायद सोचिन् । मलाई अर्नेस्ट हेमिङ्वेको आत्महत्या प्रकरण सम्झनामा आउछ— दुई पटकको विमान दुर्घटनामा मुस्किलले बाँचेका तर नराम्ररी घाइते भएका नोवेल पुरस्कार विजेता अर्नेस्ट हेमिङ्वेले बाँकी जीवन पूरै पीडामा बिताए । उनले त्यो पीडा अरु खप्न नसकेर आफँैले आफ्नो कन्चटमा गोली ठोकेर आत्महत्या गरेका थिए ।
बाँचुन्जेल डायलाइसिस गर्नुपर्ने र स्वस्थ शरीरका सबै गुणहरू समाप्त हुँदै गइरहेको अवस्थाले बाँच्ने आधार सकिदै गएको भानले हतोत्साहित तिनले बिषकै रूपमा त्यति धेरै चकलेट खाएकी थिइन् कि !
तिनले तागतिलो खाने चिजहरू खान नहुने । अलिकति खानामा तलमाथि भयो कि सिकिस्त बिरामी हुने, आफ्नो जीवनसँग पनि दिक्क भइसकेकी थिइन् कि ! सबैभन्दा दिक्कलाग्दो र दुःखदायी कुरा आफूले सबैभन्दा बढी माया गरेको लोग्नेलाई आफ्नो कारण दुःख कष्ट भइरहने, पैसा पनि थुप्रै खर्च भइरहने । बारम्बार तिनी सोधिरहन्थिन्, “पैसा कति छ ?”
“घडेरी बेचेको पैसा छ नि । बैंकमा यति छ, साथमा यति छ । पैसाको फिक्री नगर, हरेश नखाऊ ! म छु, तिम्रो लागि म जेपनि गर्छु । ट्रान्सप्लान्ट हुनेभए म मृगौला दिन पनि तयार छु, तर मुटु रोगका कारण सम्भव भएन ।” म भन्थे । म चाहन्थे तिनलाई कुनै प्रकारको चिन्ता नहोस् ।
तिनलाई लाग्न थालेको थियो “अब धेरै बाँच्दिनँ ।” मलाई हेरेर अत्यन्त दुःख मनाउ गरेकी थिइन्— “तपाईँलाई तपाईँ बाँचुन्जेल साथ दिउँला भन्ने सोचेकी थिएँ । तर काजी, काजी...!” अरु भन्न सकिनन्, रोइन् तरतरी आँसु झारेर ।
“नरोऊ, नरोऊ ! म छु, आपूmलाई कमजोर नबनाऊ । हरेश नखाऊ । म छु ..।” मैले भनेको थिएँ ।
“मुटु डा. रमणीले भनिसकी— ‘मुटु एकदमै कमजोर भइसक्यो, मैले गर्न सक्ने सबै गरिसकेँ । अब म केही गर्न सक्तिनँ ।’ त्यसैले अब म बाँच्तिनँ काजी ! म मरे पछि मेरो सबै गहनाहरू आपूmसँगै राख्नू, दुःख पाउनुभयो भने बेचेर खानू, । मधेसको मेरो नामको जग्गा पनि आफ्नै नाममा राख्नू । मेरो मोबाइल सधैं आफ्नो साथमा राख्नू । म मरे पछि बिहेको सारीचोलो लगाई दिनू ...।”
“म त्यो सारीचोलो चिन्दिनँ ।” मैले भनेको थिएँ ।
“मैले नन्दलाई भनिसकेकी छु, उसैले ओडाउँछ .. ।” भनिन् ।
त्यो रातभरी तिनी रोइन् । मलाई अझै केही महिना तिनी बाँच्छिन् भन्ने आशा थियो ।
अस्पतालको वार्डमा विवश तिनी र विवश म एकआपसमा हेराहेर गरेर बाँचिरहेका थियौँ । दिनभर आफन्त मानिसहरू हेर्न आउँथे, जान्थे । रात परेपछि हामी दुईजना मात्रै । थाकेर हो कि के भएर हो, फुर्सद हुँनासाथ तिनको बेडछेउ रहेको सानो बेन्ज बेडमा भुसुक्कै निधाइहाल्थँे । जहिले पनि निधाइरहेको मलाई देखेर तिनी भन्थिन् “कति सुत्नु हुन्छ ? कति सुत्नुहुन्छ ? म मरेपछि बेस्सरी सुत्नू !”
अहिले पो सम्झन्छु, तिनले किन त्यसो भनिन् ? तिनी चाहन्थिन् तिनको अन्तिम अवस्थामा म तिनको कुरा सुनूँ र आफ्ना कुराहरू सुनाऊँ, तर ‘औषधि ल’े, ‘खाना ल’े, ‘बिरामी उठा सुता’, स्याहार गर्दागर्दै फुर्सद भयो कि निधाइहाल्थेँ । अहिले पो थकथकी लाग्छ मृत्युको पूर्वआभासले विचलित तिनको मनलाई मैले तिनको कुरा सुनेर वा मैले बोलेर केही कुरा सुनाएर ढाडस दिनु पथ्र्याे ! सान्त्वाना दिनु पथ्र्यो ! त्यतिबेला त्यो कर्तव्यबाट म चुकेँ ।
पोटासियम, ग्लुकोज, सोडियम, फासफोरस अनेकौ रक्त परीक्षण । ट्रोपोनिन पोजिटिभ देखिए पछि भने मेरोे पनि मनमा चिसो पस्यो र छोराहरूलाई भनेँ— “तिमीहरूको आमा जति दिन बाँच्छ, हाँसीखुसी साथ बाँच्न देऊ !” मैले तिनलाई ती रिपोर्टबारे जानकारी नदिए पनि आफ्नो शारीरिक अवस्था र मुटु डाक्टरको कुराले तिनले मृत्युको पूर्वानुमान गरेकी थिइन् र हामी दुई मात्र हुँदा मेरो मायाले र आफ्नो नजिकै आइसकेको देहावसानको पीडाले रोइरहेकी हुन्थिन् । म के गर्न सक्थे र ! फगत टुलुटुलु हेर्नु सिवाय । कति विवश थियौँ हामी !
दिनभर म कुरुवा बसेको देखेर माइला छोरा भन्थ्यो— “म राती बस्छु तपार्इँ कोठामा जानुहोस् ।”
तिनी मान्दिनथिन् । रुन्चे बोलीले भन्थिन्— “तेरो बाबु नै बस्नु पर्छ ।” जति दिन बाँच्छिन्, तिनी अन्तिम क्षणसम्म पनि मेरै साथ रहन चाहन्थिन्, मेरै साथमा मृत्युवरण गर्न चाहन्थिन् । म पनि जतिसम्म तिनी बाँच्छिन् तिनको साथमा रहन चाहन्थेँ । अब सँगसँगै रहने धेरै दिन छैन भन्ने चेतले खिन्नताका साथै एकअर्काप्रति समर्पण, आकर्षण र प्रेममायाको उद्वेग हाम्रो मन, मुटु र मगज अस्थिर बनाई प्रतिक्षण मनभरी उर्लदो बाढिझैँ भएर अविरल बगीरहेको थियो ।
“मै बस्छु” द्रवित भई म भन्थेँ र म नै राती पनि कुरुवा बस्थेँ । मलाई देख्दा र तिनको साथमा म रहदा तिनले जुन सुरक्षा, साथ, सन्तोष र मिलनको अनुभव गर्थिन्— त्यो तिनको अन्तिम कालमा अमूूल्य थियो । मेरो निम्ति पनि तिनको त्यो साथ अमूल्य थियो । हामी दुवै साथसाथ बस्ने धेरै दिन छैन भन्ने अहसासले हामीलाई मन, मुटु र मगजको गहिराइसम्म यति धेरै छोएको थियो कि हामी हेराहेर गरेर बसिरहेका हुन्थ्यौँ । म तिनलाई हेरिरहन्थेँ, तिनी मलाई ।
उठाउन बसाउन र सुताउन परिरहेको थियो । आफै उठ्न बस्न नसके पनि बोली र दिमाग भने स्वस्थ मानिसकोजस्तै तगडा थियो । मलाई तिनी आफ्नो मनका कुराहरू सुनाइरहन्थिन् — “काजी, मलाई हामीले घुमेका ठाउँहरूको सम्झना आइरहेको छ...।”
तिनका ती कुराहरूभित्र अन्तरहृदयको पीडा थियो, क्रन्दन चित्कार आर्तनाद थियो र हृदयको हाहाकार प्रतिध्वनित भइरहेको थियो । तिनले त्यतिबेला भोगिरहेको वेदना, कष्ट, पीडा र दुःखको वर्णन गरि साध्य थिएन । अहिले तिनी त गइसकिन् र तिनको अस्तित्व छैन । तिनले त्यतिबेला भोगेको पीडा कष्ट वेदना ठूलो थियो कि अहिले मैले तिनको विछोडमा भोगिरहेको पीडा कष्ट र वेदना ठूलो ? सबै प्रेम, माया, पिरती, स्नेह, ममता, आदरभाव, सुख, आनन्द, ऐश्वर्य, भोगविलास, शान्ति, शान, धाकरवाफ, प्राप्ति र दुःख, पीडा, कष्ट, वेदना, क्रन्दन, रुवाइ, घृणा, लोभलालच, विछोड, वियोग बाँचुन्जेलका लागि मात्र हो । मरेपछि सब समाप्त ! सब सकिन्छ, तुरिन्छ । मरिरहेकी मर्नैलागेकी तिनको मप्रतिको त्यतिबेलाको अगाध असीम प्रेमभाव... अहिले म महसुस गर्दै छु । मर्नेले भोगेका सबै कुरा मृत्युले समाप्त पार्छ तर बाँच्नेहरूले आपूmले गुमाएका मृतक प्रियजनहरूको सम्झनामा भोग्ने पीडा कष्ट, विछोडको वेदना, रुवाइ क्रन्दनले संसार व्याप्त छ । बाँच्नेले मर्नेलाई जीवनभर भुल्न नसक्नु अझ भुल्न पनि नचाहनु पनि जीवनको अनौठो नियम रहेछ ।
४१वर्षको तिनीसँगको मेरो सुखद, सुमधुर र स्वर्णिम दाम्पत्य जीवन भुलेँ भने यो जीवनको अन्तिम कालखण्डमा मसँग सम्झने कुरा घटना परिघटना के नै रहन्छ र !? खोक्रो जीवन सिवाय...।
तिनको मृत्यु हुनु अगाडि म सुखी मानिस थिएँ र म दुःखविहीन सप्तरङ्गी रङ्गीन दुनियाँमा भुलिएको थिएँ । तिनको मृत्युले मलाई विछोडको एकत्रित अचम्म–आघात, असह्य वेदना, असीमित पीडा दियो र रोएँ । रोइरहेको आँखाले मैले जुन शून्य देखेँ, त्यो मेरो जीवनको आठौं रङ हो । तिनको मृत्युपछि म अनेकौंं दुःख दर्द, कष्ट, रिक्तता, अभाव, पीडा, आघात, सन्ताप, यातना, विछोड, वियोगका असह्य परिस्थितिमा पनि बाँच्न चाहिरहेको छु, यो जिजीविषाको अदभुत रहस्यमयी अदृश्य नवांैं रङमा म अहिले छु र नौरङ्गी जीवन भोगिरहेको छु । मेरो यो नौरङ्गी जीवनमा म तिनलाई सम्झनामा नै भए पनि अमर बनाउन चाहन्छु । अमर बनाउने कसरी ? त्यो अमर बनाउने प्रयोजन ध्येय मेरा निम्ति बाँच्ने प्रेरणा भएको छ । नबाँची तिनलाई म अमर बनाउन सक्तिनँ भन्ने बोध मेरो सक्रियताको कारण बनेको छ ।
मैले त्यतिबेला भनेको थिएँ “चिन्ता नगर ! म तिमीलाई निको पारेर ती ठाउँहरूमा फेरि घुमाउछु ।” तर कहाँ घुमाउन सकेँ र !
तिनको अन्तिम अवस्था भइसकेको कुरा डाक्टरले भनेपछि पो मलाई थाहा भयो– “बिरामीलाई आफ्नो शरीरबारे थाहा हुन्छ, बिरामीको अन्तिम इच्छा होला । तिनलाई कुनैबेला पनि केही हुन सक्छ ।”
अब भने जिउँदै धरान घर पुराउँछु भन्ने लाग्यो । छोराहरूसँग सल्लाह ग¥यौँ र हवाइजहाजको टिकट बन्दोबस्त ग¥यौँ । धरान घर फर्कने भनेपछि तिनी असाध्य खुशी भएकी थिइन् । माइला छोराले अस्पतालकै जस्तो बिरामीलाई तल माथि उठाउन मिल्ने बेड किन्दिने कुरा आमालाई भनेको रहेछ । खुशी भएर तिनले भनिन् “माइलाले धरानमा अस्पतालकै जस्तो बिरामीलाई तल माथि उठाउन मिल्ने बेड किन्दिने भएको छ । धरान घर फर्के पछि विल चियर किन्दिनु होला ।” विल चियरमा घुम्ने तिनको रहर ! निराशा मनभित्र पचाएर भनेँ “हुन्छ, किन्दिन्छु ।” जीवनको अन्तिम क्षणमा पनि बाँच्ने उत्कट बलवती तिनको आशा ! २२ गते नै फर्कने मेरो योजना तिनले एन्टिबायोटिक सुइ लगाइरहेकी थिइन्, “२६गते पूरा लगाएर फर्काैँ” भनिन् । कतै बाँच्छु कि भन्ने तिनको आशा हुँदाहुँदै मैले २२ गते नै फर्कनुपर्छ भनेर कर गर्न हुँदैनथ्यो । “हुन्छ” मैले भनेँ र २७ गते फर्कने बन्दोबस्त ग¥यौँ ।
हामी २७ गते फर्कन्छौँ भन्ने थाहा पाएर नातागोता इष्टमित्र सब भेट्न आए । दिनभर भेट्ने मानिसको घुइँचो । भेट्ने ती सबै मानिसहरूलाई तिनी भन्थिन् “बाँचे भने फेरि भेटांैला ।” नर्सहरू, डाक्टरहरू र अरु डायलाइसिस गरिरहेका बिरामीहरूलाई पनि “बाँचेर आएँ भने फेरि भेटौला !” भन्दै सबैसित बिदा मागिरहेकी थिइन् ।
२४गते राती बेलायतबाट भाइले फोन गरे । तिनले भाइसित कुरा गर्न मानिनन् । मैले नै कर गरेर बोल्न लगाएँ । भनिन् “माइलाङ्गे, भेट नहुने भयो ।” फोनमै तिनी रुन थालिन् । तिनको रुवाइ र आँसु थाम्न मैले “राम्ररी गरिखाऊ ।” भन्न लगाएँ । तिनले त्यसै भनिन् । त्यही फोनवार्ता नै दिदीभाइको अन्तिम वार्ता सम्बाद भयो । त्यसपछि तिनले भोलि बहिनी र नन्दलाई बोलाइदेऊ भनिन् । मैले दुवैजनालाई बोलाएँ । तिनले किन उनीहरूलाई बोलाइन् । आज मलाई थाहा भएको छ— मृत्यु झेल्न मानिसलाई आफ्नो प्रिय मानिस र आफन्तको सहारा चाहिँदो रहेछ । बहिनी र नन्दलाई अन्तिम सहाराको लागि तिनले बोलाएकी थिइन् ।
२४ गते बिहानै दुवैजना आए । दिनभर तिनीहरूले अनेकौं कुराकानी एकआपसमा हेराहेर गर्दै गरे । बेलुकी उनीहरू फर्किए । राती डायलाइसिस गर्नुपर्ने भएकोले माइला छोरालाई पनि त्यहाँ बस्न लगाएको थिएँ, छोराले तिनलाई डायलाइसिस गर्न लगेपछि म यसरी निधाएँ कि डायलाइसिस सकेर उनीहरू फर्केर ब्युझाएपछि मात्र ब्युझिएँ ।
“यो मान्छे कति सुतेको ? डायलाइसिसमा एकै पटक पनि हेर्न आएन ।” तिनले गुनासो गरिन् । यसभन्दा अगाडिका प्रत्येक डायलाइसिसहरूमा म पटक पटक हेर्न जाने गर्थे । मलाई तिनी पानी, खाने र अरु चिजहरू ल्याउन भन्थिन् । त्यो अन्तिम डायलाइसिस गरेर फर्कदा राती अबेला भइसकेको थियो । बेडमा सुतेपछि तिनले भनिन् “मलाई चकलेट दिनुहोस् ।”
“खान हुन्न । दिन्नँ ।” मैले भनेँ ।
“एउटा मात्र खान्छु ।” मायालु स्वरमा अनुनय गरिन् ।
“एउटा मात्र खान्छौ भने मात्र ।”
तिनले “एउटा मात्र खान्छु” भनेपछि मैले एउटा चकलेट दिएँ । कति मीठो गरी खाइन् । अत्यन्त प्रसन्न भएर भनिन् “एनेमा लगाइ दिनुहोस् ।” एनेमा लगाएर म बाथरुममा टोइलेटका सामान लिन गएँ । फर्केर आई हेर्छु त तिनी अनन्त महायात्रामा गइसकेकी ! आँखाको झिमिक्कमा तिनको मृत्यु ! मेरो सर्वस्व समाप्त !! सर्वनाश !!!
कराएर नर्स र छोरालाई बोलाएँ । डाक्टर नर्सहरूले अन्तिम प्रयत्न गरे । तिनी गएको गएकै भइन् । केही समय अगाडि चकलेट खाएर प्रसन्न भएकी तिनी मृत भइसकेकी थिइन् । रोएर कराएर के हुन्थ्यो ? चकलेट मेरो हातबाट खाएर तिनले मृत्युवरण गरिन् । मेरो सर्वस्व सकियो, मेरो सुखी संसार धुलोपिठो भयो ।
मेरो हातको अन्तिम उपहार... यदि मैले चकलेट नदिई नखाई तिनी मरेकी भए म आपूm जीवनभर पछुताई रहन्थे र आपूmलाई माफ दिन सक्ने थिइनँ ।
जेठा छोरा, बुहारी, बहिनी, साली, नरनाता, इष्टमित्र, साथीभाइ सबैलाई फोनमा सुचित गरेर बोलायौँ । तिनको इच्छाअनुसार धरानमा नै संस्कार गर्ने भएर २५गते दिनभर तिनको लाश लिएर बेलुकि धरान पुग्यौँ । त्यस राती हामी दुईको सुत्ने कोठामा नै तिनको लाश राखियो । सफा पारेर गोबरले लिपेको भुईमा तिनको लाश राखियो । म लाशकै छेउमा र वरिपरि छोराहरू लाश रुङ्दै बस्यौँ । म भने तिनको लाशछेउ सुतेँ, त्यही नै तिनीसँग मेरो अन्तिम बसाइ र सुताइ थियो ।
तिनको लाशको नाकमा नै फुली थियो । त्यो फुली तिनको जीवनको हरपलमा सधैं तिनको नाकमा रहेर तिनको साथसाथ थियो । तिनले एक्लै हुँदा र मसँग रहदाबस्दा भोगेको सुख दुःखको साक्षी थियो ।
२६गते बिहान मात्र छोराले फुली तिनको अन्तिम संस्कार गर्नुभन्दा अगाडि तिनको लाशको नाकबाट सजिलै निकाल्यो । अस्पतालमा नर्स र माइला छोराले निकाल्न नसकेको फुली सजिलैसँग जेठा छोराले निकालेको देख्दा म छक्क परेको थिएँ । बहिनीले तिनको इच्छाअनुसार घरपट्टिबाट दिएको बिहेको लुगा लाशलाई लगाइ दिइन् । झकिझकाउ बेहुली जस्तै देखियो लाश ... सम्मानसाथ तिनको अन्तिम मृत्यु–संस्कार सम्पन्न भयो ।
मानिसले मृत्युमा सब छाडेर जानु पर्ने रहेछ । सानो फुली समेत तिनले छाडेर गइन् । आखिर लिएर जान सकिने, लगिने केही रहेनछ । आज त्यो फुलीलाई देखेर म सोचिरहेको छु — अरु गहनाले भन्दा फुलीले नै मलाई किन बढि आकर्षित गरेर रुवायो ?
आफैले उत्तर दिएँ, अरु गहनाहरू खासै तिनले लगाएका गहनाहरू थिएनन् । बिहेमा तिनले लगाएका गहनाहरू मङ्गलसूत्र, औठी, सिक्री आदि गहनाहरू त सावाब्याज तिर्न नसकेर पच भएको थियो । अरु गहनाहरू त तिनी बिरामी भएपछि तिनको उपचारका लागि बेचेको घडेरीको पैसाले किनेको एकदुई पटक मात्र तिनले लगाएका गहनाहरू भएकाले ती गहनाहरूप्रति मेरो खासै चासो रहेन । तर...
फुली !
कति पटक तिनको आँसुले लपक्कै भिजेको थियो र कति पटक पूmल अक्षेता अबीरले पनि रङ्गिएको थियो ! तिनको मधुर हाँसोसँग टलक्क टल्किएको पनि थियो ! आनन्दको मुस्कानसँग चम्केको थियो ! पे्रमीपतिको चुम्बन पनि त्यो फुलीले चाखेको थियो !
तिनको र मेरो जीवन अवलोकनकर्ता भई फुली तिनको नाकमा सदैव रहेको थियो । म नहुँदा पनि फुली तिनको साथ हुन्थ्यो । मैले थाहा नपाएका कतिपय सुख दुःख तिनको आँसु पीडा अनुभव अनुभूति फुलीलाई थाहा थियो । फुली नाकसँग एकाकार भएको थियो । नाक र फुलीजस्तै तिनी र म ४१वर्षको दाम्पत्य जीवनमा एकाकार भएर अनेकांैं उतार चढाव सुख दुःख सँगँसँगै भोगेका थियौँ... सँगँसँगै हाँसेका थियौँ, रोएका थियौँ ।
ती सबको अवलोकनकर्ता फुली हाम्रो सुखदुःखको साक्षी, प्रमाण, प्रतिविम्ब भएको छ । बनेको छ— हामी दुईको प्रेम प्रतीक त्यो सानो फुली !
पानीबाट झिकेर फालिएको माछाझैँ छटपटिदै बाँच्न विवश एक्लो म ... म जस्तै नाकबाट निकालिएको र रहने लगाउने नाक नभएको एक्लो फुली !
अब त्यो फुली लगाउने मेरी पत्नी मेरी कजिनी लक्ष्मी छैन । तर अझै तिनले लगाएको फुली मसित छ । तिनको सम्झना दिलाईरहने सानो फुली ! फुली लगाउने मान्छे नभएको...फुली !
तिनको विछोड वियोगमा आँसुको दहमा पौडदै मैले तिनको श्रध्दाञ्जलीका लागि र (अझ स्पष्ट भन्दा) आफैलाई सम्भाल्न अति दुखिरहेको मन बुझाउन (.नौरङ्गी पुस्तक.... हटाउनुहोस्)तिनलाई सम्बोधन गरेर लेखेको रहेछु....
तिमीले स्याहारी सम्भालीरहेको मायालु ‘म’....स्याहार्नु सम्भाल्नु छ
सबैभन्दा मुस्किल... तिमी सम्झि रुने मन बुझाउनु छ !
सुन्दर सप्तरङ्गी रङहरूले सजाएथ्यो मलाई
प्रेम गगनमा साथ साथ उडाएथ्यो मलाई
अझै मुटुमा छौ बस्छौ
नौरङ्गी जीवनमा पनि साथ दिन्छौ साथ साथ छौँ
असीम मायाले भिजाउने तिमी अजर अमर अजम्बरी छौ !!
म तिनको विछोड वियोगमा नौरङ्गी जीवन अनुभूत गरिरहेको छु ।
मानिस दुःखविहीन हुँदा सप्तरङ्गी रङ्गीन दुनियामा भुलिदो रैछ । सप्तरङ्ग त इन्द्रेनीका रङ्गहरू हुन् । अरू दुई रङ्ग ? नौरङ्गी डाँफे । डाँफेका रङ्गहरू हुन् भनि दिँदा हुन्छ । तर ति के कस्ता हुन्छन ?
सात रङ्गभन्दा अर्को दुई रङ्गहरू हुन्— असह्य शोक जब मानिसको जीवनमा घट्छ रङ्गविहीन अनुभूतिका साथ एउटा सून्य अनुभव हुन्छ । रोइरहेको आँखाले देखिने रङ्ग आठौं हो । नवौ रङ्ग अनेकौं दुःख दर्द कष्ट रिक्तता अभाव पीडा आघात सन्ताप यातना विछोड बियोगका असह्य परिस्थितिमा पनि मानिस बाँच्न चाहन्छ । त्यो जिजीविसाको अद्भुत रहस्यमयी अदृश्य रङ्ग नवौं हो ।
यसरी जीवन नौरङ्गी हुन्छ ।
नौरङ्गी जीवनमा पनि साथ दिन्छौ साथ साथ छौँ ।
सपनामा तिनी आइरहन्छिन् । के सपनामा आइरहनु, सपनामा भेटिरहनु मेरो नौरङ्गी जीवनमा तिनले साथ दिएको हो ?
जब म अग्घोर निरास खिन्न भएर विरक्त हुन्छु, पलायन मुक्ति हो कि भन्ने अवस्थामा पुग्छु, सपनामा तिनी आउछिन् । एक पटक त सपनामा तिनी फिका सुन्तले रङ्गको चम्किलो सुहाउदिलो लुगा लगाएकी यति धेरै प्रसन्न चन्द्रमाझै उज्याली हसिली हाँसिरहेकी देख्छु ! तिनको त्यस्तो रूप जीवितावस्थामा पनि मैले कहिल्यै देखेको थिइनँ । प्रसन्न हाँस्दै खुशी हँुदै ब्युझिएँ । मलाई लाग्यो तिनी ज्युँदै छिन् र कतै गएकी छिन् । सपनामा देखेको तिनको त्यो उज्यालो हसिलो रूपले वास्तविक जीवनमा मेरो ओइलिन थालेको मन–फूल तरोताजा भएर फक्रिन्छ । मभित्र जिजीविसाको अद्भुत रहस्यमयी नवौं अदृश्य रङ्ग झलमल्ल तडकारो फैलिन्छ ।
सपनाको निर्माता को हो ? चाहेर त सपना देखिदैन । सपनामा तिनलाई देखेर भेटेर म केही बढी दिन बाँच्न सकिरहेको छु । एकल जीवनमा सपनामै भए पनि तिनी आइरहनु... सपनाले पनि जिजीविसाको उत्प्रेरणा दिँदो रहेछ ।
“काजी ! काजी ... ”
“हँ... ” प्रसन्नतासाथ मेरो मुखबाट जवाफ फुस्कन्छ ।
फुलीले बोलेको हो त ?
होइन, निर्जीव फुली कसरी बोल्न सक्छ ?!
मलाई मेरो पारिवारीक नाम ‘काजी’ भनेर बोलाउने सम्बोधन गर्ने मेरा परिवारका तीनजना मात्र हुन्— पिता, माता र पत्नी । आमा ९३वर्षको हुनुहुन्छ, कान सुन्नु हुन्न र दोहोरो कुराकानी हामी आमाछोरा बीच हुँदैन । पिता र पत्नीको देहान्त भइसकेको छ ।
सर्वसाधारण आम मान्छेको आँसुको सागरमा संसार तैरीरहेको छ । त्यो सागरमा मेरो पनि आँसु मिसिएको छ । जति नै अकिञ्चन, नगण्य भने पनि कोही कसैको नजरमा अति प्रिय र नभईनहुने अमूल्य मान्छे हुँदोरहेछ । तिनी मेरा लागि त्यस्तै थिइन् ।
“काजी ! काजी ... ” म सुन्छु । पत्नी कजिनी लक्ष्मीले नै बोलाएको हो । चारैतिर हेर्छु, कोही छैन । कतै मेरो भ्रान्ति हो कि... ! सपना हो कि ! तर म निधाएको छुइनँ ।
“काजी ! काजी ... ” मलाई टडकारो सुनिरहेछुझैँ लाग्छ । तिनले नै बोलाइरहेकी ...
जीउँदाहरूले सधैं यहाँ बसिरहन पाउदैनन् । यो जीवनको नियम हो !
सायद अब मैले पनि फुलीलाई पत्नीलेझैँ यही छोडेर जाने बेला भएछ कि... !?
अन्तिम क्षण ! तिनी जसरी नै रोएर म पनि आफ्नो अधुरो अपुरो जीवनको हुन लागेको अवसान र तिनलाई सम्झेर धुरुधुरु रोइरहेछु र बिदा माग्दै छु....
“फुली ! बिदा..... !
२०७६ जेठ, असार, धरान
कोङहाङ
कोङहाङ मेहनती, अनुशासित, आज्ञाकारी हुनुका साथै नम्र, मिलनसार र सहयोगी भएकोले आँखाको नानीझैँ गाउँलेहरूको प्यारो हुन्छ । अहिले ऊ सिकिस्त छ, घाइते भएर अस्पतालको बेडमा अन्तिम अवस्थामा रहेको छ ।
पहाडी भूबनोट भीर पाखा पहरा; ऊ अग्लो भीरबाट लडेर झरेपछि पनि अर्को भीरबाट झरेर ढुङ्गामा पछारिएको थियो । छाती र टाउकोमा चोट लाग्नुका साथै हातखुट्टा पनि भाँचिएको हुन्छ ।
स्वास्थ चौकिमा उपचार सम्भव नभएपछि सहरको ठूलो अस्पतालमा ज्यान बचाउन सकिन्छ कि भनेर उसलाई पु¥याइएको छ । ऊ बेहोस छ, मानिसहरू टुलुटुलु हेरिरहन्छन् । डाक्टरहरूले सक्दो गरिसके र बाँच्न मुस्किल भएको कुरा भनिसकेका छन् । वृद्ध बाबुआमाका एक मात्र छोरा, ऊ म¥यो भने तिनीहरू ठहरै हुनेछन् । आमा रोएको रोएकै । बाबु पनि नरोइबसेका त होइनन् तर ‘जबसम्म सास तबसम्म आश’ भनेर मन थामेर बसेका छन् ।
कोङहाङको त्यस्तो अवस्था देखेर नरुने कोही गाउँले छैन । तर उनीहरू के गर्न सक्छन् र ? फगत प्रार्थना गरिरहेका छन् “कोङहाङलाई भगवानले बचाओस् !” गाउँलेहरू उसलाई बचाउन सक्दो मद्दत, आर्थिक सहयोग, रक्तदान आदि निस्वार्थ गरिरहेका छन् । तर उसको अवस्था भने झन्झन् चिन्ताजनक हुँदै गइरहेको छ— अहिले कि भरै ।
कोङहाङको मामाले दिदी रोएको देखेर मन थाम्न नसकि डाक्टरलाई भन्छन्, “डाक्टर, जसरी पनि उसको ज्यान बचाउनु प¥यो ।”
“हामीले गर्ने सबै गरिसक्यो । भाँचिएको हातखुट्टा ठीक हुनसक्छ तर मुटु, फोक्सो र गिदीमा पनि चोट लागेको छ । बाँच्नु गा¥हो छ । कोसिस गरिरहेका छौँ । चमत्कार भए मात्र बाँच्न सक्छ ।” डाक्टरको जवाफ हुन्छ ।
चमत्कार !
मामाको मनमा वेलायती लेखकले लेखेको ‘जोनी गोर्खा’ भन्ने किताबको एउटा प्रसंङ्गको सम्झना आउछ । दोस्रो विश्वयुद्धमा बेलायती महारानी अस्पतालमा युद्ध घाइतेहरू निरीक्षण गर्न गएकी थिइन् । एकजना घाइते गोर्खाली सिपाहीको अवस्था अत्यन्त चिन्ताजनक थियो । त्यस सैनिकलाई देखाएर महारानीले सोधिन्— “यो सैनिक बाँच्छ ?”
“मुस्किल छ । उसको इच्छा शक्तिले बचायो भने मात्रै ।” डाक्टरले सत्य कुरा बताए । गोर्खाली सैनिकहरू अत्यन्त आज्ञाकारी हुन्छन् भन्ने महारानीलाई थाहा थियो र महारानीले आज्ञा दिइन् “सैनिक तिमीले मर्न पाउन्नौ । तिमीले बाँच्नु पर्छ, यो मेरो आज्ञा हो ।” नभन्दै आश मारिसकेको त्यो सैनिक बाँच्यो ।
मामा त्यस्तै प्रयोग गर्ने निधो गर्छन् । भेनाज्युलाई अर्को कोठामा लगेर सम्झाउछन् । पिता आफ्नो मर्न लागेको बेहोस छोराको छेउ आएर कराएर आदेश दिन्छन्— “छोरा तिमीले बाँच्नुपर्छ । बाँचेर हामीलाई बुढेशकालमा पाल्नु तिम्रो कर्तव्य हो । मर्न पाउन्नौ ।”
बुबाको आज्ञा सुनेझैँ बेहोस अवस्थामा रहेका छोरा बुबालाई आँखा उघारेर हेर्ने प्रयत्न गर्छ । टाउको उठाउने बल गर्छ तर सक्तैन ।
सबैले माया मारेको ऊ त्यसपछि बिस्तारै निको हुन थाल्छ । चमत्कारै हुन्छ; ऊ बाँच्छ । सबैजना हर्षित हुन्छन् । मामालाई लाग्छ— आज्ञाकारिता र इच्छाशक्तिले ऊ बाँचेको हो र मामा उसको नयाँ नाम राख्छन् कोङहाङ अर्थात मन(इच्छा)को राजा ।
मृत्युसित साक्षात्कार ! मृत्युको मुख बाट उम्केर बाँचेकाहरूलाई जीवनको मूल्य थाहा हुन्छ । ऊ जीवनको माया गर्न थाल्छ । जीवनको प्रेमले मानिसलाई महान्, सहनशील, धैर्यवान, सक्रिय, सेवक र मायालु बनाउँछ । कोङहाङ त्यस्तै हुन्छ ।
कोङहाङले मृत्युलाई जितेपछि जीवनका नराम्रा पक्षहरू अज्ञानता, इष्र्या, रिसइवी, वैमन्यस्यता, झैझगडा, घृणा, पशुगत मनोवृत्ति, हिंसा आदिमाथि बिजयी भई मानिसहरूका मनमा प्रेमको विजारोपण गर्न थालेका हुन्छन् । त्यसपछि बाँचेर उनले राम्राराम्रा धेरै कामहरू गर्छन् । उनकै योजनामा खोलाबाट ल्याएको कुलोले गाउँलाई पटुकालेझैँ बेरेको छ । धान खेती हुन थालेको छ । वागवानी र पशुपालन उन्नत हुन थालेको छ । गाउँमै स्वास्थ केन्द्र, पाठशाला, हाटबजारव्यवस्था, जीवनउपयोगी इलम सिप सिक्न तालिम केन्द्र सञ्चालन, एक आपसमा मिेलेर सहयोगात्मक सघाइसघीको चलन, मिलीजुली सहकारी आदि अनेकौं उसले गरेका राम्रा कामहरूका लागि कोङहाङप्रति मानिसहरू नतमस्तक छन् ।
सबैभन्दा बढी त्यस भेगका मानिसहरूलाई उसले मान्छेको जीवन बाँच्न सिकाएको छ । मान्छे भई बाँच्न पाउनुभन्दा गौरवपूर्ण जीवन अरु केही हुँदैन । गरिबी, अज्ञानता, इष्र्या, एकआपसको रिसइबी, वैमनस्यता, झैझगडा, घृणाका कारण पशुवत जीवन भोगिरहेका ती गरिब दुिःख गाउँलेहरूलाई ज्ञान, सिप र एकआपसमा मिलीजुली मान्छेजस्तो भई बाँच्न सिकाएकाले ऊ सर्वप्रिय भएको छ ।
मानिसहरूले बाँच्न सिकेपछि सबै मानिसहरू सबैका प्रिय छन् । सबैको मनमा प्रेम र शान्ति छ । प्रेम र शान्तिका कारण त्यो गाउँ आनन्दमय सर्वोत्तम रमणीय ठाँउ भएको छ । त्यहाँ सबै सुखी छन् । कोङहाङजस्तै एउटा असल मान्छेले आदर्श समाज र स्वर्णिम स्थान निर्माण गर्न सक्दो रहेछ ।
कोङहाङ प्रेमपुञ्ज हो । प्रेम प्रकाश फैलिएमा दुःख नासिन्छ । मनमा शान्ति उब्जन्छ । शान्तिले मायाप्रेम, सद्भाव, सहयोग, विवेक, सेवा र क्रियाशीलता झाङ्गिन्छ । यस्तो अलौकिक उज्यालोले जीवन र जगत सुन्दर रमणीय मनमोहक र सहज बन्छ । कोङहाङका कारण त्यो गाउँभरि प्रेम प्रकाश फैलिन्छ र त्यो प्रकाश अन्त अर्को गाउँ सहर सबैतिर पुग्छ, फैलिन्छ ।
सबैतिर कोङहाङहरू जन्मन्छन् । सद्भाव, सहयोग, प्रेम र विवेक फैलिदा सबैतिर सुख, शान्ति, स्थिरता र माधुर्य स्थापित हुन थालेको हुन्छ ।
२०७५साल वैशाख, विशालचौक, नखिपोट
जब घाम डुब्न लाग्छ
ध्वाँसे बादल रङ्गिन्छ जब घाम डुब्न लाग्छ । पश्चिमपट्टिको आकाश सधवाको सिउँदो झैँ सिन्दुरे रंङ्गले पोतिन्छ । घाम गोलो सिन्दुरको डल्ला झैँ भएर डुब्न लाग्छ रातको आगमनको पुर्ब सङ्केत दिँदै । ऊ अस्ताउदै गरेको सूर्यलाई हेर्न चाहदैन तर फेरि हेर्छ जसले एक प्रकारको विरक्तिको भाव उसको अन्तस्करणमा उब्जाई दिन्छ ।
अनेक प्रकारका बिचार, कल्पना र भावनाहरूले उसको अन्तस्करणको शान्ति खलबलिन्छ । द्वन्द्व मानसिक तिब्र द्वन्द्वभित्र पीडाको अनुभव उसलाई हुन थाल्छ । उसले लेखाजोखा गर्न थाल्छ दिनभरी उसले के के गरेको छ ?
उपलब्धि केही भएन, प्रयत्न र निस्क्रियतामा केहि फरक नभएको देख्दा— उसलाई लाग्छ ऊ फेरि ठगिएको छ, उसले पाउनुपर्ने उपलब्धि पाएको छैन । उसले भोग्न सक्नुपर्ने सफलताको सुखबाट ऊ वञ्चित भइरहेछ । असफलता— निरन्तर असफलताले आशा र विश्वासको सहारामा अगाडि बढ्ने मानिसको जीवनमा निराशा, कुण्ठा र आत्मग्लानी को सृष्टि पनि गर्न सक्छ ...
आफ्नै नाम; सुचना पाटीमा टाँसिएको सफल उम्मेदवारहरूको नामावलीको सूचीमा सबै आफ्नै नाम हेरिरहेका थिए । भीडमा ठेलमठेल गर्दै ऊ सुचना पाटि छेउ पुग्न सफल हुन्छ तर आफ्नो नाम ऊ फेरि सफल उम्मेदवारहरूको नामावलीमा पाउदैन । आशाको कल्पनामा बनिएको सपना फेरि एकपल्ट भत्केको महसुस गर्दै ऊ सपनाको रानीलाई भेट्न, उकुसमुकुस भएका भाव अभिव्यक्तिहरु पोख्न रानीको घरतिर लागेको हुन्छ ।
‘रानी, मेरा कुराहरूलाई स्वीकार गर ।’
‘आधारहरुको अभावमा ?’
‘तर स्वीकार नगरे पनि अस्वीकार नगरी हाल; म आधारहरूको सङ्कलन छिट्टै गर्नेछु । मलाई केही दिनहरू मात्र पर्खिदेऊ ।’
जीवन निर्वाहको निम्ति पेसाको छनोट गर्दा गर्दै केही दिन बित्यो । सपनाको रानी ऊबाट टाढा भइन्— सम्पूर्ण संसार उजाड भएको जस्तो उसलाई लागेको थियो । ऊ एकपल्ट लोट्यो तर फेरि उठ्यो । ऊ जीवनको बाजी जित्न चाहन्थ्यो— उसले सपनाको रानीलाई करैले बिस्र्याे । पेसाको छनोट गरिसकेपछि सपनाको होइन यथार्थको कटु पीडा, कष्ट झेल्दै दाम्पत्य जीवन सपनाको रानी बिना नै उसले आरम्भ ग¥यो—जुन उसले गर्नै पथ्र्यो ।
विगतका सम्झनाहरू पुराना घाउको टाटा झँैं मात्र हुन्छ । अब सपनाले उसलाई पहिला झैं प्रभाव पार्दैन अनि पीडा दिँदैंन । बरु एक प्रकारको मिठास दिन्छ तर प्यास होइन ।
जुन भौतिक साधनहरूको अभावमा ऊ असफल भएको थियो, ती साधनहरु, आधारहरु ऊसित आज छ । आज ऊ उपलब्धिहरूको लेखाजोखा गर्दै छ— ठोस उपलब्धिहरूको लेखाजोखामा ऊ फेरी एकपल्ट असन्तुष्ट भएको छ । ऊ आफू फेरि एकपल्ट ठगिए झैं लाग्छ आफूलाई असफल पाएर । उपलब्धिहरूको सिडीमा चढ्दै सफलताको स्वर्गमा पुग्ने आकाङ्क्क्षा भत्केको देख्दा कालो भयङ्कर निराशाको खाडलमा डुब्दै गरेको ऊ अनुभव गर्न पुग्छ । सधै असफलता— बिना उपलब्धि, निरर्थक दिनहरू ! डुब्न लागेको सूर्यलाई ऊ फेरि हेर्छ— अनायास उसका आँखाहरूबाट आँसु बग्छ ।
हेरिरहन्छ मानौ त्यो डुब्दै गरेको सुर्य सुर्य नभएर उसले कैयौ दिनहरुको श्रमबाट सञ्ंचय गरेको अनमोल जीवन हो— यौवन हो ।
निष्क्रियता मृत्यु हो । निरुद्देश्यता रोग हो भने प्रयत्न जीवनको निम्ति बचाइरहने हावा, पानी र भोजन हो । उसको प्रयत्नमा कुनै दोषहरू होला, त्यसैले ऊ उपलब्धि हासिल गर्न असफल भै रहेको छ । उपलब्धि–जीवन उसको मस्तिष्कमा तर्क वितर्कको भुमरी उठछ । अवश्य नै उसको आस्था, आराधना त्रुटिपूर्ण छ नभए हावामा हल्लाएको हातले पनि पङ्खाको काम गरेको हुन्छ । एकाग्र नभएर पनि एकाग्र भएर सोच्ने बानी उसलाई लागेको हुन्छ । उसको सोच्ने क्रम जारी भइरहन्छ ।
भोलिदेखि ऊ एकाग्रसित सक्रिय भएर ठोस उपलब्धि हासिल गर्ने सशक्त प्रयत्न श्रम गर्नेछ । जीवन उपलब्धिद्वारा नापिन्छ, शत प्रतिशत सफलता कसैलाई प्राप्त हुँदैन । आजसम्मको उसको असफल जीवन भोलि झुल्कने घामसित सफल उपलब्धिमा परिणत गर्ने अठोट ऊ मनमनै गर्छ अनि ऊ डुबीसक्न आँटेको आजको घामलाई अन्तिम पटक हेर्छ ।
हिजो पनि उसले यस्तै अठोट गरेको थियो भन्ने कुरा ऊ बिर्सिन्छ अनि भोलि घामसितै झुल्कने सफल जीवनको आशा र कल्पनामा ऊ मुसुक्क मुस्कुराउँछ ..... ।
(२०३८ साल)
अन्तरचक्षु
ऊप्रति मेरो ध्यान त्यतिबेलादेखि आकर्षित भएको थियो जुन बेला उसले मन्दिरको मूर्तिलाई लात्ताले हानेर लडाएको थियो ।
मूर्तिलाई लडाएपछि पुजारीलाई पनि उसले “ढोङी” भन्दै थप्पडै थप्पड हानेको थियो । पुजारी कराएपछि केही भक्तहरूले उसलाई पक्रेर प्रहरी बोलाउन पुजारीलाई भनेका थिए ।
“प्रहरी बोलाउन पर्दैन । यिनलाई पनि छाडिदिनु होस्, जान दिनुहोस् ।” पुजारीको अनुरोधपछि उसलाई जान दिइएको थियो ।
सिकारु पत्रकार म खबर तयार गर्नका लागि मैले लडेको मूर्ति र उसलाई पक्रिएको अवस्थाको तस्वीर खिचीसकेको थिएँ । पुजारीसँग कुरा गरेर घटनाको विवरण तस्वीर सहित चट्पटे खबर तयार गर्ने पक्षमा रहेको म खुसी थिएँ ।
“पुजारीज्यु, घटनाको सम्पूर्ण विवरण बताउनुहोस् । म पत्रिकामा छपाउने छु ।”
“कृपया यो समाचार नछाप्नुहोला र तस्वीर पनि नछाप्नु होला । यस्तो खबरले साक्षात भगवान मानिरहेका भक्तहरूको हृदयमा चोट पार्ने छ !” यसो भन्दै पुजारीले मेरो खुट्टा नै छोएर बिन्ती गरे । खबर लेख्ने छाप्ने कुरा सकियो । तापनि त्यसपछि म मूर्तिलाई लात्ताले हान्ने त्यो मानिसको सोधखोजमा लागि रहेँ ।
“किन तपाईँले त्यो प्रतिमालाई लात्ताले हानेर लडाउनु भयो ?”
“मैले त्यो ढुङ्गालाई साक्षात भगवान मानेर धेरै श्रद्धा गर्दै कैयौंं वर्षदेखि पुजा अर्चना गर्दै आएको थिएँ । तर अकस्मात मलाई ज्ञान भयो त्यो त मात्र एउटा चाक्षुष ढुङ्गा हो । भ्रमबाट मुक्त भएपछि म सबैलाई त्यो भ्रमबाट मुक्त हुन प्रेरित गर्न चाहन्छु ।” उसको त्यस्तो जवाफ सुनेर म झन् उसको गतिविधीहरूतर्फ आकृष्ट हुन गएँ ।
त्यति बेला ऊ युवा थियो । सकारात्मक दृष्टिले सत्य देख्न चाहन्थ्यो । जीवन र जगत बुझेर न्यायपूर्ण समाज निर्माण भएको हेर्न चाहन्थ्यो । समाजमा घट्ने हरेक घटना, परिघटना, र गतिविधीहरूलाई ऊ विश्लेषणात्मक ब्याख्या गर्न चाहन्थ्यो । समाज विकास बुझ्न सही दृष्टि र अन्तरचक्षु चाहिने भएकोले ऊ विद्वानहरूका सङ्गतमा गइरहेको थियो । ऊ विद्वानहरूका कुरा सुन्थ्यो, तर्क गथ्र्याे र निश्चित निष्कर्ष निकाल्ने कोसिस गथ्र्यो ।
आजसम्मका तथाकथित मानव सभ्यता केही मुट्ठीभर टाठाबाठा र धुर्तहरूले आफ्ना साना समूहको रक्षाखातिर निर्माण गरेको दर्शन, साहित्य र सोच र त्यसमा आधारित वर्र्गीय संगठन, सामाजिक संरचना र बनोटले बहुसंख्यक आममान्छे भ्रमहरूका श्रृङ्खलामा जेलिएर सबल सकारात्मक सोचको अभावमा बत्तिमा होमिने झुल्सिने पुतलिझैँ विवश बचाइमा हुन्छन् र त्यस्तो दुःखको सागरमा डुबिमर्ने परिवेश रहुन्जेल सर्वसाधारण सदैव दास, नोकर र परतन्त्रको सिकार भई स्वतन्त्र चिन्तन र स्वतन्त्र जीवन देख्न भोग्न नपाई माकुरी जालमा परेको किरा फट्याङ्रा सरह मात्र भईरहने छन् । छट्पटिएर व्यर्थमा मरिरहने हुन्छन् । सामाजिक अन्यायमा परिरहन्छन् ।
तसर्थ सामाजिक अन्यायमा परेकाहरूलाई ऊ साथ दिन्थ्यो । उसको निस्वार्थ क्रियाकलापले प्रभावित भएर युवाहरूको एउटा स्वयंसेवी समूह बनेको थियो जो सत्य र न्यायको पक्षमा लडिरहेको हुन्थ्यो । अन्यायमा परेकाहरूका लागि नारा जुलुस, पर्चापम्प्लेटिङ्ग, उजुरबाजुर, बहस पैरवी उसको नेतृत्वमा रहेको त्यो समूहको दैनिकी थियो । ऊ कैयौं पटक पक्राउ परिसकेका थियो र अत्याचारीहरूका लागि आँखाको कसिङ्गर भएको थियो । अत्याचारीहरूले झुठो फरेब मुद्दा लगाएर उसलाई चार वर्ष जेल सजाय गराए । अन्यायविरुद्ध लड्ने ऊ अन्यायमा नै जेल प¥यो । जेलमा उसले पहिलो एक वर्ष धार्मिक पुस्तक पढ्यो । ती पुस्तकहरू पढिसकेपछि आजसम्मको दर्शन निश्चित बसिबसि खाने समूहको स्वार्थ पूरा गर्न पिछलग्गु कट्टर अन्धभक्तहरू तयार गरी तीनीहरूलाई प्रयोग गर्दै सो समूहले समाजमा रजाइ गरीरहेको निश्कर्ष उसले निकालेको थियो ।
उसले दोस्रो वर्ष दर्शनको अध्ययनमा बितायो । दर्शन दर्शनको चक्करलाग्दा कुराहरू कुन सही हो ? वा होइनले उसको अन्तरचक्षु यति धेरै चलायमान भयो कि ऊभित्र अनन्त जिज्ञासा पैदा भयो । मान्छे के हो ? जीव के हो ? जीवन र मृत्यु के हो ? जगत के हो ? प्राप्ति के हो ? के के हो ? आदि आदि । मानव जातिको अवस्था उकास्नका लागि भनिए पनि अहिलेसम्मका दर्शन अन्तरचक्षुमा आधारित नहुँनाले सर्वसाधारण मानिसहरूको दिमाग कब्जा गरेर उनीहरूमाथि रजाइ गर्न मिहेनतसाथ बुनिएको माकुरी जालो हो, जसमा फसेपछि मानव समुदाय असहाय सिकार हुन्छ भन्ने ठमाइ उसको हुन्छ । मरेपछि पाउने स्वर्ग देखाएर सर्वसाधारणलाई धर्मले ठग्न सम्म ठग्यो, त्यो काम अहिले राजनीतिले गरिरहेको छ । षडयान्त्रिक राजनैतिक, सामाजिक, आर्थिक परिवेश विश्वभरि नै ! आम मान्छेको जीवन बदल्न दर्शन अन्तरचक्षुमा आधारित हुनुपर्ने उसको निष्कर्ष हुन्छ । अन्तरचक्षुमा आधारित नभएको ज्ञान अधुरो अपुरो हुन्छ । आजसम्मका धेरै दर्शन धुर्त चलाखहरूले सर्वसाधारणलाई कज्याइ अनेकौं भ्रममा भुलाएर शोषण र अन्याय गर्ने माध्यम बनेको छ भन्ने उसलाई लागेको हुन्छ । तसर्थ अन्तरचक्षुमा आधारित नयाँ दर्शनको खोजीमा ऊ हुन्छ ।
मगजलाई बोझ नदिई थाहै नपाई समय सुखसँग बितोस् भन्ने आजसम्मका मानिसहरूका अल्सीपनले अन्तरचक्षु अर्धमुच्छित अवस्थामा रहेको छ ।
उसले तेसो वर्ष साहित्य, संस्कृति, इतिहास, भुगोल, राजनीतिशास्र, अर्थसास्र आदि मानव उपयोगी पुस्तकहरू पढ्यो भने चौथो वर्ष सबै प्रकारका किताबहरू छ्यासमिस पढेर निचोड निकाल्ने कोसिस ग¥यो । चार वर्षको अध्ययन र अनुभवले उसलाई परिपक्व, पाको र गम्भीर बनाएको थियो । ऊ जेलबाट छुट्दा उसको समूह तितर बितर भइसकेको थियो । तसर्थ उसले बेग्लै पाराले जीवन गुजार्न थाल्यो ।
नियमित पुस्तकालय जाने र पढ्दा नोट तयार गरिरहेको उसलाई मानिसहरू बिद्यार्थी सम्झन्थे । यसप्रकार उसले अध्ययनमा अरु पाँच वर्ष बितायो ।
उसको जीवनको यो अवधिमा खासै उल्लेख्य केही नभए पनि म भने उसको हरेक गतिविधीहरू नियालिरहेकै हुन्छु । पत्रकारिताको क्षेत्रमा म पनि स्थापित भइसकेको हुन्छु र जहिले पनि म आश्चर्यचकित पार्ने खबरको खोजीमा हुन्छु । यो छोटै अवधिमा सञ्चार क्षेत्रमा अभूतपूर्व प्रगति भइसकेको छ । इन्टरनेटले विश्व जेलिएको छ । अनलाइन खबर पत्रिकाहरू छ्यापछ्याप्ती भइसकेका छन् । जे चाहियो त्यो इन्टरनेटमा पाइन्छ ।
ऊ पुस्तकालय जान छोडेर कोठामा नै बसेर अध्ययन अनुसन्धानमा संलग्न भइरहेको थाहा पाएर म उसलाई भेट्न जान्छु । कोठा अस्तव्यस्त; पुस्तक र नोट कपिहरूले भरिएको दुईवटा दराज, टेवुलमा डेस्कटप कम्प्युटर र बिछ्यौनामा ल्यापटप । ऊ मोबाइलमा केही हेरिरहेको हुन्छ ।
“के गरिरहनु भएको छ ?”
“मानव जातिका लागि नयाँ भित्री आँखा–अन्तरचक्षु उजिल्याउने प्रयत्नमा लागिरहेको छु ।”
“कोठामा बसिरहेर पनि हुन्छ र ?”
“कोठामा नै सब आइपुग्छ । इन्टरनेटमा अहिलेसम्म मानव जातिले आर्जन गरेको ज्ञान, बिज्ञान र सफलताको अध्ययन गरिरहेको छु ।”
“के के पाउनु भयो त ?”
“अहिले त म मानव ज्ञान सागरको किनारामा मात्र पुगेको छु । सबै हेर्न र अलिअलि बुझ्न पनि पाँचवर्ष लाग्ने अनुमान गरेको छु । ब्याख्या विश्लेषणको आधारमा नयाँ दृष्टि दिने अन्तरचक्षुबारे सिलसिलेवार लेखोट तयार गर्न अरु पाँच वर्ष लाग्न सक्छ ।”
यो सुनिसकेपछि पाँच वर्ष पछि भेट्ने बाचा गरेर म बिदा हुन्छु ।
पाँच वर्षको अवधिमा विश्वमा कैयौं उथलपुथल हुन्छ । आणविक हतियारको तीव्र विकास भइरहेको छ । निरस्त्रीकरणको जति कुरा गरे पनि बिश्व सयौं पल्ट ध्वस्त गर्न सक्ने आणविक हतियार भण्डारण समुद्रमा गरिएको छ । नयाँ आविष्कारहरू भइरहेका छन् तर मानव कल्याण भन्दा बजार र नाफाका लागि । मानवता, भाइचारा र सहयोगात्मक भावना अर्धमुर्छित अवस्थामा पुगेको छ । यस्तो अवस्थामा मानव सुरक्षाका लागि पनि नौलो अन्तरचक्षुको आवश्यकता छ भन्ने लागेकोले उसको अन्तरचक्षुबारेका क्रियाकलाप अधैर्यका साथ हेरिरहेको हुन्छु र निष्कर्श पर्खि रहेको हुन्छु ।
पाँच वर्ष बितेपछि म उसलाई भेटेर सोध्छु “लेखिसक्नु भयो ?”
“लेख्न त थालेको छु तर पूरा भएको छैन । पूरा गर्न अझै केही वर्ष लाग्न सक्छ ।”
“जति लेख्नु भएको छ त्यसबारे जानकारी दिनु हुन्छ कि ?”
“अपुरो जानकारीको के काम ?”
“तैपनि पत्रिकामा छापेर त्यसबारे प्रतिक्रिया बुझ्दा तपाईँलाई पनि केही फिडब्याक होला ।”
“उसो भए हुन्छ ।” भनेर उसले करीब दुई सय पृष्टको लेखोटको प्रतिलिपी मलाई दिन्छ ।
...वाह्य आँखाले देखेको कुरा मात्र सत्य हुँदैन । अन्तरचक्षुले प्रकृतिको नियम देख्न सक्नु पर्छ ।.... ग्रह उपग्रह लगायत ब्रम्हाण्डका सबै पिण्डहरू आफ्नो आफ्नो नियममा बाँधिएर घुमिरहेका चलायमान छन् । ब्रम्हाण्डमा सौर्य जगतजस्ता अनगीन्ति जगत रहेका छन् जुन मानव ज्ञानले समेट्न सकेको छैन ।...
यस्तै कुरा र तर्कहरू रहेको उसको लेखोटमा मानिसहरूको भित्री अन्तरचक्षु खोलिएमा अनेकौ अन्तरचक्षीय नयाँ दृष्टि थपिएर नयाँ अभुतपूर्व अन्तरचक्षीय सृष्टिहरू हुन सक्ने दृष्टान्तहरू प्रस्तुत गरीएका हुन्छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रिकामा ती कुराहरू छापिनासाथ विश्वभरिबाट अनेकौं प्रतिक्रिया आउन थालेका हुन्छन् साथै अनेकौं अन्तरचक्षीय नयाँ सम्भावना भनेको के ? भन्ने प्रश्न आउछ । म अरु पाँच वर्ष पर्खने अनुरोध गर्दै जवाफ दिन्छु । अधैर्यतासाथ लेखक, पत्रकार, बिद्वान, बैज्ञानिक, बुद्धिजीवी र प्रयोगवादीहरू पर्खिरहेका हुन्छन् ।
पाँच वर्ष बित्न केही दिन मात्र बाँकि रहदा उसको मृत्यु भएको खबरले म लगायत लेखक, पत्रकार, बिद्वान, बैज्ञानिक, बुद्धिजीवी र प्रयोगवादीहरू मर्माहत हुन्छौँ । उसले अन्तरचक्षीय अनुसन्धान सैध्दान्तिक लेखोट पूरा ग¥यो ? म उसको घर पुग्छु । केही शोकाकुल मानिसहरू चुपचाप बसिरहेका हुन्छन् ।
म उसको सहयोगीलाई लिएर उसको कोठामा जान्छु । उसको सहयोगीलाई सोध्छु “उसको मृत्यु कसरी भयो ?”
शङ्कास्पद नै रहेको छ । उनी कोविद १९ संक्रमित बिरामीहरूलाई भेटिरहेका थिए । ल्याबहरूको कोविद १९ परिक्षणलाई पनि अन्तरचक्षीय ढाँचाबाट नियाली रहेका थिए । ती सबै अवलोकन पश्च्यात उनी कैयौ घन्टा कम्प्युटरमा काम गरिरहेका हुन्थे । सहयोगीको कुरा सुनेर मलाई लाग्छ— उसले कम्प्युटरमा उसले जीवनभरि गरेको खोज र साधनाको निर्काैल लेखोट गरेको हुनु पर्छ । त्यो रहेछ भने मानव युग एक कदम अगाडि बढ्ने छ । त्यो हेर्न हामी क्म्प्युटर खोल्छौँ, पासवर्डको अभावले फायलहरू खुल्दैनन् कि ! म डराइरहेको हुन्छु ।
पासवर्ड नहाली नै फायलहरू खुल्छन् । थुप्रै फायलहरू छन् तर सब रित्ता । फायलका म्याटरियल डिलिट गरिएको छ; ‘यो फायल रित्तो छ’ भन्ने सन्देश ! अन्तमा एउटा फायल रहन्छ । मेरो आशा त्यही फायलमा केन्द्रित छ ।
रित्तो नहोस्, उसको जीवभरिको परिश्रमको फल होस् ! मनमनै प्रार्थना गरिरहेको हुन्छु । नभन्दै त्यो फायल गड्याङ गुडुङ मेघगर्जनको चर्को आवाजका साथ खुल्छ । किरिङ मिरिङ विविध रङका असंख्य धर्काहरू, धर्काहरू, धर्काहरू मेटिदै ध्वाँसे थोप्लो बन्छ र फैलिन्छ । क्षण भरमै आकाशे नीलो, हरियो, रातो, कालो, सेतो थोप्लोहरू फनफनी घुम्दै घुम्दै साना नानीहरूका कलिला हातहरू बिदाइमा झैँ हल्लिएर हल्लिएर निमेशमै सहस्रौ असंख्य मुट्ठीहरू बन्दै तीव्र गतिमा मोनिटरभरि फैलिन्छन् । मुट्ठीहरू मुटुमा परिणत हुन्छन् । पाश्र्वमा मनमोहक मधुर सङ्गीत बज्न थाल्छ सायद त्यो सङ्गीत अरफियसले नै बजाएझैँ लाग्छ । लठ्ठ परेर झुमिरहेको हामी अकस्मात बम पडकेको आवाजले तर्सन्छौँ ।
एकआपसमा भावशून्य हेराहेर गर्छाैँ बेसुरमै । मुटु मुटु जताततै । मुटुहरू एक आपसमा जोडिएर ठूलो रातो मुटु आकारको पानको पात बन्छ । पानको पातभरि असंख्य तीर बर्सिन्छ । मुटुबाट रगत बग्छ, बगिरहेको रगत आँखा बन्छ आँखाबाट झरेको आँसु र मुटुबाट बगेको रगत मिसिएर ओठको मूस्कान पखालिरहेकै बेला कर्णकटु पाश्र्व धुनले मनै अमिलो बनाउछ । अचानक ती झल्याकझुलुक दृष्यहरूमा के छ ? म रोइरहेको हुन्छु भने सहयोगी खित्का छोडिछोडि हाँसिरहेका हुन्छन् ।
दृष्य परिवर्तन । कोरोना भाइरसका झैँ रङ्गिविरङ्गी गोलाकार थोप्लाहरूले विचित्र आकारहरू ग्रहण गर्दै मुटु मुटु देखिन्छ । ती मुटुहरू बम बन्छन् र पडकिन्छन् । म भन्छु “बम !” सहयोगी भन्छन “होइन । पूmल !” म उसलाई हेर्छु, आश्चर्यचकित ऊ मलाई हेरिरहन्छ मानौं हामी अचम्भको प्राणी हौँ । म अनुमान मात्र गर्न सक्छु मैले देखेको बम उसले फूल देखेको हुनु पर्छ ।
बम र फूल एकआपसमा ठोकिन्छन् । दुवै चकनाचुर भइ अल्पन्छन् तर फेरि देखा पर्छन्, ठोकिन्छन् । दुवै चकनाचुर भइ अल्पन्छन् तर फेरि देखा पर्छन्, ठोकिन्छन् । यो करिब एक सेकेण्ड दोहोरिन्छ होला तर हामीलाई त्यो हजारौं वर्ष दोहोरिएझैँ लाग्छ । मेरो मन भित्रैबाट भक्कानिएर आउँछ र फेरि म रोइरहेको हुन्छु भने सहयोगी खित्का छोडि छोडि हाँसिरहेका हुन्छन् ।
अब के देखिएला ? जे देखिए पनि हामी दुईले त्यहाँ देखिने दृश्य बेग्लाबेग्लै देखिरहेका हुन्छाँै । हामी बाहिरी आँखाले नभएर अन्तरचक्षुले देखिरहेका रहेछौँ र हाम्रो प्रतिक्रिया पनि बेग्लाबेग्लै भइरहेको रहेछ ।
झिलिक मिलिक अझै के के देखा परिरहेको हुन्छ । जे देखा परिरहे पनि हामीले हेर्न चाहेको कुरा देखिसकेकोले तृप्त भइसकेका हुन्छौँ ।
म सहयोगीको अनुमति लिएर त्यो दुई मिनटको क्लिप मेरो पेनड्राइभमा कपि गर्छु । यो क्लिप युट्युबमा राख्नासाथ विश्वभरका दर्शकहरूको ‘नयाँ आँखा— अन्तरचक्षु’बारे कस्तो प्रतिक्रिया होला ? यो क्लिप एउटै भए पनि कस कसले कस्तो कस्तो के के देख्लान् ?
त्यो क्लिप विश्वसामु पु¥याउन म हतारिएको छु ।
२०७६ मंसिर २, धरान
खराब सोचाइ
बढी भावुक कुनै कुनै समय म भई दिन्छु । असङ्गत र असम्बन्धित सोचाइहरू मगजभरी आउँछ । अझ दिनभरी काम नहुँदा र बात मार्ने साथी नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म आफैलाई समेत थाहा हुँदैन ।
यस्तै कल्पनामा उड्दै म चिसो हावाको खोजमा बाहिर निस्कन्छु । दोछायामा परेका बाङ्गा टिङ्गा लहराजस्ता छायाहरूले मलाई बिषालु साँपको भ्रममा पार्दछ । साँपले मलाई डस्छ, मेरो मृत्यु निश्चित छ, म केवल एक घण्टा बाच्छु, म झस्किन्छु, म यो एक घण्टाको जीवनमा के गर्छु ? अहा मलाई यो जीवनको मोह उब्जिन्छ, कति अमूल्यवान यो प्राण छ— अफशोच लाग्छ । तर कस्तो खराब बिचार यो मगजमा आउने गर्छ, मलाई साँपले डसेकै छैन । म सतर्क हुँदै आफ्नो मनको भ्रम निवारण गर्दै आफैलाई सम्झाउछु तर शङ्का उब्जिन्छ ।
केही दिन अगाडि माछाको तरकारी खाँदा ‘माछाको काँडा घाटीमा अडकिएर ठूला ठूला धेरै मानिसहरू मरेका छन्’ भन्ने सम्झदै खाईरहेको थिएँ । मेरो पनि घाटीमा काँडा अडकिन्छ, गाडिन्छ कि म निकाल्नै सक्तिनँ भन्ने सम्झदै बढि सतर्क भएर माछाको एक टुक्रा चपाई रहेको थिएँ, बेसुधमा निलेछु एउटा काँडा साँच्चै गाडिएको महसुस गरेंँ । घाटीमा होइन जिब्रोको जरामा जसलाई मैले निकै निकाल्ने प्रयत्न गरेंँ, हरेस खाएर डाक्टरकहाँ पुगेपछि मात्रै छुटकारा पाएँ । कस्तो साक्षात सोचाइ, त्यस्तै आजको खराब सोचाइ पनि साक्षात भयो भने !
केवल एक घण्टा !
मात्र एक घण्टाको मेरो जीवन । मेरा असख्य दायित्वहरू; एक घन्टाभित्र म के गर्छु ?
मेरा प्रियजनहरूको चेहरा मेरो आँखामा झुल्किन्छ । मेरो प्रिय पत्नी, एक वर्ष नपुगेको छोरो, भर्खर स्कूल जान लागेकी छोरी । बैँशले छाडेका मातापिता, भाईबहिनी सब ममाथि आश्रित छन् । आयु सिद्धिएको मृत्युको मुखमा भएको म उनीहरूलाई कस्तो सन्देश दिन्छु होला ।
पत्नीलाई— मेरो अभावमा तिम्रो सुखमा बाधा नपरोस् । तिमी विवाह अघि झैं स्वतन्त्र छौ, तर छोराछोरीलाई राम्रो लालन पालन गर्ने तिम्रो अभिभारा ।
मातापितालाई— दुःख नमान्नु नातिनातिनीको चेहरामा मेरो अपूर्णताहरु पूर्ण भएको हेरेर सन्तोष गर्नु ।
भाईबहिनीलाई— सधैं उन्नति र श्रम गरेर जीवनको उज्यालोले धरतीलाई आलोकित पार्नु ।
छोराछोरीलाई— आमालाई नसताउनु । मेरो अधुरा कामहरू पुरा गर्नु । मेरो हार्दिक कामना र आशिर्वाद ।
साच्चै म यस्तै कामनाहरू व्यक्त गर्छु होला त । विवादास्पद कामनाहरू म आफै शङ्का गर्छु, म त्यति महान् भएर त्यस प्रकारको कामना सायद गर्न सक्तिनँ । यदि गरिहालेँ भने पनि बाँच्नेहरूले मेरो सन्देशको पालना गर्न सक्ने छैनन् र त्यसभन्दा बेग्लै प्रकारको इच्छा पनि सायद म व्यक्त गर्न सक्तिनँ । मेरो पत्नीलाई मैले स्वतन्त्रता दिएँ, सुख बृद्धिको कामना साथै छोराछोरीको लालनपालनको अभिभारा सुम्पँे तर्कसङ्गत छैन, व्यवहारमा साकार हुन् सक्तैन । त्यस्तै अरूप्रतिको मेरो इच्छा पनि ।
जसलाई पहिले आफ्नो मृत्युको निश्चितता थाहा भएको हुन्छ, उनीहरूले पनि यस्तै इच्छा व्यक्त गर्छन त । अँ ह मलाई थाहा छैन । बेग्लाबेग्लै इच्छा बेग्लाबेग्लै मानिसहरूले व्यक्त गरेका छन् जुन इच्छाहरूले वास्तवमा उनीहरूको जीवनको इच्छाको पूर्णताको झलक दिन सक्तैन । इच्छा, संन्देश ,कामना सधैं अधुरो हुन्छ जसमा गर्नेको आदर्श पूर्णतया प्रतिविम्वित हुनै सक्तैन । आदर्श प्राप्ति त बाँचेर निरन्तर सङ्घर्ष गर्दा केहि अंश अंशमा प्राप्त हुने वस्तु हो । साँच्चै म पनि मात्र एकै घण्टा बाँच्ने भए भने ...
बाँच्ने अभिलाषा, जीवनप्रति मोह, स्नेह, विरक्ति, खिन्नताको भावहरूले भरिएको मेरो चेहरालाई हेरेर मेरा प्रियजनहरूको आँखामा आँसु ढलपल भएको देख्दा म यी सन्देशहरू सायद भन्न सक्तिनँ होला । अनि मलाई जीवनप्रति अगाध, असीम, अतुलनीय मोह उब्जेर एउटै मात्र चित्कार गर्न पुग्छु होला — मलाई बचाऊ, म बाँच्न चाहन्छु ।
सायद म बाँच्दिन भन्ने थाहा भएर पनि बाँच्दिन वा बाँच्छु कि भन्ने आफ्नै विषयमा सोच्दा र बाँच्ने प्रयत्न गर्दागर्दै सायद अरु कसैको बारेमा सोच्नै पो सक्दिन कि ? आफ्नै बारेमा मात्र सोच्दासोच्दै मेरो प्राण पखेरु उडी हाल्छ कि ?....
म अझै कति वर्ष बाँच्छु, छिः कस्तो दुःखदायी खराब सोचाइ !
(२०३८ साल)
खल्लो ममता
“म पैसा कमाएर आउँछु ।”
ऊ पाँच वर्षको हुँदा आमाले आँखाभरि आँसु पारेर जानेबेला भनेकी कुरा उसले कहिल्यै बिर्सन सकेन । बाल्यकालभरि सधैं सम्झिरह्यो, सम्झिरह्यो । सम्झदासम्झदा ढुङ्गामा खोपिएको अक्षरझैँ उसको बाल मष्तिस्कमा अमिट भई बसेको हुँदा जीवनपर्यन्त बिर्सन सकेन ।
आमा बुबाको कानुनी रूपमा नै लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद भइसकेको कुरा सानो छोरोलाई के थाहा ? आमा गइसकेपछि एक्लो पिताले एकापट्टिको काँधमा उसलाई र अर्कोपट्टिको काँधमा झोला बोकेर डुलाएको उसलाई हिजै जस्तो लाग्छ ।
बाल्यकालमा ऊ प्रत्येक बेलुकि आमा आएकी छिन् कि भनेर स्कुलबाट फर्केपछि घरभरि खोज्थ्यो । आमा आउछिन् भनेर सदैव पर्खाइमा हुन्थ्यो ।
कोपाकोमा (बाजेबोजु), देवा (बडाबा) र अरु परिवार सहरमा बस्थे भने आमा, बुबा र ऊ तीनजना देहातको खेतीमा बस्थे । आमाले छाडेपछि ऊ र पिता दुईजना मात्र एक्लो भए । गाउँघरको चलन, उसमाथि आमाले छाडेको उसलाई सबैले माया गरेर खानेकुरा दिन्थे । घरमा आमा नभए पनि ऊ कहिल्यै भोको हुँदैनथ्यो । पिताले पनि राम्ररी नै स्याहारीरहेका थिए ।
आमाले पहिला डुलाएको ठाउँहरू मावलीघर, पहाडको चियाबारी र अन्य ठाउँहरूमा आमालाई खोज्नका लागि ऊ जान चाहन्थ्यो । उसले जिद्दि गरेपछि पिताले उसलाई चियाबारी र अन्य ठाउँहरूमा लगे । ती ठाउँहरूमा आमा भेटिएन । मावलीघर भने पिताले लगेनन् । मावलीघर वा अन्य कुनै ठाउँमा आमा होलिन् भन्ने उसलाई लागिरहन्थ्यो ।
खेतीमा बाबु छोरा दुईजना मात्र एक्लो भएकाले उनीहरू पनि सहरमा कोपा, कोमा र देवाहरूसँगै बस्न थाले । ऊ स्कूल पनि सहरमा नै पढ्न थाल्यो । त्यो बेला उसलाई लागिरहन्थ्यो कतै आमा गाउँखेतीको घरमा आएकी छन् कि ?
दिनभर ऊ स्कुलमा र घरमा दाजुभाई, दिदी र साथीहरूसँग बस्थ्यो । रात परेपछि भने बाबुसँग बस्थ्यो । उसलाई डर लागिरहेको हुन्थ्यो— कतै बाबुले पनि आमाले जस्तै छाडेर जाने हो कि ! साझ पर्नासाथ “बाबु, बाबु” भन्दै रुन थाल्थ्यो । पिता खोज्न थाल्थ्यो ।
“उसको बाबुले कान्छी बिहे गर्छ नै होला । बिहे नगरुन्जेल बुबासँग बसे पनि पछि त उसले एक्लै बाँच्ने सङ्घर्ष गर्नैपर्छ ।” कोपा(बाजे)ले भनेका थिए्, “बरु बोर्डिङ्ग स्क्लमा बोर्डस राखौँ ।”
“म बाँचुन्जेल हामीसँगै बस्छ । पारिवारीक माया मोह पाउने उसको हक हो ।” कोमा(बोजु)ले कोपाको कुरा प्रतिपाद गर्दै भनेकी थिइन्, “पाँच वर्षसम्म आमाको माया चाखेको ऊ मायाको अभावमा न्यास्रिनु सक्छ । हामी सबै परिवारसँग बसेमा पारिवारिक माया पाएर केही हदसम्म ममताको अभाव क्षतिपूर्ति हुन सक्छ ।”
ऊ कोमासँग निक्कै झ्याम्मिएको थियो । कोमा पनि ऊसँग उसकी आमाको कुरा गर्न मन पराउथिन् । सत्य कुरा उसले पनि झेल्न सकोस् भनेर कोमाले भनिन्, “तेरी आमा मरि । मरेको मान्छे फर्केर आउदैन ।”
चुकझैँ उसको अनुहार कालो भएको थियो । निराशाको अँध्यारोमा ऊ डुबेको देखेर कोमाले भनेकी थिई— “हामी छौँ, तँलाई आमाले छोडेको टुहुरा हुन दिदँैनौँ ।”
धेरैबेर झोक्राएर बसेपछि उसले सोधेको थियो—“कोमा, मेरी आमा मरेकी कि पोइल गएकी ? साथीहरू पोइल गएकी भन्छन् ।”
“तेरो लागि दुवै कुरा एउटै भयो ।” कोमाले भनेकी थिइन् ।
“पोइल गएकी भए त आमा फर्केर आउछिन् होला नि ।” उसको अनुहारमा अलिकति आशाको उज्यालो चम्किएको थियो । कोमालाई लागेको थियो उसले आमालाई बिर्सन सत्तैmन । हो पनि त्यही उमेरमा सबैभन्दा बढी आमा चाहिन्छ ।
उसलाई बोर्डस राख्ने कुरा थाति रहन्छ, परिवारभित्रै बसेर कोपाकोमा, देवादेमा(बडाबाबडीआमा), दाजुदिदी, भाईबहिनीहरूसँगै ऊ हुर्कदै जान्छ । त्यस्तो वातावरणले उसलाई आमा बिर्सन केही मद्दत गरे पनि उसको हृदयको अन्तरकुन्तरमा आमा टाँसिएर रहेकै हुन्छ । ‘आमा आउछिन्’ भन्ने आशमा उसको केटाकेटी उमेर पर्खाइमै बितेर जान्छ ।
तन्नेरी भएपछि उसलाई थाहा हुन्छ आमा अर्को मान्छेसँग पोइल गएकी रहिछिन् । आमालाई बिर्सन कर लाग्छ, बिर्सने कोसिस गर्छ तर पनि आमा हो, बिर्सन सक्तैन । समय क्रममा ऊ ठूलो हुन्छ । उसकोे पनि आफ्नो परिवार हुन्छ । कडा मिहिनेत गरेर समाजमा आपूmलाई स्थापित गर्छ । सम्पत्ति पनि निकै कमाउँछ ।
‘पैसा कमाएर आउँछु’ भन्ने आमालाई चेतन, अर्धचेतन अवस्थामा त सम्झन्थ्योसम्झन्थ्यो अवचेतन मनले पनि सम्झिरहेकैले होला सपनामा पनि आमालाई देखिरहन्थ्यो । प्रत्येक स्वास्नीमान्छेहरूलाई देख्दा आमा हो कि भनि कल्पिन्थ्यो । आफ्नो रमाइला–नरमाइला, सुख–दुःख, सफलता–असफलता, हर्ष–विस्मात, सङ्कट–विपद र सङ्घर्षका हरेक क्षणहरूमा आमा सम्झन्थ्यो । आमाको पर्खाइमा छटपटिन्थ्यो, ‘आमा आउछिन्’ भन्ने पर्खाइमा उसको बाल्यकाल बित्यो, युवाकाल बित्यो । उसको एक युग बित्यो ।
दाम्पत्य जीवनमा जीवन साथी सर्वप्रिय भएझैँ बाल्यकालमा नानीहरूका लागि आमा सर्वप्रिय हुन्छ ।
जीवन हो । आमाले छोडेर गएपछि बाल्यकाल स्वाभाविक सप्तरङ्गी हुन सकेन । बालखको लागि सबैभन्दा सुरक्षित सुखदायी आमाको काख र न्यानो ममता नपाएपछि उसको बाल्यकाल घुर्मैलो नौरङ्गी पाराले नै बित्यो ।
समय हो । सुख दुःख राम्रो नराम्रो जस्तोसुकै अवस्थामा पनि नदीजस्तै जीवन जसरी पनि आफ्नै गतिमा बग्छ ... आमा भएको भए समय पनि अर्कै पाराले बगेको हुन्थ्यो कि !
‘आमा भएको भए सप्तरङ्गी रूपले बित्थ्यो कि !’ ऊ कल्पन्छ !
एक साझ उसको मोबाइलमा कल आउछ, अज्ञात नम्बर ।
“कोङहाङ, म तिम्री आमा बोल्दै छु, जीवनपर्यन्त तिमीलाई सम्झिरहेँ । भेट्न चाहेँ तर लोकलाजले गर्दा सकिनँ । आज लोकलाज पचाएर तिमीलाई भेट्न आइरहेकी छु । केही बेरमा आइपुग्छु ।” रुवाइले आवाज अवरुद्ध हुन्छ ।
ऊ व्यग्रतासाथ प्रतीक्षा गरिरहेको हुन्छ । उसले ज्ञात अज्ञात मनको अन्तरकुन्तरबाट जीवनभर प्रतीक्षा गरेको ‘आमा हो ?!’ आश्चर्य, विस्मात, माया, मोह, पे्रमस्नेह, सम्मानश्रद्धा, अपनत्वआत्मियता, आनन्दउत्साह आदि अनेकौं भावहरूको हुन्डरी एकसाथ ऊभित्र चल्छ । भेट्न तयार हुन्छ तर सम्झन्छ— समय बितिसकेको छ । दुःखको कुरो... अब कसैले त्यो बितेको समयलाई फर्काउन सत्तैmन । सेक्रेटरीले उसलाई खबर गर्छ “आमा भेट्न आउनुभएको छ ।”
ऊ रुन थालेको हुन्छ थाहै नपाई । नोटको गड्डीले एउटा ठूलो ब्याग भर्छ र त्यो ब्याग सेक्रेटरीलाई दिएर भन्छ “यो ब्याग आमालाई देऊ र भन कार्यव्यस्तताले गर्दा मलाई आमाले भेट्न सक्नुहुन्न ।”
सेक्रेटरीलाई अराएर कोङहाङ आमालाई नभेटि जस्केलोबाट निस्केर हिँडिहाल्छ । चाहिएको बेला नपाइएको ममता अब के काम ? खल्लो ममता... जीवनभर बिर्सन नसकेको आमा ! कोङहाङ आमालाई भेट्दैन र भेट्न पनि चाहदैन । तर जीवनभर ममताको अभाव... ममताको अभाव सम्झेर आँसु भने उसको आँखाबाट तुरुक्क चुहुन्छ !
२०७४।११। १४, सुमेरु अस्पताल, धापाखेल , ललितपुर
.
सम्बन्ध
अन्तरवार्ता सुरु हुनु अगावै सबै प्रत्यासीहरू उपस्थित भइसकेका हुन्छन् । उनीहरू एउटा वृद्ध मानिस स्याहार्ने महिला सेविकाको लागि अन्तरवार्ता दिन आएका हुन्छन् । महिला सेविकाबारे विज्ञापन यस्तो हुन्छ ।
आवश्यकता
वृद्ध मानिसका लागि महिला सेविका एक जना
वार्षिक तलबःः—
पहिलो वर्ष – रू.१०लाख, सेवाकार्य सन्तोषजनक भएमा प्रति वर्ष तलब २५प्रतिसतका दरले बढ्ने छ ।
महिला सेविकाले वृद्ध मानिससँगै बस्नु पर्नै छ । खाना, बस्न र अन्य आवश्यक सुबिधाहरू उपलब्ध हुने छ । अन्तरवार्ताबाट छनोट भएको हप्ता दिनभित्र काम थाल्नु पर्नेछ ।
अन्तरवार्ताका लागि आउने जाने यातायात र दुई दिन बस्ने खर्च पनि उपलब्ध गराइने भएकोले नुवाक्मा निकै टाढाबाट आएकी हुन्छिन् । १७÷१८वर्ष देखि ५६वर्ष उमेर सम्मका ३१ जना महिलाहरू अन्तरवार्ताका लागि उपस्थित भएका छन् ।
अन्तरवार्ता लिने दुईजना अधवैंसे महिलाहरू र एकजना वृद्ध पुरुष गरि तीनजना हुन्छन् । ती वृद्ध पुरुषकै लागि महिला सेविका चाहिएको हो ।
अन्तरवार्तामा एक एकजनालाई बोलाएर सोधिन्छ । नाम, उमेर, कामको अनुभव र किन सेविकाको काम गर्न चाहनु हुन्छ ? सबैको मिल्दोजुल्दो जवाफ— तलब र सुबिधा । तर एकजना नुवाक्माको जवाफ भने फरक हुन्छ । नाम– नुवाक्मा, उमेर–५६वर्ष, कामको अनुभव– पतिद्वारा परित्यक्ता, एक छोराको आमा तर छोराको ११वर्षको उमेरमा अकाल मृत्यु । त्यसपछि माइतीमा फर्केर विधुर बाबुको १५वर्ष सेवा गरेको । हाल बुबाको देहान्तपछि महिला सेविकाको सेवाकार्य गर्न तयार रहेको ।
अन्तरवार्तामा नुवाक्मा चयन भइन् । नुवाक्मालाई वृद्ध मानिस सोध्छन्—“कहिलेदेखि आउने ?”
“अहिले देखि नै म काम गर्न सक्छु ।”
ती वृद्ध मानिस खुसी भएर नुवाक्मालाई आपूmसँगै कारमा चढाएर आफ्नो घर लैजान्छन् । वृद्ध व्यक्ति ७१ वर्षका रहेछन् । उनका छोराछोरी विदेशमा बस्तारहेछन् । ६महिना अगाडि मात्र वृद्ध व्यक्तिका पत्नीको देहावसान भएकोले एक्लै भएका उनलाई रेखदेख गर्न महिला सेविकाको आवश्यकता परेको रहेछ ।
वृद्धले बाटामै आफ्नो परिचय दिए— “नामः रणसेर । पत्नीको ६ महिना अगाडि देहान्त भएकोले एक्लो वृद्ध । सप्तरङ्ग हराएको नौरङ्गी एकल जीवन ! छोराछोरी विदेशमा । महिला सेविकाबाट ऊ के चाहन्छ ? पत्नीको मृत्युपछि उत्पन्न बिरह, पीडा र वैराग्यबाट मुक्ति । केही दिन शेष रहेको जीवनमा मित्रवत सहारा ।” सुक्कसुक्क रुँदै उनले भने “म यी कुराहरू तपाईँबाट चाहन्छु ।”
“म कोसिस गर्ने छु ।” नुवाक्मा जवाफ दिन्छे । “रोजगारदाता, अन्नदाताको सेवा गर्नु सेविकाको कर्तव्य हुन्छ ।”
ठूलो फराकिलो घर, नोकर चाकरहरूले भरिपूर्ण तर वृद्धसँग बस्ने आफन्त, हितैषी वा आत्मीय जन कोही छैन । सन्तानहरू विदेशमा छन्, आउने सम्भावना छैन । त्यसैले गर्दा सेविकाको आवश्यकता भएको रहेछ ।
एक जना नोकरले खाजा लिएर आउछ । खाजा नुवाक्मालाई पनि दिइन्छ । खाजा खाँदै रणसेर भन्छन्— “अब हामीले सँगसँगै बस्नु पर्छ । धक नमान्नुहोस्, म पिताजस्तो मान्छेसित । बरु आफ्नो बारे बताउनुहोस् । तपाईँको पति अहिले कहाँ छन् ?”
“ऊ ? अहिले कान्छी बिहे गरेर कान्छीबाट जन्मेका सन्तानहरूका साथ बसेको छ ।”
“उनीकहाँ तपाईँ फर्केर जानु हुन्न ?”
“उसले मलाई छोडेको पनि बीस वर्ष भइसक्यो । फर्केर जाने कुरै आउदैन । बरु तपाईँ मलाई तिमी भन्नुहोस् !”
“हुन्छ । यो घरको तौरतरिका केही दिनमा सिक्न सक्छौ । मसँग बस्दा धक मान्नु पर्दैन । मैले तिमीलाई मन पराएर नै छानेको हुँ, यदि तिमीलाई यहाँ बस्न मन परेनभने कुनै बेला पनि जान सक्छौ ।” रणसेर भन्छन् ।
“हेर्दै जाऊँ । भरसक मैले त्यसरी जाने दिन नआओस् !” तिनको जवाफ सुनेर रणसेर पत्नीको मृत्युपछि पहिलो पटक मुस्कुराउँछन् ।
महिला सेविका नुवाक्माको सेवा पाएर रणसेरको एकल जीवनको पीडा छटपटाहट बिस्तारै कम भइरहेको हुन्छ । उनकै चाहना अनुसार सेविका र उनी एउटै कोठाको वरपर रहेको दुईवटा फरक फरक बिछ्यौनामा सुत्छन् ।
बिहानै उठाउने, चिया खाजा खुवाउने, ठीक समयमा औषधि दिने खुवाउने अनि प्रातः भ्रमणमा लैजाने र हप्ताको तीन पटक कारखाना लगेर कारखानाको स्थिति बुझेर म्यानेजर र अन्यलाई आवश्यक निर्देशन दिने र बेलुकि हल्का व्यायाम गराउने दैनिक काम नुवाक्माको हुन्छ । रणसेरले चाहेको बेला सँगसँगै बसेर गफिनु पनि तिनको कामकै अङ्ग मानिन्छ । यसरी गफिदा वृद्ध भन्छन्— “तिमीलाई थाहा छ ? किन मैले तिमीलाई रोजेँ ?”
“अँ हँ, बताउनु भएकै छैन । कसरी थाहा पाउने ?”
“तिम्रो उमेर त्यहाँ भएकामध्ये सबैभन्दा बढी थियो । म पाको सेविका चाहन्थे । त्योभन्दा पनि अर्को मलाई मन परेको तिम्रो रूप थियो जुन मेरी स्व. पत्नीसित अलिअलि मेल खान्छ । शरीरको बनोट मिल्दोजुल्दो भएकोले तिमीलाई देख्दा म झस्किएको थिएँ— कतै तिमी उसकी साख्खे बहिनी त होइनौ ?”
“ह ह ह..हाहा...। मीठासयुक्त कुरा ! तपाईँको पत्नीलाई मैले देखेको छैन र म भन्न सक्तिनँ । उनी र मेरो के के मिल्छ ? तर एउटा कुरा भने पक्कै मिल्छ त्यो भनेको चाहीँ हामी दुवै स्वास्नीमान्छे हाँै ।”
“हा..हा..हा..” रणसेर पनि हाँस्छन् । यसरी ती दुई सँगसँगै बसिरहदा उठबस गरिरहदाँ एकापसमा आत्मीयता विकास भइसकेको हुन्छ । एकले अर्काको अस्तित्व स्वीकार्न थालेको सहज अवस्था बन्न थाल्छ थाहै नपाई । एक अर्काको अनुपस्थितिमा अर्काको अभाव पनि महसुस हुन थालेको हन्छ ।
रणसेरलाई नुहाइधुवाइ गर्ने जिम्मा पनि सेविका नुवाक्माकै हुन्छ । बाथठबमा नाङ्गै नुहाउने पश्चिमा प्रचलन धनी मानिसहरूमा हुन्छ । साबुन दल्ने, मैला माड्ने र तौलियाले आङ पुछ्दा भित्री अङ्ग छोइनु सामान्य भए पनि कुनै बेला दुवैजना उत्तेजित पनि हुने गर्छन् जुन स्वास्थ मानिसको शारीरिक स्वाभाविक प्रक्रियाभित्र नै पर्दछ ।
पत्तै नपाई एक वर्ष बित्छ । दोस्रो वषर््ाको दोस्रो दिन नुवाक्माको नाममा जम्मा भएको रकमको बैंक स्टेटमेन्ट आउँछ । पूरा दसलाख र ब्याज पचास हजार समेत हुन्छ । गरिबीको कारण पतिले छोडेको साथै आफ्नो एउटा सानो छोरो पनि खर्चको अभाव भई अकाल मृत्युवरण गर्न पुगेको नमीठो अनुभव... तिनको अाँखामा आँसु टिलपिल गर्छ । आफ्नो गाउँ नजिक रहेको बाल अस्पतालमा गरिब आमाका साना नानीहरू खर्चको अभावमा अकालमा नमरुन् भनेर आफूले पाएको तलब त्यता पठाउछिन् ।
रणसेर र नुवाक्माको सम्बन्ध । रहदै बस्दा हर प्रकारका मानवीय सम्बन्ध बाबु छोरीको, दाजु बहिनीको, साथी साथीको, प्रेमी प्रेमिकाको साथै लोग्ने स्वास्नीको सम्बन्ध पनि नजानिदो किसिमले दुवैले अज्ञात मनको भित्री तहमा महसुस गर्न थालेका हुन्छन् ।
विशेष गरेर नुहाइ धुवाइ गर्दा दुवै जना अन्जान अवस्थामा उत्तेजित हुँदा लोग्ने स्वास्नीको सम्बन्ध चाहना अनुभूत गर्न पुग्छन् । यस्तो अनुभव हुन थालेपछि रणसेर सोध्छन्— “भियाग्रा खाऊँ ?”
“के हो भियाग्रा ?”
“यौन उत्तेजक दबाई ।”
“छिः ऽ... खानुहोस् ।”
उनीहरूको सम्बन्ध एक स्तर माथि उक्लन्छ ।
रणसेर र नुवाक्माले दस वर्ष बितेको थाहै पाएनन् । रणसेर पाँच वर्षभन्दा बढि बाँच्तैनन् होला भन्ने स्वयं रणसेरलाई नै लागेको थियो । दस वर्ष बाँचेको खुशियालीमा उनले ठूलै भोज पार्टिको आयोजना गर्छन् ।
पैसा जीवनको मोहभन्दा कदापि ठूलो हुन सक्तैन । रणसेरका लागि नुवाक्मा प्राणप्रिय हुिन्छन् । पैसा के हो र ! नुवाक्मा पनि आफूले आर्जेको सबै रकम गरिब नानीहरूका उपचारका लागि बाल अस्पताललाई पठाइ रहेकी हुन्छिन् ।
रणसेर नुवाक्माका साथ बसेको दस वर्ष दुई महिनामा बिरामी हुन्छन् । जीवनको अन्तिम आयाममा पुगेको अनुभूति हुन थालेको हुन्छ । नुवाक्मा पनि ६६ वर्ष पुगिसकेकी छिन् ।
रणसेर नुवाक्मालाई बोलाउछन्— “न..नुवा ! नुवाक्मा !”
“हजुर ..”
“मलाई यो दसवर्षे जीवन तिमीले दिएकी हौ । धेरै आभारी छु ...। नुवा, म अब बाँच्तिनँ... । ”
“त्यस्तो सोच्नु हुँदैन । त्यस्तो भन्नु हुँदैन ।” नुवाक्माको आँखा टिलपिल हुन्छ ।
“यो सोच होइन, यथार्थ हो । मर्नुभन्दा अगाडि मलाई तिमीले रन्से भनेर बोलाएको सुन्ने मन छ मलाई अम्बु रन्से भनेर बोलाउथिन् । रन्से भनेर बोलाऊ ...।”
“रन्से, मेरो .. ।”
“के ? नुवा, धक नमानि भन ।”
“मेरो सर्वस्व !”
“मर्नुभन्दा अगाडि मैले सबै व्यवस्था मिलाएको छु । मेरो अन्तिम इच्छा अन्तिम अनुरोध ... मैले भनेका मान ।”
“के हो त्यो ?”
“मान्छौ भने बाहिर बसेको वकिललाई बोलाऊ !”
वकिल र उनका सहायकहरू आउँछन् । कागज पढेर सुनाउछन् । रणसेरको सबै चलअचल सम्पत्ति नुवाक्माको नाममा सारिएको लिखत रहेछ ।
रणसेरको मृत्युपछि नुवाक्माले रणसेरबाट पाएको सम्पूर्ण सम्पत्तिको ‘रन्से वृद्धाश्रम ट्रष्ट’ निर्माण गर्छिन् र रन्से वृद्धाश्रम सञ्चालन गर्छिन् । आजीवन त्यहाँ बस्ने अठोटकासाथ रन्सेको सम्झनामा वृद्धहरूको सेवा गर्दै तिनी त्यहाँ बसिरहेकी छिन् । तिनले आफ्नो एक मात्र जन्मेको र एघार वर्षको उमेरमा मरेको सन्तान छोरो सानुलाई कहिल्यै बिर्सन सकिनन् र एकान्तमा त्यसको सम्झनामा कति आँसु चुहाइन् तिनी बाहेक कसैलाई थाहा छैन ।
औषधि उपचार नपाई मृत भएको आफ्नो छोरा सानुको स्मृतिमा गरिब टुहुरा आफन्त गुमाएका साना बालबालिकाहरूका लागि ‘सानु बाल गृह’ पनि ‘रन्से वृद्धाश्रम’सँगै नुवाक्माले सञ्चालन गर्न थालेकी छिन् ।
२०७५।९।२६, धरान
भावी साहित्य
“..... बाँच्नु ठूलो कुरा रहेछ । अहिलसम्म बाँचिरहेको हुनाले नै वर्तमान युगको अनौठो, उत्तेजक र मनमोहक नयाँ नयाँ कुराहरू हेर्न पाएको छु, प्रयोग, उपयोग वा उपभोग गर्न पाएको छु । हामी २२५वर्ष बाँच्छौँ ।” पाँचौँ पुस्ते टेलिभिजन पत्रकार भन्छन् ।
“तपाईंको दृष्टिमा नयाँ कुराहरू के के हुन् ?” म ब्रह्माण्डभर प्रसारण भइरहेको पाँचौँ पुस्ते टेलिभिजन पत्रकारलाई सोधिरहेको हुन्छु ।
“नयाँ कुराहरूमा अहिले जुन ‘कम्प्युटराज्ड फिप्ट जी ट्रासफरमेसन टी.भी. मेथोडोलोजी’ अन्तर्गत तपाईं र म प्रत्यक्ष हेराहेर गर्दै सँगैसँगै बसेजस्तो गरी कुराकानी गरिरहेका छौँ, जबकि तपाईं र म कैयौं प्रकाश वर्ष माइल टाढा छौँ । यो पनि एउटा हो । म अच्छा राई ‘रसिक’ जो २४ वर्ष बाँचे, गनुसिंह गुरुङ र जोन किट्स दुबै २६ वर्ष मात्र बाँचे, मोतिराम भट्ट ३१ वर्ष मात्र बाँचे, डायमण्ड समसेर राणा ९३ वर्ष बाँचे, उनीहरू जति मात्र बाँचेको भए ब्रह्माण्ड विख्यात साहित्यकारको रूपमा तपाईंसित अहिले कुरा गरिरहेको हुन्नथे । त्यसैले बाँच्नु ठूलो कुरा रहेछ, भनेको हुँ ।”
“अहिले तपाईंको उमेर कति भयो ?”
“अहिले म १५९ वर्षको उमेरमा छु । आउने महिनापछि १६० मा लाग्ने छु । अहिलेको वर्तमान पिँढीको औसत उमेर २२५ वर्ष भएको हुँदा अझै अरू ६५ वर्ष बाँच्नेछु भन्ने आशा गर्छु ।”
“तपाईंको अनुहार र शारिरीक बनोट हेर्दा तपाईंको उमेर २२÷२३ वर्ष जस्तो मात्र देखिन्छ, १५९ वर्ष जस्तो लाग्दैन । अझै अरू ६५ वर्ष बाँच्छु भनिरहनु भएको छ त्यसको आधार र विश्वासनीयता के हो ?”
“१५९ वर्षको उमेरमा पनि २२÷२३ वर्षको जस्तै देखिनुमा वैज्ञानिक आविष्कार, प्रगति र प्रविधिको योगदान हो । रक्तकोषमा रहेका टेलिमोर, डि.एन.ए. को राइबोजोम, क्लोनिङ, क्वान्टम भौतिकी, डार्क इनर्जीजस्ता अनेकौं सफल आविष्कारहरूले मानव जातिलाई बाँचुन्जेल सधैँ युवा बनाई राख्न सकेको छ । म अरू ६५ वर्ष बाँच्छु भन्नुको आधार स्वास्थ्य विज्ञानको प्रगति हो । तपाईंहरू जस्ता सामान्य गोली, बम वा हतियारको प्रयोगबाट हामी मर्दैनौं । विकीरण ठोसी क्षेपास्त्रीक गोली वा बमबाट मात्र हामी मर्छौँ । तर त्यो भयङ्कर सर्वनाशी क्षेपास्त्रीक शस्त्रको दुरूपयोग हुँदैन । कारण त्यस्तो शस्त्र प्रयोग गर्ने व्यक्ति पनि क्षेपास्त्रको बिस्फोटसँगै आत्मघाती भई नष्ट हुने भएकोले ती हतियारहरूको प्रयोग असम्भवजस्तै हुन्छ । हाम्रो पिँढीको औसत आयु २२५ वर्ष भए पनि वैज्ञानिकहरू मानिसको औसत आयु बढाउने कार्यमा निरन्तर लागि परेका छन् । उनीहरूको भनाइअनुसार अबको १०० वर्षपछि औसत आयु ३०० वर्ष हुनेछ ।”
“यसरी मानिसको आयु बढिरहँदा त जनसङ्ख्या बृद्धिको विकराल सङ्कट आउँदैन र ? खाद्यान्न अभाव हुँदैन र ?”
“खाद्यान्नमा पनि सुधार भइसकेको छ । तपाईंहरूको पिँढीले प्रत्येक दिन अन्न खानु पर्दछ भने हाम्रो पिँढीका अर्थात् २२५ वर्ष आयुवाला पिँढीले एक महिनामा एक दिन मात्र अन्न वा आहारा खाए हुन्छ । अबको सय वर्षपछि ४५ दिनमा एकपल्ट मात्र खाएर मानिस बाँच्न सक्ने हुनेछ ।”
“अब तपाईंँको साहित्यिक कृतिहरूबारे चर्चा गरौँ । तपार्इँंको पहिलो कृति कहिले प्रकाशित भयो ?”
“मेरो पहिलो कृति १०८ वर्षको उमेरमा प्रकाशित भएको हो । मैले लेख्न पनि ९९ वर्षको उमेरपछि मात्र थालेको हुँ । त्यसैले डायमण्ड समसेरको उमेरसम्म मात्र बाँचेको भए म साहित्यकार हुन्नथे, भनेको हुँ ।”
आजभन्दा १००० वर्ष पछाडिका साहित्यकारसँग म टी.भी. अन्तर्वार्ता लिइरहेको छु । यो अन्तर्वार्ताको व्यवस्था पनि साहित्यसम्बद्ध संस्था र सरकारले गरेका हुन् । उनीहरूले साहित्य प्रस्तुति गर्दा ‘१००० वर्ष अगाडिको साहित्यकारसँग प्रत्यक्ष सम्बन्ध राख्दा साहित्य प्रस्ुतति कस्तो हुन्छ ?’ भन्ने उनीहरूको जिज्ञाशाले गर्दा यो कार्यक्रम सम्भव भएको हो । उनीहरूको भनाइअनुसार उनीहरू समयअपरिमित ‘क्वान्टम’ भौतिकीको सहायताले उनीहरूको पिँढीभन्दा हजारौं वर्ष पहिलेका वा पछाडिका पिँढीहरूसँग प्रत्यक्ष सम्बन्ध राख्न सक्छन् रे । अहिले उनीहरूले मलाई सम्पर्क बिन्दु बनाएर १००० वर्ष अगाडिको म मार्फत आफ्नो साहित्यको प्रस्तुति गरिरहेका छन् । उनीहरूको साहित्य प्रस्तुति पनि लेखक, पाठक, श्रोता अथवा दर्शक सबैलाई ‘लेखकीय बिग क्रन्च पद्धति’ प्रयोग गरेर पाठक, श्रोता वा दर्शक रचनाको विषयसँगै बहकिने, बग्ने भएर लेखकसँग एकाकार हुन्छन् । रचनाकार र पाठकबीच सुमधुर एकात्मकता हुन्छ, तादात्म्यता कायम भएर भावनाको उडानमा सँगसँगै हुन्छन् रे । उनी मलाई यो बताइरहेका हुन्छन् । उनीहरूको युग अथवा २२५ वर्ष आयुवाला भावी मानिसहरूका ती साहित्यकार उनले लेखेको ‘कलात्मक साहित्य प्रस्तुति’ मलाई पढ्न दिन्छन् र म त्यो पढिरहेको छु ।
त्यो पढ्दा मलाई अनौठो लाग्छ, कतिपय शब्द बुझ्दिनँ । लाग्छ त्यो स्वैरकल्पना हो, यथार्थसँग मेल नखाने रचना । मलाई कुनै चाख हुँदैन र भन्छु, “यो स्वैरकाल्पनिक रचना रहेछ । मैले धेरै जसो बुझ्न पनि सकिनँ ।”
“कलात्मक साहित्य प्रस्तुति रचना युग युगान्तारणको कारणले तपाईंँले बुझ्न नसक्नु भएको हो ।” रचनाकार भन्छन् ।
“युगान्तरणकै कुरा गर्दा पनि रचना यथार्थमा आधारित हुनुपर्ने हो ।” म भन्छु ।
“१००० वर्षको लामो अन्तरालमा घटेका अनेकन घटनाहरू, वैज्ञानिक प्रगतिहरू, प्रविधिहरू तपाईंँ सोच्नै सक्नु हुन्न । तसर्थ पनि तपाईंँ यो रचना बुझ्न सकिरहनु भएको छैन ।” उनी भन्छन् “तपाईंँ १०० वर्ष आयुवाला पिँढीकोे मानिस हुनुहुन्छ, तपार्इँंको पाठक मनस्थिति र क्षमता पनि त्यही १०० वर्षवालाको छ । साहित्य तात्कालिक अवस्थाको उपज भएकोले जो तात्कालिकताबाट अनुभवहीन छ त्यसैले तात्कालिक साहित्य बुझ्न सक्तैन । तर हामी २२५ वर्ष आयुवाला पिँढीले साहित्य प्रस्तुतिमा उल्लेख्य प्रगति गरेका छौँ । त्यसैको परीक्षण तपार्इँंमाथि गर्न गइरहेका छौँ ।”
“कस्तो परीक्षण ?” म नसोधी रहन सक्दिनँ ।
“साहित्य पनि पिँढीअनुसार फरकफरक हुन्छन् । तपाईँ १०० वर्ष आयुवाला र म २२५ वर्ष आयुवाला पिँढीका १००० वर्षको फरक समयअवधिका दुई अलग युगका मानिसहरू हौँ । १००० वर्ष पछिका सबै कुराहरू तपाईंँलाई स्वैरकल्पना लाग्नु स्वाभाविक हो । त्यो दोष तपाईंँको होइन । तपार्इँं र म बीचको यो सुगम सम्वादको स्थिति पनि मेरो पिँढीको सबल साहित्यिक र कलात्मक प्रस्तुति प्रणालीले सम्भव तुल्याएको हो । हाम्रो पिँढीको साहित्यिक प्रचलनअनुसार अहिले म तपार्इँंलाई र मलाई रचनासँगै लेखक र पाठक सँगसँगै घुलमिल भएर एकाकार भई तादात्म्यता स्थापित गर्ने कलात्मक साहित्यिक ‘बीग क्रन्च’ मा लैजादै छु, अथवा हामी त्यस पद्धतिमा जाँदै छौ‘ ।”
यति भनेर २२५ वर्ष आयुवालाका साहित्यकार आफ्नो हात हावामा हल्लाउँछन् । मलाई उनको हात रित्तो जस्तो लागेको थियो तर हात हल्लाउना साथ एउटा लामो पारदर्शी ऐना जस्तो वस्तु मेरो आँखा अगाडि सर्लक्क बगेर जान्छ । म र साहित्यकार पहिरोले सोहोरिएझैंँ अकस्मात खाली जस्तो, सुरुङ जस्तो लामो अन्धकारभित्र सुलुत्त पस्छौँ र निमेषमै फुत्त निस्कन्छौँ ।
स्फटिक सङ्गमर्मर जस्तै सफा सुन्दर भुइँ छ, आकाश छ तर बादल छैन । बाटो छ, गन्तव्यसम्म पुग्न साधन चाहिँदैन । मनझैँ सरर बतासजस्तै हामी बगिरहेका छाँै, प्रस्थान गरिरहेका छौँ ।
म एउटा फलले लादिएको र टाक्सिएको बोन्साई बुट्यानमा फूल जस्तो एउटा गुच्चा जत्रो फल टिप्न हात पसार्छु । समातेर जोडले तान्छु तर त्यसैले मलाई आफूतिर जोडले तान्न थाल्छ । म त्यसमा टाँसिन थालेको हुन्छु । “मुख आँ गरिहाल्नोस् । यो भूतल होइन ।” हठात् साहित्यकार भन्छ । म मुख आँ खोल्छु । तोरीको गेडाजत्रो रातो गेडा ऊ मेरो मुखमा फ्यात्त फाल्छ । भुक्क फुलिएर फुस्स फुट्छ र मेरो जिब्रोको ¥यालसँगै बिलाउँछ । म ह्वात्त फुलिन्छु र त्यो फल, फूल वा उद्भीज (के हो ?) बाट उम्किन्छु । त्यसको तनाइ समाप्त हुन्छ । म देख्छु साहित्यकारले पनि त्यस्तै गेडा मुखमा हाल्छ । हामी दुबैको कायाकल्प हुन्छ । हामी त्यस लोकका मानिसहरू जस्तै देखिन थालेका हुन्छौँ ।
“अन्तरग्रहीय व्यापार । के ल्याउनु भएको छ ?” त्यस ग्रहका मानिसहरू सोध्छन् ।
“फूस्सा” साहित्यकार ऊ भन्छ ।
“ठीक छ, फूस्साको बदला हामी यो दिन्छौँ ।” उनीहरू तोरीको गेडाजत्रो मसिनो दानाहरूले भरिएको पारदर्शी शिशी हामीलाई दिँदै भन्छन्, “यी राता दानाहरू खाद्य, हरिया पेय, नीला औषधि र पहेंला दानाहरू कायाकल्पका गेडीहरू हुन् ।”
साहित्यकार दुबै खाली मुट्ठी झ्वाट्ट खोलेर फूस्सा फूस्सा गर्छ । मलाई पनि त्यसै गर्न लगाउँछ ।
हामीले खाली मुट्ठी फुकाउँदै गरेको फूस्सा फूस्सा उनीहरू ठूलो प्लास्टिक जस्तो पारदर्शी ठूलो बोराजस्तो थैलीमा थाप्छन् र बन्द गर्छन् । “त्यो हामीले दिएको वस्तु भूतलको मौलिक भौतिकता हो । साधारण आँखाले देख्न नसकिने शूक्ष्माति शूक्ष्म करोडौं जिवाणुहरू जीवितहरू मानिसका खाली हातमा पनि हुन्छन् । त्यही कच्चा पदार्थ प्रयोग गरेर त्यस लोकका मानिसहरू अनेकौं जीवित र उपभोग्य वस्तुहरूको निर्माण गर्छन्” मलाई साहित्यकार सम्झाउँछन् ।
उसले यो बताउँदा बताउँदै हामी दुईको शरीरबाट पुतुतु धुवाँ र छिरछिर पानीका थोपा निस्कन थाल्छ । त्यो देखेर “पहेलो दाना मुखमा हालिहाल्नुस् ।” ऊ भन्छ र हामी दुबै जना पहेलो दाना मुखमा हाल्छौँ । हाम्रो पुनः कायाकल्प हुन्छ । हामी अघिको जस्तै मान्छे देखिन्छौँ ।
“यात्रा पुनः भूतलको, यात्रा भन्दा अगाडि म आफ्नो साहित्यिक रचनाहरू तपाईं र यिनीहरूलाई सुनाउन चाहन्छु ।” साहित्यकार भन्छ ।
“हुन्छ, हेरिहाल्यौँ, सुनिहाल्यौँ न त । कस्तो हुँदो रहेछ ।” म जिज्ञासावश सोध्छु ।
“फेरी पहेलो गेडी मुखमा हाल्नोस् ।” म पनि र ऊ पनि फेरी पहेलो दाना मुखमा हाल्छौँ । हाम्रो पुनः कायाकल्प हुन्छ ।
“म मेरा रचनाहरू तपाईंँहरूलाई पढ्न दिन्छु” साहित्यकार उनीहरूतर्फ अथवा त्यस लोकका मानिसहरू तर्फ फर्केर भन्छन् साथै मलाई “तपाईं पनि तयार हुनुहोस्” भन्छन् ।
“हुन्छ ।” हामी एक साथ भन्छौँ ।
साहित्यकार आफ्ना दुबै हत्केलाहरू आफ्नो टाउकोतिर फर्काएर हामीतिर फर्काउँछ । रचनाका पाण्डुलिपीहरू उनको दिमागबाट निस्केर बग्न थाल्छ । उनीहरू फूस्सा फूस्साको झोलाहरूलाई चोर औँलाले देखाउँछन् । ती थैलीहरू हावाले उडाएर लगेझैँ केही पर पुगेर अदृष्य हुन्छन् ।
उनीहरू पल्टने क्रिया गर्छन् । आराम कुर्सीहरू जस्ता देखा पर्छन् र त्यसमाथि पल्टन्छन् । कुर्सीहरूमा जोरजोर ठूला आँखाहरू र निधारको भाग टाउकाहरू (भकुन्डो जत्रो) मात्र हुन्छ । शरीर कमिलाको जत्रो अत्यन्त सानो रहन्छ । उनीहरू पढ्न थाल्छन्, पढ्दा कुनै कुनै बेला अनुभूतिशील हुँदा हात, पेट, खुट्टा, फोक्सो, मुटु वा अरू कुनै अङ्ग निमेषभर ठूलो अजङ्गको हुन्छ र प्याट्ट फुट्छ र सुक्छ । म पनि उनीहरू जस्तै ती साहित्यकारको रचनाहरू पढिरहेको हुन्छु । कस्तो अचम्म ? मेरो दिमागभरि उनका रचनाहरू सरसरी छापिएझैँ छन्, म बुझिरहेछु, पढिरहेछु, पढिरहेछु ।
“उनीहरू जुन काम गर्दा जुन अङ्ग वा इन्द्रियको आवश्यकता पर्छ, त्यो बाहेक अरू इन्द्रियहरूलाई निस्क्रिय पारेर ऊर्जा वचत गर्छन् । हिड्दा खुट्टा, उड्दा पखेटा, पढ्दा आँखा र दिमाग अथवा जे काम गर्दा जुन इन्द्रिय आवश्यक हुन्छ, त्यसको मात्र प्रयोग गर्छन् ।” साहित्यकार उनीहरूलाई देखाएर मलाई भन्छन् ।
“तपाईंहरूको साहित्य प्रस्तुति त अनौठो रहेछ । एकै क्षणमा मैले तपाईंको सबै रचनाहरूको अध्ययन गरेँ । के म पनि कम्प्युटर भइसकें र इन्टरनेटमा झैँ तपाईंहरूको साहित्य सञ्जालसँग म पनि जोडिन पुगेँ ?” म सोध्छु ।
“हो, मैले चाहुन्जेल, अथवा लेखकले चाहुन्जेल, पाठकले चाहुन्जेल । दुबै लेखक र पाठकले चाहुन्जेल ।”
“तपाईं महान साहित्यकार हुनुहुँदो रहेछ ।” म साँच्चै प्रभावित भएको हुन्छु । ऊ “धन्यवाद” भन्छ ।
“अब हाम्रो भूतल फर्कने बेला भयो । म तपार्इँंलाई तपाईंको १०० वर्ष आयुवाला युगमा फर्काउँदै छु ।” साहित्यकार अघि जस्तै खाली हात हल्लाउँछन् । अघिको जस्तै ऐनाजस्तो वस्तु मेरो आँखा अगाडिबाट सर्लक्क बगेर जान्छ । हामी फेरी सुरुङ्गजस्तो अन्धकारमा सुलुत्त पस्छौं र खस्छौं पृथ्वीलोकमा ।
आम्मोइ...सडकहरू, घरहरू, गाडीहरू, मानिसहरू ... आफ्नै धर्तीमा फर्कंदा मलाई अतुलनीय रमाइलो लाग्छ । खेतबारीमा लहलह बालीनाली, हरियाली जङ्गल, समुद्र, नदीनाला, चिसो र तातोपनले शरीर स्पर्श गर्छ । अघिसम्म शरीर मेरो हो कि होइन, हलुङ्गो, फुङ्ग थियो । अब आफ्नो वास्तविक शरीर छ । कति मोहलाग्दो शरीर र जीवन ! बादल आकाशमा तैरिरहेका छन् । फूलहरू फुलिरहेका छन्, बालीनाली झुलिरहेका छन् । मौरीझैँ मानिसहरू काममा व्यस्त छन्, गुनगुनाइरहेका छन् । हावा, बतास र सुगन्ध चारैतिर व्याप्त छ । कलरव कर्णप्रिय छ । मलाई आफ्नै पिँढीको वास्तविक संसार प्यारो लाग्छ ।
यसरी म रमाइरहेको अवस्थामा नै साहित्यकार मलाई भन्छ, “म गएँ है । म तपाईंभन्दा १००० वर्ष पछिको साहित्यकार । हाम्रो पिँढीको अनुसन्धानमा १००० वर्ष अगाडिको एउटा पाठकको हाम्रो साहित्यप्रतिको प्रतिक्रिया बुझ्न तपार्इँंको छनोट गरिएको थियो । हाम्रो अनुसन्धान पूर्ण भयो । तपार्इँंलाई १००० वर्ष पछाडिको साहित्यिक प्रस्तुतिबाट झिकेर तपार्इँंको वर्तमानमा छोड्दै छु । तपार्इँं चाहनु हुन्छ भने एक पटक हाम्रो संसारमा आउन सक्नु हुन्छ । त्यसका लागि म तपार्इँंलाई यो ‘कोड’ छोडेर जाँदै छु । बिदा ।” ऊ निमेषमा आँखा झिमिक्क पार्दा बिलाइसकेको हुन्छ ।
म चाहिँ छक्क परिरहेको हुन्छु, यो के अचम्म ? सपना हो ? होइन, मेरो हातमा उसले दिएको ‘कोड’ छ ।
सोध्न सक्नुहुन्छ...
—यस्तो पनि हुन्छ ? असम्भव ।
—हुन सक्छ । हुन सकेन भने वर्तमानमा बाँचिरहेका हाम्रो के जान्छ र ?
—बेकारको बगम्फुसे गन्थनले समय बित्छ नि । भ्रमात्मक आक्रमणले मस्तिष्क ...
—भ्रमको कुरै नगरौँ । सारा संंसार भ्रममा रमाउँछ । सारा मान्छेले सारा जीवन भ्रममा बिताउछ । भ्रमको आनन्दमै मान्छेको कैयौं पुस्ता बितेको छ, अझ बित्ने छ । भ्रममा पोतिएर अल्मलिएर बस्न नपरोस् भनेर नै आजका मानिसहरूको कल्पनाभन्दा बाहिरको आज असम्भव ठानिने भावी यथार्थ वर्णन गर्न खोजिएको धुमिल चित्रण हो यो ।
—नदुखेको टाउको चोयाले बाँधेर किन दुखाउन प¥यो ? अहिले जाँच्नै किन प¥यो ? हुने नहुने अनेकओली सोचेर मान्छे कुमान्छे हुने होइन क्या रे ...! कुनै बेला मान्छेलेझैँ साहित्यले पनि अडबाङ्गो कुरा गर्छ ।
—जे होस् केही बेर भए पनि अल्मलियौँ । अज्ञानी अल्मलको आनन्द ... थाहै नपाई समय बित्यो । थाहै नपाई बित्ने समयको आनन्द... मानव चाहना रहेछ... !?, ?!... त्यसैको पनि प्रतिविम्ब हो साहित्य ।
२०५७
सपनाको देश
उडिरहेको चङ्गाको धागो काटिनासाथ त्यो फेरि फर्कने कुरा हुँदैन । भौतारिएर केही बेर उड्छ, बतासिन्छ, र आखिर झर्छ । चङ्गा उडाउनेसँगको जीवन्त मधुर सम्बन्ध समाप्त हुन्छ ।
त्यही धागोमा जोढेर अर्को चङ्गा उडाउन सकिन्छ । तर ७१ वर्षको उमेरमा जीवन साथीको देहावसान भएमा अर्को पत्नी ल्याउन सकिन्न । उमेरले डाँडो कााटिसकेको हुँदा पत्नीसँग बिताएका सुखदुःखका दाम्पत्य जीवनको मधुर सम्झनामा बुढेसकाल काट्दा सपनाको देशमा अवतरण हुन पुगिन्छ । जीवन सपनाजस्तै लाग्न थाल्छ ।
सपना हो कि बिपना !
जीवन साथीसँग बिताएको घर छ, बिस्तरा, लुगाफाटा, सरसामान आदी सबथोक छ । तर तिनी छैनन् । मरेपछि मानिस सकियो । उसको सबथोक सकियो । अस्तित्व सकियो । थियो तर छैन । मरेपछि जीवन के हुन्छ ? जतिसुकै तर्क गरेपनि केही हुँदैन । सब सकिन्छ । फेरि फर्केर आउदैन । सबैलाई थाहा छ— मरेपछि सकियो । अरु सबैले बिर्से पनि बाँचिरहेका वुद्ध लोग्नेले मृत पत्नीलाई बिर्सन सत्तैmन । तिनको सम्झना दिलाईरहने परिवेश, हर क्षण तिनको अभाव महसुस.भइरहने... कसरी बिर्सन सकिन्छ र !
मेरो घर दुःिखहरूको जमघट थलो भएको छ । ९४वर्षकी आमा बीस वर्ष अघि नै बुबाको देहान्त भएकोले बीस वर्षदेखि एकल जीवन भोगिरहनु भएको दुःिख ! आमाले भोग्नुभएको एकल जीवनको पीडा कस्तो हुन्छ अहिले म भोगिरहेको छु । आमाजस्तै दुःिख म । हामीजस्तै अर्को दुःिख माइलो छोरो । बुहारी पारिवारीक सहमति बेगरै विदेश गएको पनि नौ वर्ष भइसक्यो । पत्नी भएर पनि ऊ एक्लै । बुहारीले छोडेर गएकी दुई वर्षको नाति ११ वर्ष लागेको छ । आमाको माया नपाउने दुःिख नाति । नाति जस्तै दुई नातिनीहरू । कान्छो छोरोलाई छोडेर कान्छी बुहारी पनि अर्को पोइल गई । छोरोलाई त छोड्यो, छोड्यो, चार वर्षको नातिलाई पनि आमाले छोडेपछि ती दुई बाबुछोरा पनि दुःिख !
हामी सबै दुःिख आत्माहरू (जिउँदाहरूको मात्र आत्मा हुन्छ ।) सपनाको देशमा कल्पनाको पखेटा फट्फटाएर उडेर पुग्दा हौला । सपनाको देशको आनन्द पाउन निर्लिप्त हुँदा हौला । वास्तविक यथार्थ जीवन जब खडेरी हुन्छ, सुकेको ओठ चाटेर प्यास मेट्न खोजेझैँ सपनाको देशमा पुगेको अनुभूतिले बाँच्न सकिरहेका हौला कि !
जे होस्, मानिस— नौरङ्गी जीवनमा पनि बाँच्नका लागि कल्पनामा रमाएर, सपनाको देशमा घुमेर जिजीविषाको अदृष्य नवौ रङ्गले रङ्गिएर भए पनि बाँचेर जीवनको अन्तिम बिट मार्न लालायित हुँदोरहेछ । एक्लै भएपनि एक्लो एक्लो मिलेर जहाँसम्म जान सकिन्छ जाँदो रहेछ, हिडिरहने, हिडिरहने रहेछ । एक्लै जन्मिएको, एक्लै मर्नुपर्ने र एक्लै बाँच्नुपर्ने ... बाँचिदो रहेछ । बाध्यता हो । जबरजस्ती जीवन बिसर्जन गर्न सकिन्न ।
थाहै नपाई अचेतन मनले सपनाको देश पुग्छु । त्यहाँ दिवङ्गत मेरी पत्नी मलाई पर्खिरहेकी छिन् । मुस्कुराउँछौँ दुवै आत्मविभोर हुँदै । कति मनमोहक भूबनोट— हरियो चउर, टलक्क टल्किरहेका सुनौला हिमाल, कलकल छहरा, चराहरूका मधुर चिरबिर, रङ्गीचङ्गी पूmल फुलिरहेका, स्वच्छ शीतल बतास सरसर सररर । मन भित्रैबाट प्रफुल्ल । बिस्तारै हातेमालो गर्दै हिँडिरहेका हामीलाई बस्न मन लाग्छ, फलैचा टुप्लुक्क देखा पर्छ । बस्छौँ । कतै थकाइ छैन । हामी चखेवाको जोडि प्रेम गगनमा उड्छौँ । अपरिमित माया प्रेमले निथ्रुक्क भिज्छौँ । सुखको संसार । युगल हुनुको आनन्द कति हो कति !
झल्यास्स ब्युझदा पनि चरम आनन्द लागिरहेको हुन्छ । सपनामा नै भए पनि मायालु पत्नीलाई देख्दा–भेट्दा कष्टपूर्ण बिछोड वियोगमा पिल्सिएको मनले दुखिरहेको घाउ केही बेर भए पनि बिर्सन्छ । बाँच्ने अभिप्रेरणा जाग्छ । धन्य सपनाको देश !
म मात्र होइन, मेरा परिवारका सदस्यहरू पनि सपनाको देशमा पुग्दा हुन् । सपनाको देश— विशाल मरुभूमिमा ‘ओएसिस’ । उनीहरू मात्र किन ? यथार्थ संसारको असह्य पीडा, कष्ट, वेदना, दुःख, दर्द, शोक, अभाव, रोग, भोकका अकल्पनीय ज्वालाले पिल्सिरहेका पिडीत सबै दुःिखहरू पियुषको खोजिमा सपनाको देश पुग्दा नै हुन् । पुग्दा नै हुन् होइन, पुग्छन् नै । यदि सपनाको देश नहुँदो हो त धेरै मानिसहरू असह्य पीडा सहन नसकेर बौलाउथे, पक्कै बौलाउथे । दुरुह कष्ट झेल्न नसकेर आत्माहत्याको बाटो रोज्थे । हुन पनि पीडा, कष्ट, वेदना झेल्न कति मुस्किल हुन्छ ? मलाई अहिले थाहा भएको छ ।
हुन पनि मसित अहिले के छ र ? यौवन छैन । साथ दिने जीवन साथी छैन । जीवन बेहोर्न गुजार्न पनि सपनाको देशमा बारम्बार गइरहनु मेरो दिनचर्या भएको छ । जब म पीडाले तड्पिन्छु, पैदल हिड्छु हिडिरहन्छु । हिड्छु हिडिरहन्छु... चरैवेति ! चरैवेति ...
जीवनमा कहिल्यै चिठ्ठा नपरेको मलाई चिठ्ठा पर्छ । हिड्दा हिड्दा अप्सरासँग भेट हुन्छ । अप्सरासँग भेट हुनु र मायाप्रेम हुनु मैले चिठ्ठा परेको मानेको छु । तिनी पत्नीले दिने सबै सुख दिन्छिन् सल्लाह, साथ र संसर्ग सबै । अब यो जीवनमा यस्तो सुखभोग असम्भव छ भन्ने लागिरहेको बेला यस्तो सुखभोगले पूरै अँध्यारो जीवनमा केही सुख उदाउन सुरु हुन्छ ।
हेर्दा देख्दा म कस्तो देखिन्छु ? खासै मेरो चासो नभए पनि बाचुन्जेल अरुका अगाडि लुम्रोझुम्रो हेय पात्र हुन चाहन्नँ । जति दिन बाँच्छु, भित्री मनमा प्रसन्नता नउब्जे पनि अरुहरूले देख्दा म खुसी र सुखी देखिऊँ— म चाहन्छु । त्यही प्रयासमा म नक्कली रोबोटमय तिलस्म खोजिरहेको हुँदो हुँ जुन सपनाको देशमा सजिलै पाइन्छ । मैले गुमाएका कति कुराहरू खोजिरहेछु । जीवनका सप्तरङ्गी स्वादको अनुभव त मलाई भइसकेको थियो, नौरङ्गी जीवनको स्वाद चाखेपछि पनि जीवनको पूर्ण स्वाद थाहा पाउने प्रयत्नमा अचानक म अप्सरासँग लहसिन पुगेछु अनजानमै । यो ‘हेडोनिज्म’ हो भने पनि हुन्छ । सबै जिउँदाहरूले खोज्ने परम आनन्द र सुख नै त हो ।
जीवनको पूर्ण स्वाद थाहा पाउन
हजार ययातिको जीवन पनि अपर्याप्त हुन्छ ।
पूर्ण तृप्तिको बिन्दुमा पुग्न
हजार संसारको सम्पत्ति पनि अपर्याप्त हुन्छ ।
तर यो सपनाको देशमा लागु हुँदैन । त्यहाँ पूर्ण स्वाद र पूर्ण तृप्ति पाइन्छ ।
कहिल्यै नफर्कने गरी गएकी (दुःखसाथ भन्नुपर्दा मरेकी) मेरी पत्नीलाई सम्झेर जबजब शोकाकुल भएर निधाउछु म सपनामै भए पनि तिनलाई देख्छु, भेट्छु । भेटघाट संक्षिप्त हुन्छ । दोहोरो कुराकानी हुँदैन नै । तापनि त्यसले मलाई केही दिन बाँच्न सहज हुन्छ । लाग्छ नौरङ्गी जीवनमा पनि (तिनी नभए पनि) मलाई साथ दिइरहेकी छिन् ।
कैयौं मेरा अपुरा अधुरा इच्छाहरू पूरा गर्न अनजानमै म सपनाको देशमा पुग्छु । त्यहाँ म जे चाहन्छु, पाउँछु । हाँस्छु, पूर्णताको चरम उत्कर्षमा पुग्छु । पूर्ण तृप्ति पाउँछु । पूर्ण स्वाद पाउँछु । सपनाको देशमा पुगेर खुसीको रमझम आकाशमा उडिरहेको हुन्छु, आनन्द सागरमा डुबुल्की मारिरहेको हुन्छु । मलाई साथ दिँदै मेरी मायालु पत्नी मसँगै उडिरहेकी हुन्छिन्, डुबुल्की मारिरहेकी हुन्छिन् । हर्षविभोर हामी पानीमाया छ्यापाछ्याप गरिरहेका हुन्छौँ ।
सपनाको देशबाट फर्केपछि म सधैं प्रसन्न देखिन्छु । सपनाको देशमा जानु मेरा लागि जीवन सहज तुल्याउनु भएको छ । यथार्थमा अप्राप्य त्यहाँ प्राप्त हुन्छ चाहे त्यो भ्रम होस् । आखिर सब भ्रम त रहेछ । सारा दुःिखहरू सपनाको देशमा पुग्छन् ।
सपनाको देशमा जे पनि र जो कोही पनि भेटिन्छ, पाइन्छ । चाहेको सबथोक पाइने देश ! दुःखले छट्पटिएर मर्नुभन्दा सपनाको देशमा जानु बेश ! हाँस्न नसक्ने दुःिख मान्छे पनि त्यहाँ हाँस्छ । त्यहाँबाट मुस्कुराहट पैँचो ल्याएर यथार्थ संसारमा मुस्कुराउन सकिन्छ । त्यहाँ समय बितेको थाहै हुँदैन (थाहै नभई मेरो पनि बाल्यकाल बित्यो, दाम्पत्य जीवनको ४१ वर्ष बित्यो । जुन समय थाहै नभई बित्यो त्यो अवधि नै मेरो सर्वाधिक रमाइलो जीवन अवधि थियो ।) थाहै नभई समय बितोस्— मानिसको चाहना त्यहाँ पूरा हुन्छ ।
त्यहाँ उचनीच, लोभलालच, पापधर्म, नियमकानुन, नैतिकअनैतिक, बन्धनरोकावट केही हुँदैन । मात्र हुन्छ त्यहाँ सुख, सुख, सुख ! जुन सुख यो सांसारिक जीवनमा अप्राप्य छ । त्यो सुख जिउँदो हुँदा नै भोग्नु पर्छ है, यो कथा पढिरहनुभएको मेरो प्यारो साथी ! (साथी सपनाको देशमा उमेरले, युगान्तरले, जीवन मरणले वा कुनै कारणले पनि साथी हुन र प्रेम गर्न रोक्तैन । जुन प्रेम र साथ सांसारिक जीवनमा पाइदैन त्यहाँ पाइन्छ । भलै म तपाईँभन्दा दुई तीन सय वर्ष अगाडि नै जन्मेको भए पनि त्यहाँ म तपाईँको साथी हुन सक्छु !)
जानुहोस् सपनाको देश र भेट्न्होस् मायालु प्रियजनलाई, रमणीय संसार; पाउनुहोस् अप्राप्यहरू !
आउनुहोस्, भेटाँै सपनाको देशमा । त्यहाँ सब अमर शाश्वत छन् । त्यहाँ अवर्णनीय अकल्पित अन्त्यहीन कल्प आनन्दमा रमाऊँ ! त्यहाँ जीवनको पूर्ण स्वाद र पूर्ण तृप्तिको चरमबिन्दुले पर्खिरेहेछ ।
प्यारो सपनाको देश !
२०७७ साउन १७, धरान
मायाहरू
घरको ल्याण्डलाइन फोन मेरो कोठामा भएकोले आमाले तीन वर्ष अगाडि छोडेको सानो नाति मेरो कोठामा आएर मधेस गएको आफ्नो बाबुलाई फोन गर्ने गर्छ । फोन गर्दा ऊ उत्साहित भएर आफ्ना कुरा राख्छ । सोध्ने गर्छ— कहिले आउनु हुन्छ ?
मान्छे चाहे सानो होस् या ठूलो कसै न कसैको माया, ममता, प्रेम वा आडभरोसा चाहिदो रहेछ । आमाले नातिलाई छोडेर अर्को पोइल गएपछि उसको सम्पूर्ण आशा, आस्था र भरोसा बाबुमाथि केन्द्रित भएको छ । पहिला पहिला आमालाई उसले व्यथित हृदयले व्याकुल भएर खोज्यो, नभेटेपछि करैले बिर्सियो ।
‘बाबु मरे आधा टुहुरा, आमा मरे पूरै टुहुरा’ भन्ने उखानझैँ आमाले छोडेको मेरो टुहुरा नाति !
“तेरो सिङ्गो जीवन स्वास्नी बेगर कसरी काट्छस् ? नाति एक प्रकारले हुर्किसक्यो वा माइला दाजुका छोराछोरी उसको दाज्यु दिदीहरूसँगै बसेर हुर्किन्छ । उमेर मिल्ने कुनै केटी बुहारी ले ।” मैले कान्छा छोरालाई भनेको थिएँ ।
तीन वर्ष बित्यो बुहारीले छोडेको पनि । चार वर्षको नाति पनि सातमा लागेको छ । छोराले पनि अब भने दोस्रो विवाह गर्नका लागि तयार भएर केटीहरू हेर्न थालेका थियो । फोनमा एउटीसँग कुरा मिलेको कुरा उसले मलाई बताएको थियो । नातिलाई उसको बाबुले अर्काे बिहे गर्ने कुरा थाहा छैन ।
ऊ अझै बाबुलाई नै आफ्नो सम्पूर्ण आशा र माया गर्ने प्यारो छहारीको रूपमा सम्झिरहेको कुरा थाहा हुँदा मलाई कता कता हृदयमा चस्स बिज्छ ।
सौतेनी आमा हो, पहिला पहिला राम्रो गरे पनि पछिदेखि सौतेनी छोराछोरीमाथि भेदभाव पक्षपात गर्दै अनेक दुःख दिने कुरा संसारभरिकै लोक कथा र कथाहरूमा मैले पढेको र व्यवहारमा पनि देखेको कुरा सम्झन्छु । छोरालाई त कान्छी स्वास्नीले एकोहारो बनाइहाल्छ नै । मेरो यो सानो टुहुरा नातिले दुःख पाउने छ । अनायास मेरो मनभित्र नातिको मायाले वेदनाको मुहान फुट्छ, आँखा टलपल हुन थाल्छ ।
म पहिला यस्तो रुन्चे थिइनँ । पत्नीको देहावसानले मुटुमा वेदनाको निको नहुने अदृश्य घाउ बनाएको छ । सानै निहुँमा त्यो घाउ बल्झिन्छ र मन रुन थालिहाल्छ । विचरा नाति मजस्तै दुःिख हुने भयो !
म (मनमनै रुदै) सङ्कल्प गर्छु— ‘म नातिलाई दुःिख हुन दिने छैन । म उसलाई अपहेलित हुन दिने छैन । उसको निम्ति म बलियो आडभरोसा भई उभिने छु । मैले सक्ने सब गर्ने छु ।’
वेदनाको सागरमा डुबिरहेको मलाई बाँच्नका लागि एउटा गतिलो धेय–उद्धेश्य प्राप्त भएझैँ लाग्छ । मेरो अदृश्य रोदन र सदाबहार पीर मुस्कानमा परिणत हुन कतिबेर पनि लाग्दैन । म आफै स्वस्फूर्त मुस्कान मुस्कुराउँछु ।
म सानो नातिलाई १० वर्ष राम्ररी हेरचाह गरेर १७ वर्षको लक्का तन्नेरी बनाउछु । त्यसपछि ऊ आफै आफूलाई स्याहार्न सक्ने हुन्छ ।
१० वर्ष बाँचुला ? ७३ वर्षको म, मधुमेह, उच्च रक्तचाप र मुटु रोगको दबाइ खाइरहेको वृद्ध ! अहिले हो कि भरै । जसको आफ्नै जीवनको ठेगान छैन । म के गर्न सकुलाँ ? । आफ्नो अवस्था सम्झेर चाउरिन्छु ।
आफ्ना प्रियजनहरूको भलो गर्न चाहने मान्छे दुर्बल भएपछि केही गर्न नसक्ता रुदोँ रहेछ । आफू नरहेपनि आफ्ना प्रियहरूले दुःख नपाउन् भनेर पिरलिदो रहेछ । मेरी प्रिय पत्नी पनि बाँचेर मलाई हर सुख दिन चाहन्थी । मैले दुःख नपाओस् भनेर कति चिन्तित थिई । मान्छेको माया र मायाहरू मर्ने बेला झन् धेरै झाङ्गिदो रहेछ अनेक अनेक किसिमका मायाहरू ! ती मायाहरूले असाध्य रुवाउदो रहेछ ।
रोगका कारण आफ्नो मृत्यु हुन लागेको र आपूmले सबैभन्दा बढि माया गरेको लोग्नेलाई छोडेर जानुपर्ने अवस्थाको अनुभूतिले अन्तिम क्षणमा मेरी पत्नी रुदै रुदै गइन् । तिनी जस्तै म पनि कतिबेला के हुन्छु ? पत्नीलाई जस्तै माया मायाहरूले मलाई पनि रुवाउन थालेको हुन्छ... !
२०७७ पौष ३
२०७५ चैत १७,
वश
सरण राई
.उफ यो कस्तो मान्छे ? मेरो लोग्ने हो, प्रेमी पनि भएका छन् । आफ्ना सबै इच्छा आकाङ्क्षा कामहरू थाती राखेर पाँच वर्षदेखि निरन्तर मलाई स्याहारीरहेका छन् । म बिरामी भएदेखि नै उनले गर्न सक्ने आफ्ना सामथ्र्यमा भएका सब सब गरिरहेका छन् । मान्छेले यति धेरै त्याग गर्न सक्छ भन्ने मलाई थाहा थिएन । यो मेरो प्यारो मायालु प्रेमिल लोग्नेलाई जति हेर्छु त्यति धेरै माया लागेर आउँछ । म उनैको निँिम्त बाँचेर उनी रमाएको हाँसेको हेर्न चाहन्छु ।
मलाई मधुमेह भएको पनि तीस वर्ष भई सक्यो । मुख बार्न उनले मलाई कति कर गरेका थिए । एक बारको जुनीमा मुख किन बार्ने ? ‘हेरेर मर्नुभन्दा छेरेर मर्नु’ मैले भनेँ । उनले कैयौं खाने कुराहरू नखानु भन्दा ‘मलाई खान पनि नदिने’ भन्दै रोएकी थिएँ । त्यसपछि उनले कहिल्यै मलाई मन परेको खान रोकटोक गरेनन् ।
मधुमेहले मलाई च्याप्दै लग्यो । अरु रोगहरू थपिए । थाइराइड पहिला थाहै थिएन । धेरै पछि थाहा भयो । त्यसको पनि दबाई थपियो । मधुमेहले मृगौला बिगार्न मात्र होइन, बिगारी सकेको रहेछ । खाना नरुच्ने । एक महिनासम्म च्याउँको सुप खाएर बसेँ । अस्पताल जाउँ भनेर उनले कति कर गरे । नजाने भनेर अड्डि लिएर बसेँ । दिसापिसाब बन्द भएपछि अस्पताल जान करै लाग्यो । इमर्जेन्सीमा जाँचेर केही दबाई लिएर धर फर्कियौँ । त्यो दबाईले दिसा पिसाब नखोलिएपछि फेरि अस्पताल हिडेर नै गएको थिएँ । अस्पताल भर्ना भएँ । हातखुट्टा सुन्निन थाल्यो, भुडि फुलिन थाल्यो ड्याम्ड्याम्टी... दुई दिनमा नै म उठ्न हिड्न नसक्ने सिकिस्त भएँ ।
काठमाडौंंमा रहेका बहिनी र बुहारीहरूले ‘काठमाडौं तुरुन्त आउनु’ भनेर बोलाए । यिनले सिकिस्त बिरामी मलाई हतारहतार हवाइजहाजबाट काटमाडौं लगे ।
काठमाडौंको प्राइभेट अस्पतालको डाक्टरको पहिलो प्रतिक्रिया — “कस्तो अस्पताल हो ? दिसापिसाब त गराउन सक्थ्यो !” त्यस अस्पतालले पहिलो काम दिसापिसाब गराउने काम ग¥यो । चार पाँच दिनदेखि ड्यामड्याम्टी फुलिएको पेट... दिसापिसाब गराएपछि हाइसन्चो भयो । अहिले पो थाहा भयो घरछेउको अस्पतालमा त नेफ्रोलोजिस्ट (मृगौला विशेषज्ञ) डाक्टर नै रहेनछ । अरु डाक्टरहरूले मजस्ता बिरामीहरूलाई हेर्दै सिक्दै पो गर्दारहेछन् । धन्न ! शिक्षण अस्पताल !
काठमाडौं नआएको भए म त्यति बेलै मर्ने थिएँ । काठमाडौंको प्राइभेट अस्पताल मेडिकेयरले मलाई पुनर्जीवन दियो । त्यहाँ दुई वर्षसम्म धायौँ । मृगौलाको समस्या जटिल हुन थालेपछि सुमेरु अस्पताल आएका छौँ ।
यहाँ उपचार गर्न थालेको पनि दुई वर्ष ६ महिना हुन लागेको छ । मृगौला बिग्रे पछि डायलाइसिस नगरी भएन । डायलाइसिस गर्न थालेको पनि दुई वर्षभन्दा धेरै हुँदै छ । सुरुमा हप्ताको दुईपल्ट गरिन्थ्यो भने अहिले हप्ताको तीनपल्ट गर्नु पर्छ । आइतबार, मङ्गलबार र शुक्रबार डायलाइसिस गर्ने दिनहरू । मलाई भन्दा बढी डायलाइसिस गर्ने यी बार दिनहरूबारे मेरो छेउमा मलाई स्याहादै बस्ने पति काजीलाई राम्ररी याद रहन्छ । मेरो स्वास्थ अवस्थासँग उनको सुख दुःख गाँसिएको छ, म सन्च रहदा उनी मुस्कुराउँन सक्छन् ।
म सोच्न पुग्छु— यदि म घरछेउकै धरानको अस्पतालमा नै मरेको भए मेरा पतिदेव उनको के गति हुन्थ्यो होला ? अझै पनि म मर्ने बाँच्ने दोसाँधमा नै उपचार गराई रहेकी छु । मन हुडलिएर आउँछ... बिचरा इमानदार सरल तर विशाल हृदय भएको मेरो मायालु प्रेमी–लोग्ने ! मलाई उनको अग्घोर माया लागेर आउँछ । माया दोब्बर तेब्बर कति हो कति धेरै धेरै.... असीम माया लागेर आउँछ । म उनैको लागि बाँच्न चाहन्छु । बाँचेर उनलाई धेरै धेरै माया प्रेम दिन चाहन्छु ।
उनलाई म उनको हर कदम कदममा साथ दिन चाहन्छु सुखमा पनि साथै दुःखमा पनि । स्वाभिमानी उनी । बरु भोकले मर्न तयार हुन्छन् तर आफ्नो स्वाभिमान विवेक त्याग्न चाहदैनन् । मैले भन्दा बढी उनलाई बुझ्ने यो संसारमा अरु कोही छैन किनकि उनीसित बसेको पनि ४१ वर्ष पुग्न लागेको छ । उनी कति असल छन् । उनलाई जीवन साथी पाएकोमा म सन्तुष्ट छु ।
मृगौला प्रत्यारोपणबारे उनैले बुझ्दा मलाई मुटुको रोग पनि भएकोले मृगौला प्रत्यारोपण हुन्न रे । हुने भए उनी मृगौला दिन तयार छन् । मेरो मुटु कमजोर हुँदै गइरहेको छ रे । मुटुको एन्जिओ प्लाष्टिक सर्जरी पनि मृगौलाका कारण सम्भव भएन । नौ महिना पहिला म आई.सि.यु.मा पन्ध्र दिन बस्दा यो मेरो पति कति चिन्तित थियो । त्यो आई.सि.यु. मा र वार्डमा बस्दा मैले “काजी ! काजी !” भन्दै होस बेहोसमा कराएछु, उनलाई बोलाएछु कि पछिदेखि त सिस्टरहरूले पनि “तपाईँको काजी आउँनु भयो” भन्न थालेका थिए ।
यसपालि पनि तीन दिन आई.सि.य.ुमा बसेँ । मुटु विशेषज्ञ डा. रमणीले भनि सकेकी छिन्— “मैले गर्न सक्ने सबै गरिसकेँ । अब म केही गर्न सक्तिनँ ।” तिनको त्यो भनाइले मलाई मेरो जीवन सिद्धिन लागेको छ भन्ने बोध गरायो । काजीलाई त्यो कुरा सुनाएर म रोएँ । म मेरो लागि होइन उनका लागि रोएकी थिएँ । उनी कसरी म बिना बाँच्लान् ? उनले भने, “चित्त सम्भाल । अहिले नै हामी म¥यौँ भने पनि दुःख मान्नु हुँदैन । हामीले गर्नु पर्ने र गर्न सक्ने सबै गरीसकेका छौँ । म लेखक हुँ, म मेरो कृतिहरू बाँचेसम्म बाँच्ने छु । म कृतिहरूसँग बाँचे भने तिमी मेरो साथमा बाँच्ने छौ । तिमी मेरोबारे चिन्तित छौ । मेरोबारेमा चिन्ता नलेऊ । म आफ्नो जिन्दगी जसरी पनि बेहोर्ने छु ।” उनको यस्तो भनाइले मन अलिक शान्त भएको थियो ।
म बेडमा नै बिलाउन लागेकी छु । सुकेर हड्डि र छाला भइसकेकी छु । हिड्ने त कुरै सकियो । उठ्न बस्न पनि अरुको सहायता चाहिने भएको छ । उनैले मलाई चौबिसै घण्टा साथ दिइरहेका छन् । टोइलेट पनि जान सक्दिनँ । टोइलेटदेखि खाना औषधि खुवाउने आदि सबै कुरुवाको काम यिनै मेरा पतिले गरिरहेका छन् । म उनलाई हेर्छु, उनी मलाई नै हेरिरहेका छन् ।
कफि लिएर आएका छन् । पिउँछौँ । यसरी सँगसँगै बसेर कफि पिउने र सँगसँगै बस्ने दिनहरू समाप्त हुँदै छन् । म जति धेरै बाँच्छु सम्पत्ति पनि सकिने नै भयो । त्योभन्दा बढी संसारमा मैले सबैभन्दा बढी माया गरेको मेरो काजीलाई धेरै दुःख दिने छु । उनीमाथि निर्मम बोझ भईरहने छुु । मलाई सबैभन्दा बढी माया गर्ने लोग्नेलाई यस्तो दुःखबाट छुटकारा दिन म के गर्न सक्छु ? मर्न त कसलाई मन पर्छ र ! तापनि जर्जर रोगी शरीर म आफैलाई यो मेरो जीवन बोझ लाग्न थालेको छ । अब मैले जतिसक्दो छिटो जीवनको मोह त्याग गर्नु पर्दछ, आफूलाई मृत्युमा समाहित गरेर उनको मेरो प्यारो पतिको जीवनमा स्वतन्त्रता उन्मुक्ति दिनु पर्दछ । यस्तै सोचेर कोही बेला उनलाई भनेर कोही बेला नन्द बहिनी बुहारीहरूलाई भनेर चकलेट मगाएँ । कुनै समय मैले भनेको पनि थिएँ— मर्ने बेला दुःख पाउन थाले भने बिष खाने छु । मधुमेहका बिरामीहरू खास गरेर डायलाइसिस गरिरहेका बिरामीले मुख बार्न छाडेर गुलियो चकलेट खाए भने बिषको काम गर्छ । मैले लुकेर यति धेरै चकलेट खाएँ कि म अहिले सिकिस्त भएर मृत्यु नजिक पुगेको छु । जीवनको मोहले भन्दा मलाई उनको मायाले रुवाउछ । म उनलाई र उनले मलाई यति धेरै माया गर्दा रहेछौँ... अहिले थाहा भएको छ । उनलाई मैले माया गर्ने मायाकै खातिर उनकै लागि यो मेरो निको नहुने बिरामी जीवनको शिघ्र अन्त गरेर मैले उत्सर्ग गर्नु पर्दछ र गर्छु !
उनी मेरो लोग्ने मात्र नभएर मेरो प्राण रहेछन् । म मरे पनि उनीसँगै म बाँच्ने छु । उनी म बिना पनि खुशीसाथ बाँच्न सके भने म पनि खुशी हुने छु । म हुन्नँ, नभए पनि म उनीसँगै उनकै साथ रहने छु । उनी मेरा सबथोक हुन् । उनका निम्ति मैले यो तुच्छ शरीर त्याग गर्नै पर्छ । उनलाई उनको स्वतन्त्रता दिनै पर्छ । उनलाई बिरामी स्याहारीरहनु पर्ने दुःखपूर्ण झन्झटबाट मुक्त गर्नै पर्छ ।
भगवान हुन्छ भने उनी नै मेरा भगवान हुन् । उनले मलाई दिएका वास्तविक सुखको बदला उनका सुखका लागि मैले मेरो यो दुःखपूर्ण बिरामी जीवनको अन्त गर्नै पर्छ । मेरो प्यारो काजी ... मेरो मृत्युपछाडि पनि म सदैव तिम्रै साथ रहने छु... “तिमी कति सुत्छौ ? म मरेपछि जति सुत्न मन लाग्छ सुत । जे गर्न मन लाग्छ गर ।” म भावावेशमा बगेर भन्छु । मैले भन्न हुने हो वा होइन मलाई थाहा हुँदैन । तर म भन्छु ।
उनी धेरै पढ्न लेख्न चाहन्छन् । मलाई थाहा छ । उनले धेरै पढ्न लेख्न सकून् भनेर पनि मैले सांसारिक मोह त्याग्नै पर्छ । उनले लेख्न सके भने मेरो भौतिक शरीर यो धरतीमा नरहे पनि उनको लेखनीमा म हुने छु । तसर्थ पनि म यो भौतिक शरीर मर्न डराउँदिनँ । उनको सुख र लेखनीको बाटो खुल्ला गर्नका लागि यो शरीर छिटोभन्दा छिटो उत्सर्ग गर्नु मेरो उनी प्रतिको अमर मायाप्रेम हो । हामी नरहे पनि उनको लेखनीमा हाम्रो अमर मायाप्रेम बाँचिरहने छ ! म चित्त बुझाउछु । मन दृढ पार्छु ।
*** *** ***
तिमी साथ हुँदा मसित सबथोक थियो
तिमी नहुँदा सबथोक सम्झना छ भएको
सम्झना अमूल्य सर्वपुँजी विदिर्ण मनको
यही पुँजी खेलो गर्दै मरिमरि छु बाँचिरहेको
भेट त अब कहिल्यै हुँदैन हुन्न थाहा छ तापनि
तुल्बुलिन्छ मन कतै कहीँ हुन्छौ छौ कि भनि
कहीँ कतै नभए नि छौ हुन्छौ मायालु मुटुभरि
छाइरहेकै हुन्छौ नौरङ्गी मस्तिष्कमा सप्तरङ्गीसरि !
स्वच्छ शान्त सुन्दर तर दुर्गम गाउँमा जन्मिएको केटो म । शारीरिक कारणले म लाहुरे भर्ति लाग्न सक्ने थिइनँ भन्ने सानैमा ज्ञात भएको थियो । पढाइले मात्र मलाई साथ दिन्छ भन्ने अनुभूतिले म एकोहोरिएर पढाइमा निर्लिप्त भएको थिएँ । बि.ए. पास नगरुन्जेल विवाह र प्रेमबारे सोच्ने छुइनँ भन्ने सोचअनुसार मैले पढाई नसकुन्जेल केटीहरूप्रति ध्यान दिइनँ ।
म एक्लो छोरो परिवारका सबैले पुल्पुलाएर नै हुर्काएका थिए । पारीवारिक असीम मायाप्रेममा डुबेको मैले केटाकेटी बिच हुने प्रेम अनुभव गरेको थिइनँ एउटा केटालाई केटीले गर्ने प्रेम वा केटाले केटीलाई गर्ने मायाप्रेम ।
तिनीसँगको विवाहपछि मात्रै मलाई महिला पुरुषको प्रेम माया मोह घनिष्ट सम्बन्धको अनुभूति भएको थियो । यस्तो अटुट अनुभूति भावानात्मक संवेगको गहिरो मिठासमा म चुर्लुम्मै डुबेको थिएँछु । त्यो मिठासयुक्त प्रेम सागरको शीतलताले जीवनको महासमरमा म योद्धा भई हर समस्याहरूसँग निर्भयतासाथ तिनको साथ पाएर लडिरहेको थिएछु ।
मायाप्रेमको संवेग विवाहपछि थपिदै जान्छ । छोराहरू जन्मिए, हुर्किे बढे । बुहारीहरू भित्रिए, नातिनातिनीहरू जन्मिए । पारिवारीक संसारमा समय व्यतित भएको थाहै भएन । ४१ वर्ष बितेछन् तिनीसँग मेरो सहयात्रा !
जब तिनी थिइन्, तिनी भए मलाई अरु कोही र केही चाहिदैनथ्यो । तिनको साथ पाएर म जीवनसँग पूर्ण सन्तुष्ट थिएँ । तृृप्त थिएँ ।
म तिनीसँग बाँच्न यति अभ्यस्त भइसकेको छु कि तिनका लागि म जे पनि गर्न तयार छु । घडेरी बेचेर उपचार गराइरहेको छु । तिनी बाँिच्छन् भने म आफ्नो मृगौला दिन तयार थिएँ । तर मृगौला प्रत्यारोपण मुटु रोगका कारण नहुने भयो । सँगसँगै बस्दाबस्दै रोगले च्यापेर तिनी सिकिस्त हुँदै गइन् । जब तिनले “म अब बाँच्दिनँ ।” भन्दै रोइन् । म रुन चाहेर पनि रुन सकिनँ । तिनको अगाडि रोएर मृत्यु झेल्न सक्ने तिनको शक्ति कमजोर बनाउन चाहन्न थिएँ । तसर्थ म रोइनँ । त्यतिबेला नरोएकैले जीवनभरि तिनलाई सम्झदै रोइरहेको छु ।
तिनले लुकेर कति धेरै चकलेट खाएछिन् भन्ने मलाई तिनको सामान लिन जाँदा पो झोलाभरि चकलेटको खोलै खोल देख्दा थाहा भयो । किन यति धेरै चकलेट खाई ? म तिनले शान्ति धैर्यसित मृत्युवरण गर्न सक्ने विराङ्गना भएको देख्न चाहन्थे । अन्तिम डायलाइसिस गरेर आएपछि तिनले “एउटा मात्र चकलेट खान्छु ” भनेर चकलेट मागिन् । एउटा मात्र भने पछि मैले चकलेट दिएँ । त्यो खाइन् र अति प्रसन्न भएर मलाई हेरिन् । “एनेमा लगाई दिनुहोस्” भनेपछि एनेमा दिएर म टोइलेटको सामान लिन गएँ । फर्केर आउँदा तिनी महायात्रामा गईसकेकी थिइन् । मेरो उज्यालो संसार भत्कि डुबिसकेको थियो । तिनको जीवन त्यति नै थियो । मैले तिनको अन्तिम क्षणसम्म साथ दिएँ, सक्ने सबै गरेँ तर...
मेरो प्राणेश्वरी तिनी मेरो हर स्वास प्रस्वास रोम रोम ढुकढुकी, जीवनको हर क्षण पल प्रसङ्गमा व्यप्त घुलमिल भएकी थिई । मलाई पूर्णता दिने तिनी अकस्मात मेरो जीवनबाट हराउँदा मेरो सबथोक रित्तिएझैँ भएको छु । सबथोक समाप्त भएझैँ लाग्छ । म अपाङ्ग अधुरो निरीह एक्लो विकल...
अब के गर्न सकिन्छ र ? माया तिनको वशमा थियो दिएर गइन्, आयु तिनको वशमा थिएन छोडेर गइन् .. गइन् सदाका लागि !
धरान
नागरिक (अनलाइन पत्रिका) २८असार २०७७, आइतबार
धन्यवाद ज्ञापन
नौरङ्गी जीवनमा मलाई साथ दिनुहुने असंख्य साथीभाई, परिवार, नातागोता, इष्टमित्र सबैप्रति नतमस्तक छु । साथै सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । फुली कथा केही साथीभाइहरूको साथ सहयोगले प्रकाशन हुन सम्भव भएको छ । प्रकाशक राम श्रेष्ठ र पाँचपोखरी प्रकाशन गृहप्रति पुस्तक प्रकाशन गरेर पाठक समक्ष पू¥याउनु भएकोमा आभार व्यक्त गर्दछु । अमूल्य शुभकामना मन्तव्य लेखिदिनु भएकोमा प्राज्ञ दिदी माया ठकुरी र बहिनी रीता ताम्राकारलाई हार्दिक धन्यवाद दिन्छु । साथै अमूल्य सुझावका लागि मधुकर सुवेदी ज्युलाई धन्यवाद छ । फुली कथा लेखन पनि विवीमाया राईबाट प्रेरणा र प्रोत्साहन नपाएको भए पूरा लेख्न सक्ने थिइनँ । लेख्तालेख्तै मन भक्कानिएर आएपछि लेख्न छाड्थे । उहाँको प्रेरणाले कथा पूरा लेख्न सकेँ । वास्तवमा यो कथा उहाँको देन हो र उहाँप्रति हार्दिक आभार प्रकट गर्छु । जय जीवन ! जय साहित्य !
कथाकार सरण राई र पत्नी लक्ष्मी राई २०३४ सालमा
सरण राईको परिचय
नाम ः सरण राई
पुरा नाम ः सरण कुमार राई बान्तावा रूपाबुङ, (सामेत–छाङछावा), सेवा निवृत सह प्राध्यापक (त्रि. वि.) एवं साहित्यकार
जन्म स्थान ः छिनामखु, भोजपुर, (हाल–टेम्केमैयु गाउँपालिका)
जन्म मिती ः २००४ चैत २४, सोमबार (इश्वी सन १९४८अप्रिल ५) तिथी ११
शिक्षा ः एम.ए. (अर्थशास्र)
ठेगाना ः १९÷१३९, धनकुटेरोड, धरान, प्रदेश नं. १, नेपाल
पत्नी ः स्व.लक्ष्मी राई चामलिङ हमराछा, जन्म–२०१० असार २९, आइतबार ( इश्वी सन १९५३ जुलाई १२) तिथी १, जन्मस्थान– खार्ताम्छा, दिक्तेल, विवाह–२०३४ फागुण २२, स्वार्गरोहण– २०७५ मङ्सिर २५, मङ्गलबार, (सुमेरु अस्पताल, धापाखेल,ललितपुर) सामेत–सिवीली, पितामाता–स्व.कटकबहादुर राई र स्व. रानीमाया राई बाजे– स्व.गजुरमान राई भाईबुहारी– स्व.लोकराज राई र सप्तलछी राई, मुलुकराज राई र कुमारी राई, कमलराज राई र सञ्जिता राई बहिनी–दुर्गा राई
माता पिता ः शिवमाया राई बान्तावा रुछेनबुङ र स्व.मछिन्द्रबहादुर राई
बाजे बोजु ः स्व. ह.कुलमर्दन राई र स्व.कृष्णकुमारी राई
परिवार ः
छोरा बुहारी– शैलेश राई र अन्जना राई चामलिङ मुल्याछा, सायन राई र कौशीला राई गुरुङ, सृजनसरण राई
नातिनातिनी– सामना राई, साञ्जिना राई, सच्चेन्द्र राई, शुभेन्द्र राई, सेलिन राई
बहिनी ज्वाई– शुदेशा राई बोहोरा र देबेन्द्र बोहोरा, बिजयालक्ष्मी राई गुरुङ र शिवकुमार गुरुङ,
भान्जाभान्जी, भान्जाबुहारी र भान्जीज्वाई– अनु बोहोरा डि.सी. र बीरेन्द्र डि.सी, इन्दिरा बोहोरा, डा.दिवशराज बोहोरा र अस्मिता बोहोरा, अमृत गुरुङ र सम्झना राई गुरुङ, सुबिधा गुरुङ.
नोकरीः
(१)प्रधानाध्यापक–त्रिभुवन धर्मोदय नि.मा.विद्यालय, छिनामखु, भोजपुर(२०२६)
(२) प्रधानाध्यापक–अरनिको नि.मा.विद्यालय, राजघाट, मोरङ(२०२७)
(३)अनुसन्धान सहायक–आर्थिक विकास तथा प्रशासन केन्द्र, कीर्तिपुर (२०३०–२०३१)
(४)सह प्रध्यापक– त्रिभुवन विश्वविद्यालय (२०३१–२०६४)
राजनैतिक संलग्नताः
(१) केन्द्रीय सदस्य–अ.ने.रा.स्व.वि.यु.(२०२६–२०२८)
(२) सभापति– नेपाल प्राध्यापक संघ, महेन्द्र वहुमुखी क्याम्पस एकाइ समिति, धरान (२०४२–२०४३)
(३) केन्द्रीय सदस्य– नेपाल प्राध्यापक संघ, (२०४४–२०४५)
(४) जिल्ला समिति सदस्य–ने.क.पा.(माक्र्सवादी) सुनसरी जिल्ला समिति (२०४७)
(५) राष्ट्रिय पार्षद– ने.क.पा.(माले) (२०५६–२०५९)
(६) सचिव– ने.क.पा.(माले) जिल्ला समिति (२०५८)
(७) सदस्य– ने.क.पा.(एमाले) जिल्ला समिति (२०५९–२०६२)
(८) सदस्य– ने.क.पा.(एमाले) अञ्चल सल्लाकार समिति, कोशी(२०६३–२०६९)
(९) केन्द्रीय सल्लाहकार समिति, सदस्य– संघिय समाजवादी फोरम (२०७०– २०७५ )
(१०) हाल– अवकाशप्राप्त स्वतन्त्र जीवन (२०७६देखि )
सामाजिक संघ सस्थामा संलग्नताः
(१)सचिव– प्रगतिशील लेखक संघ सुनसरी जिल्ला समिति, (२०२४–२०२६)
(२)सदस्य–नेपाल चेस्ट क्लिनिक (२०३४)
(३)अध्यक्ष– जनहित युवा वमात (२०३७–२०३९)
(४)सचिव– नेपाल जनजाति उत्थान मञ्च (२०४६–२०४८)
(५ अध्यक्ष – नेपाल जनजाति उत्थान मञ्च (२०४८–२०६०)
(६) केन्द्रीय सदस्य– किरात राई यायोक्खा (२०४९–२०५२)
(७) केन्द्रीय सदस्य–नेपाल आदिवासी जनजाति महासंघ (२०५०–२०५२)
(८)उपाध्यक्ष–सुनसरी जिल्ला समिति, नेपाल बुद्धिजिवी परिषद (२०५४–२०५४)
(९)सदस्य– साहित्य अनुसन्धान परिषल–नेपाल (२०५८– हालसम्म)
(१०)सदस्य–छनोट समिति, बि.पी.स्वास्थ विज्ञान प्रतिस्ठान (२०६१–२०६३)
(११) केन्द्रीय उपाध्यक्ष–नेपाल लोकतान्त्रिक किरात राई संघ (२०६४–२०६६)
(१२) अध्यक्ष –कञ्चनजङ्घा इन्स्टीच्युट अफ हेल्थ साइन्सेज (२०६५–२०६९)
(१३) अध्यक्ष –बिहानी प्रकाशन सहकारी संस्था लि.(२०६४–२०६९)
(१४) केन्द्रयि अध्यक्ष– किरात बान्तावा (राई) भाषा तथा संस्कृति उत्थान प्रतिस्ठान ( किरात राई बान्तावा खिम)(२०६९–२०७४)
प्रकाशित पुस्तकहरू –
१. केही कथा केही कविता (सहलेखनं)२०३९
२.साथी (निबन्ध सङ्ग्रह)२०६४
३.मानव संसार (उपन्यास) २०६५
४. अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह ) २०६६, (साझा प्रकाशनबाट प्रकाशित)
५. ओइलिने फूल (कविता सङ्ग्रह ) २०७०
६.उडान युवा मनको (इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास– इन्टरनेटमा नै एक लाखभन्दा बढि मानिसहरूले हेरिसकेको )
जततउस्ररकबचबल(चबष्।दयिनकउयत।अयmर
७.अन्तिम आयाम (कथा सङ्ग्रह), २०७४, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
८. नौरङ्गी (लघुकथा सङ्ग्रह) २०७५, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
९. फुली (कथा सङ्ग्रह), २०७७, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)(हातमा)
पुरस्कारः—
१.राष्ट्रिय शिक्षा पुरस्कार (२०४७)
२. त्रि.वि. दिर्घ सेवा पदक (२०५८)
३. भानु रचना पुरस्कार—२०७१ (भानु वर्ष ५१, अङ्क १७८ मा प्रकाशित कथा ‘आमाको मन’ का लागि)
सम्मान अभिनन्दन
१ं नेपाल प्राध्यापक संघ, महेन्द्र ब। क्याम्पस एकाइ समिति, धरान (२०६३ं)
२. त्रि.वि. प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस, एकाइ समिति, धरान (२०६४)
३.कवि बिमल गुरुङ स्मृति पुस्तकालय (२०६६)
४. नेपाल बुद्धिजीवी परिषद, सुनसरी (२०६६)
५.नेपाल प्रगतिशील प्राध्यापक संघ, पूर्वाञ्चल (२०६६)
६.सुनसरी साहित्य परिषद (२०६७)
७. लक्ष्मी वाचनालय, धरान (२०६८)
८.जनसाहित्यिक मञ्च, नेपाल (२०६८)
९.किरात राई पत्रकार संघ, सुनसरी जिल्ला समिति (२०६८)
१०.प्रबोध, मासिक पत्रिका (२०६८)
११.प्रगतिशील लेखक संघ नेपाल, सुनसरी शाखा (२०६९)
१२.पीण्डेश्वर बिद्यापीठ, धरान (२०६९)
१३. श्यामराज दुब्देङहाङ्ग राई स्मृति प्रतिष्ठान, किरात व्याक्तित्व सम्मान (२०६९)
१४. समिट उच्च मा. वि., धरान (२०७०)
१५.धरान साहित्य महोत्सव समारोह समिति ( २०७१)
१६. कवि शिरोमणि साहित्य–साधना समाज, धरान (२०७१)
मोबाइल–ं९७७ ९८४२०५५२६२








Comments
Post a Comment